: सन्धिखर्क नगरपालिकाले सार्वजनिकस्थल तथा खोला किनारमा जथाभाबी फोहोर फाल्ने कार्य नियन्त्रण गर्न कडा कदम अघि बढाएको छ।
नगरपालिकाले सूचना जारी गर्दै सडक, खेलमैदान, सार्वजनिकस्थल तथा विशेषगरी खोला र खोला किनारमा अनधिकृत रूपमा फोहोर फाल्ने, थुपार्ने तथा विसर्जन गर्ने कार्य बढ्दै गएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले एक सार्वजनिक सूचना जारी गर्दै फोहोरमैला व्यवस्थापन ऐन, २०६८ तथा नगरपालिकाको आर्थिक ऐनको अनुसूची–१७ अनुसार जथाभावी फोहोर फाल्नेलाई कडा जरिवाना गरिने स्पष्ट पारेको छ।
जारी सूचना अनुसार तोकिएको स्थान बाहेक अन्यत्र, विशेषगरी खोला, खोला किनार, सडक वा सार्वजनिकस्थलमा फोहोर निष्कासन गरेमा पहिलो पटक पाँच हजार रुपैयाँसम्म जरिवाना गरिनेछ।
दोस्रो पटक यस्तो कार्य दोहोरिएमा पाँच हजारदेखि दश हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ। तेस्रो वा सोभन्दा बढी पटक फोहोर फालेको पाइएमा प्रत्येक पटक थप १५ हजार रुपैयाँका दरले जरिवाना गरिने व्यवस्था गरिएको छ।