: एसियन गेम्स छनोटको तयारीको लागि मलेसियासँग खेलेको दोस्रो तयारी खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८२ रन बनाएको थियो ।
८३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १६ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक ३९ रन बनाइन्। उनले ३७ बलमा ३ चौका प्रहार गरिन् । सोनी पाख्रिनले १२ रन बनाउँदा कविता कुँवर १९ रनमा अविजित रहिन् । मलेसियाका लागि बलिङतर्फ नुर दानिया सुहादा, इल्सा फिर्दुज र एना हमिजा हसिमले १–१ विकेट लिए ।
त्यसअघि, ब्याटिङ गरेको मलेसियाको लागि ओपनर ब्याटर एना हमिजा हसिमले सर्वाधिक १७ रन बनाइन् । उनले ३० बलमा १ चौका प्रहार गरिन् । धनुश्री मुहुनानले १५, नुर एरिन्ना नात्स्याले १३ रन बनाइन् । नेपालका लागि कविता कुँवर, रिया शर्मा र रुबिना क्षेत्रीले २–२ विकेट लिए । पुजा महतो र सीता राना मगरले १–१ विकेट लिए । नेपालले मलेसियासँगको पहिलो खेलमा २ विकेटको जित दर्ता गरेको थियो ।