: मोरङमा सुनजस्तो देखिने पहेँलो धातुको टिल (बिस्कुट) देखाएर सर्वसाधारण वृद्धवृद्धालाई निशाना बनाउँदै ठगी तथा लुटपाट गर्ने गिरोह फेरि सक्रिय भएको खुलेको छ।
विशेषगरी वृद्धवृद्धा र सोझा नागरिकलाई लक्षित गर्दै सार्वजनिक सवारीसाधन, बजार क्षेत्र तथा भिडभाड हुने स्थानमा सक्रिय रहेको गिरोहका एक जना पुरानै अभियुक्त पुनः पक्राउ परेका छन्। प्रहरीले झापाको कनकाई नगरपालिका-९ घैलाडुब्बाका ६१ वर्षीय धकलबहादुर थिङलाई पक्राउ गरेको हो। उनीसहित दुई जनाले मोरङको बेलबारीमा एक वृद्धा महिलालाई सुनजस्तो देखिने पहेँलो धातुको टिल देखाएर प्रलोभनमा पार्दै सुनको सिक्री लुटेर लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार घटना गत वैशाख २ गते दिउँसो भएको थियो। बेलबारी नगरपालिका-१ की ७८ वर्षीया सावित्रादेवी घिमिरे पथरीशनिश्चरेस्थित छोरीको घरबाट सार्वजनिक बस चढेर आफ्नो घर फर्किंदै थिइन्। पथरीशनिश्चरेबाट बस चढेकी उनी बेलबारी बजारस्थित नयाँ मालपोत कार्यालयनजिक ओर्लिएकी थिइन्।
बसबाट ओर्लिनेबित्तिकै दुई अपरिचित पुरुष उनीनजिक पुगेका थिए। उनीहरूले ‘सुन पसल कहाँ छ?’ भन्दै कुरा सुरु गरेका थिए। प्रहरीका अनुसार सुन पसल सोध्ने बहानामा ती व्यक्तिहरूले वृद्ध महिलालाई राजमार्गबाट दक्षिणतर्फको एकान्त स्थानमा लगेका थिए। एसपी कटवालका अनुसार त्यसपछि उनीहरूले ‘यूकेबाट ल्याएको सुन’ भन्दै सुनजस्तै देखिने पहेँलो धातुको टिल देखाएर वृद्धालाई प्रलोभनमा पार्न थाले। उनीहरूले आफूसँग रहेको धातु मूल्यवान सुन भएको भन्दै विश्वास दिलाउन खोजेका थिए। त्यसक्रममा वृद्धाले लगाएको १ तोला ६ आनाको सुनको सिक्री उनीहरूले मागे।
वृद्धाले सिक्री दिन नमानेपछि उनीहरूले डरत्रास देखाउँदै जबरजस्ती सिक्री लुटेर फरार भएको प्रहरीले जनाएको छ। लुटपाटपछि उनीहरू आफूसँग रहेको सुनजस्तो देखिने पहेँलो धातुको टिल वृद्धाको हातमा थमाएर भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनापछि इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको थियो। प्रहरीले घटनास्थल आसपासका सीसीटीभी फुटेज अध्ययन गर्नुका साथै शंकास्पद व्यक्तिको हुलिया विभिन्न प्रहरी इकाइमा पठाएर खोजी तीव्र बनाएको थियो।
अनुसन्धानकै क्रममा घटनामा संलग्नमध्ये एक जना धकलबहादुर थिङ रहेको खुलेपछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ तथा इलाका प्रहरी कार्यालय अनारमनी झापाको समन्वयमा जेठ ६ गते उनलाई झापास्थित उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउका क्रममा थिङको साथबाट सुनको सिक्री, नगद रकम र मोबाइल बरामद गरिएको छ। उनलाई बेलबारी ल्याएर पीडित वृद्धाबाट सनाखतसमेत गराइएको प्रहरीले जनाएको छ।
प्रारम्भिक बयानका क्रममा थिङले यसअघि पनि वृद्धा महिलाहरूलाई नक्कली सुन देखाएर ललाईफकाई गरगहना खोस्ने घटनामा संलग्न रहेको स्वीकार गरेको प्रहरीले बताएको छ। उनीविरुद्ध चोरी मुद्दा चलाउन अदालतबाट म्याद थप गरी अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको छ। घटनामा संलग्न अर्का व्यक्तिको पहिचान भइसकेको र उनको खोजी कार्य जारी रहेको जानकारी एसपी कटवालले दिए।
प्रहरीका अनुसार यसअघि पनि बेलबारीमा यस्तै शैलीको अर्को ठगी घटना भएको थियो। २०८२ चैत ९ गते बेलबारी-१ मा दुई अपरिचित व्यक्तिले बेलबारी-४ की ६२ वर्षीया धनीमाया तामाङलाई सुनजस्तो पहेँलो धातुको टिल देखाएर ठगी गरेका थिए। तामाङले कानमा लगाएको एक तोलाका दुईवटा बेरुवा रिङ लिएर उनीहरू फरार भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट त्यो घटनामा पनि थिङसहितका व्यक्ति संलग्न रहेको खुलेको छ।
प्रहरी अनुसन्धानबाट थिङ पूर्वी नेपालका विभिन्न जिल्लामा सक्रिय संगठित ठगी गिरोहसँग आबद्ध रहेको तथ्यसमेत खुलेको छ। प्रहरीका अनुसार उनी लामो समयदेखि मोरङ, झापा, सुनसरीलगायत जिल्लामा हटिया, अस्पताल, मेला, पर्व तथा भिडभाड हुने स्थानमा पुग्ने, सार्वजनिक सवारीसाधन चढ्ने तथा विशेषगरी वृद्धवृद्धा र सोझा सर्वसाधारणलाई नक्कली सुन देखाएर ठगी गर्ने काममा संलग्न रहँदै आएका छन्।
यसअघि २०८१ मंसिर दोस्रो साता पनि मोरङ प्रहरीले थिङसहित ६ जनाको समूहलाई यस्तै प्रकृतिको ठगी घटनामा पक्राउ गरेको थियो । त्यसबेला पक्राउ परेकामध्ये दुई जना भारतीय नागरिकसमेत रहेका थिए। प्रहरीका अनुसार कारबाहीपछि छुटेका थिङ पुनः उही प्रकृतिको आपराधिक गतिविधिमा संलग्न भएको पाइएको हो।
त्यतिबेला प्रहरीले सुनजस्तो देखिने पहेँलो धातुबाट बनाइएका तिलहरी, हार, मंगलसूत्र, टिल, चन्द्रमा, सिक्री, औंठी, झुम्का, लकेट, रिङ, ब्रासलेट तथा कालोपोतेलगायतका सामग्री बरामद गरेको थियो। प्रहरीले उक्त गिरोहले सार्वजनिक सवारीसाधन, बजार क्षेत्र तथा एक्लै हिँडिरहेका वृद्ध व्यक्तिलाई मुख्य लक्ष्य बनाएर योजनाबद्ध रूपमा ठगी एवं लुटपाट गर्ने गरेको जनाएको छ।
एसपी कटवालले सुनजस्तो देखिने पहेँलो धातुको टिल देखाएर सर्वसाधारणलाई ठगी तथा लुटपाट गर्ने गिरोह फेरि सक्रिय भएको भन्दै गिरोहको सञ्जाल भत्काउन प्रहरी सक्रिय रहेको बताए। पहिचान भइसकेका व्यक्तिलाई नियन्त्रणमा लिएर कानुनी कारबाहीको दायरामा ल्याइएको जानकारी उनले दिए। कटवालले अपरिचित व्यक्तिले देखाउने प्रलोभनमा नपर्न, सुन वा बहुमूल्य वस्तु झुक्याउने प्रस्तावबाट सावधान रहन तथा कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।