। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गर्ने वडा सभापतिहरूको जिम्मेवारी खोस्न सुरू गरेको छ । विशेष महाधिवेशनमा सहभागी नभएको समूहमा रहेका वडा सभापतिहरूले अद्यावधिकको काम नगरेपछि पार्टीले जिम्मेवारी खोस्न सुरू गरेको हो ।
देशव्यापी ‘जरा अभियान’ चलाइरहेको कांग्रेसले अहिलेसम्म झण्डै ५० जना वडा सभापतिहरूलाई अद्यावधिकको जिम्मेवारीबाट हटाएको छ । उनीहरूको ठाउँमा कांग्रेसले वडा कार्यसमितिमै रहेको अर्को व्यक्तिलाई अद्यावधिकको जिम्मेवारी दिएको छ ।
सभापति गगन थापाले सदस्यता अद्यावधिकको काम नगर्ने झण्डै ५० जना वडा सभापतिको ठाउँमा नयाँ व्यक्तिलाई जिम्मेवारी दिएको बताएका छन् ।
‘मैले हिजोमात्रै निर्णय गरेर आइसकेँ । उपसभापतिलाई पनि भर्खर जानकारी गराउँदै छु,’ थापाले शुक्रबार सुनसरीको लौकहीमा शुक्रबार आयोजित ‘प्रदेश तथा स्थानीय तह स्तरीय भेला’मा भने, ‘हिजो मैले करिब ५० जना वडा सभापतिको ठाउँमा नयाँ साथीलाई क्रियाशीलसम्बन्धी काम गर्न जिम्मेवारी दिएको छु ।’
उनले अद्यावधिकको काम नगर्ने वडा सभापतिको ठाउँमा अर्को व्यक्तिलाई जिम्मेवारी दिए पनि उनीहरूको पद भने यथावत रहेको बताए ।
‘वडा सभापतिहरू वडा सभापति नै हुनुहुन्छ, उहाँको पद–सद केही गर्ने होइन म । गर्नु पनि हुँदैन,’ सभापति थापाले भने, ‘तर, क्रियाशील अद्यावधिकको जिम्मा मैले अर्को साथीलाई दिइसकेँ ।’
सदस्यता अद्यावधिकको काम नगर्ने वडा सभापतिको ठाउँमा अर्को व्यक्तिलाई जिम्ेमवारी दिने आधिकार आफूलाई पार्टीको विधानले दिएको सभापति थापाको भनाइ थियो ।
‘मलाई क्षमा गर्नुहोला, अरू सबै कुरा मान्छु मैले । तर, पार्टीको एकटा कुरा मान्नुपर्छ हेर्नुस् । पार्टीले निर्णय गरेको छ,’ उनले भने, ‘म गर्दिनँ, म जिम्मेवारीमा छु भन्नु हुन्छ भने, विधानले मलाई दिएको अधिकार छ– म नयाँ साथीलाई जिम्मेवारी दिन्छु ।’
सभापति थापाले सदस्यता नवीकरणलाई अद्यावधिक भनेर गलत गरिएको स्वीकार समेत गरे । ‘यसलाई अद्यावधिक भन्ने कुरा बेकार भनिएछ कि भन्ने लागेको छ अहिले,’ उनले भने ।
२२ वैशाखमा डा. शेखर कोइरालासँगको भेटमा पनि यसबारे कुरा भएको उनले भेलामा सुनाए । ‘मैले अस्ति शेखर (कोइराला) दाइसँग भनेँ– दाइ शब्दको चयन गलत भयो,’ उनले सुनाए, ‘त्यसलाई अद्यावधिक नभनेर त्यही नवीकरण नै गर्नुपर्छ भनिदिनुपर्ने रहेछ ।’
पार्टीले सदस्यता अद्यावधिक नभनेर नवीकरण गर्दा आवश्यक तथ्याङ्क अनिवार्य बुझाउनु पर्ने निर्णय गर्नुपर्ने उनको भनाइ थियो ।
‘नवीकरणको धारणा निलम्बन गर्दिनँ तर, नवीकरण गर्दा यो–यो तथ्याङ्क अनिवार्य बुझाउनु पर्छ भनिदिनुपर्ने रहेछ,’ सभापति थापाले भने, ‘बढी जान्ने भएर अद्यावधिक भनियो । अनि कहाँबाट ल्याएछ केटाहरूले भनेर रोक्न लाग्नुभएको छ ।’
सभापति थापाले १५ औं महाधिवेशनका लागि कांग्रेसका नेता–कार्यकर्ता सबैले सदस्यता अद्यावधिक गर्नुपर्ने जिकिर गरे । ०८२ सालमा गरिएको नवीकरण १५ औं महाधिवेशनका लागि मान्य नहुने उनको भनाइ थियो ।
‘अद्यावधिक गर्दिनँ भन्नुभएको छ, ल एकछिनलाई मानौं । नवीकरण गर्नुपर्दैन ? १५ औं महाधिवेशनका लागि गरिसकेको छ, त्यसकारण गर्दिनँ भनेर छोडिदिनुभएको छ नेताहरूले,’ थापाले भने, ‘१५ औं महाधिवेशनका लागि ०८२ सालमा नवीकरण गरेर हुन्छ ? प्रत्येक वर्ष गर्नुपर्छ ।’