: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः आक्रमण गर्ने निर्णय गर्न आफू केवल एक घण्टा मात्र टाढा रहेको बताएका दिनसँगै सुरु भएको एक हप्तामा उनले दीर्घकालीन युद्धविरामको आशा व्यक्त गर्ने र सैन्य तनाव बढाउने धम्की दिने खालका निरन्तर अस्थिर अभिव्यक्ति दिएका छन् ।
ट्रम्पका मिश्रित सन्देशहरू नयाँ कूटनीतिक प्रयाससँग पनि मेल खाएका छन् । बिहीबारसम्म इरानले वाशिङ्टनबाट आएको पछिल्लो युद्धविराम प्रस्तावको जवाफ प्राप्त भएको र त्यसको समीक्षा गरिरहेको जनाएको छ । तर ट्रम्पले दीर्घकालीन शान्ति भन्दा पनि लामो र थकाइ लाग्ने द्वन्द्वतर्फ झुकाव देखाएको संकेत पनि गरेका छन् ।
बिहीबार उनले न्यूयोर्क पोस्टमा प्रकाशित एक लेख पुनः शेयर गरेका थिए, जसका लेखक रिचर्ड गोल्डबर्ग हुन्जो- ‘फाउन्डेसन फर डिफेन्स अफ डेमोक्रेसीज’ नामक इजरायल समर्थक थिंक ट्याङ्कका वरिष्ठ सल्लाहकार हुन् र तेहरानविरुद्ध सैन्य कारबाहीको पक्षमा लामो समयदेखि उभिँदै आएका छन् ।
‘यहाँ तेहरानलाई तीन चरणमा कसरी पराजित गर्ने’ शीर्षकको उक्त लेखमा अमेरिकाले ‘नाकाबन्दी र आर्थिक युद्ध जारी राख्नुपर्ने’, ‘ऊर्जा प्रभुत्वको अमेरिकी मोडेल विश्वभर लागू गर्नुपर्ने’, र ‘होर्मुज जलडमरू पार गर्न अमेरिकी सेनालाई आदेश दिई स्वतन्त्र आवागमन सुनिश्चित गर्नुपर्ने’ सुझाव दिइएको थियो ।
यो पोस्ट त्यतिबेला आएको हो जब अमेरिकी मिडियामा ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच इरान युद्धको भविष्यबारे फोन वार्तामा असहमति भएको रिपोर्ट व्यापक रूपमा आएको थियो । रिपोर्ट अनुसार नेतन्याहूले अमेरिकालाई पुनः आक्रमण सुरु गर्न दबाब दिएका थिए भने ट्रम्पले सम्झौतामा पुग्ने आशामा नयाँ आक्रमण रोक्न चाहेका थिए । ट्रम्पले उक्त रिपोर्ट पुष्टि नगरे पनि बुधबार उनले नेतन्याहूबारे भने, ‘उनी धेरै असल व्यक्ति हुन्, उनले मैले जे चाहन्छु त्यही गर्नेछन् ।’
यस हप्ता ट्रम्पले के भने ?
ट्रम्प प्रशासनले इरानबारे लगातार फरक–फरक र कहिलेकाहीँ विरोधाभासी सन्देश दिँदै आएको छ, युद्ध सुरु हुनु अघिदेखि नै । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले आक्रमण सुरु गरेका थिए, जुन बेला इरानको आणविक कार्यक्रमबारे वार्ता चलिरहेको थियो । अप्रिल ८ मा सुरु भएको हालको युद्धविराम ट्रम्पले कठोर धम्की दिएपछि सम्भव भएको थियो । उनले सम्झौता नभए ‘पूरै सभ्यता नष्ट हुन सक्छ’ भनेका थिए ।
‘यदि तपाईं तेहरानमा हुनुहुन्छ भने, तपाईंलाई राष्ट्रपति साँच्चै सम्झौता चाहन्छन् कि युद्ध, भन्ने कुरा स्पष्ट हुँदैन’, जर्ज वाशिङ्टन विश्वविद्यालयका मध्यपूर्व राजनीति सहायक प्राध्यापक सिना अजोडीले बताएका छन् । उनका अनुसार ट्रम्पको बारम्बार बदलिने धारणा र सार्वजनिक धम्कीका कारण इरानलाई वास्तविक वार्ता गर्न कठिन भइरहेको छ । यस हप्ता पनि स्थिति अनिश्चित रह्यो ।
आइतबार ट्रम्पले ‘समय घडी चलिरहेको छ’ भन्दै इरानलाई चेतावनी दिएका थिए । सोमबार भने कतार, साउदी अरेबिया र यूएईको अनुरोधपछि आक्रमण ‘अस्थायी रूपमा रोकिएको’ बताएका थिए । सोही दिन इरानको तस्निम समाचार एजेन्सीले इरानले १४ बुँदे संशोधित शान्ति योजना पेश गरेको रिपोर्ट गरेको थियो ।
मंगलबार ट्रम्पले आफू ‘एक घण्टा मात्र टाढा आक्रमण गर्ने निर्णयबाट’ पछि हटेको तर वार्ताका लागि केही दिन समय दिने बताएका थिए । बुधबार उनले फेरि भने, ‘हामी अन्तिम चरणमा छौं... या त सम्झौता हुन्छ, या हामी केही कडा कदम चाल्छौं ।’
रणनीतिक दुविधा ?
ट्रम्प समर्थकहरूले उनको अनिश्चित नीति ‘म्याड म्यान’ विदेश नीति शैलीको रूपमा व्याख्या गरे पनि आलोचकहरूका अनुसार यो उनको रणनीतिक द्विविधा हो । हालको अवस्था कायम राख्दा वा नयाँ आक्रमण गर्दा अमेरिकी अर्थतन्त्रमा असर पर्न सक्छ र ट्रम्पको समर्थन घट्न सक्छ ।