: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा पार्टीमा देखिएको समस्या समाधान हुनुपर्ने माग उठेको छ। भक्तपुरको गुण्डुमा बसेको एमालेको सचिवालय बैठकमा बोल्ने वक्ताहरूले अध्यक्षकै नेतृत्वमा अहिले देखिएको समस्या समाधान हुनुपर्ने सुझाव आएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
उनका अनुसार मिडियामा आएजस्तो नेतृत्व परिवर्तनको सवालमा छलफल केन्द्रित नभएको बताए। 'नेतृत्व फेर्ने कुरा कसैले गरेको छ जस्तो लाग्दैन। नेतृत्वले राजीनामा दिनुपर्छ भन्ने कुरा पनि आएको छैन। पार्टीभित्र देखिएको समस्या अध्यक्षकै नेतृत्वमा समाधान हुनुपर्छ भन्ने भाव बैठकमा देखिएको छ,' उपमहासचिव भट्टले भने।
उनका अनुसार अध्यक्ष ओलीले पार्टीलाई व्यवस्थित रूपमा अगाडि बढाउनुपर्ने भएकाले खुलेर आफ्नो धारणा राख्न आग्रह गरेका थिए। 'पार्टीमा देखिएको कमीकमजोरी हटाएर एकताबद्ध भएर जानुपर्छ। अहिले नेपालको जुन परिस्थिति छ, जुन संकट आएको छ, त्यसविरुद्ध जानुपर्छ भन्ने उहाँ (अध्यक्ष ओली)को सुझाव छ। देशभरि कार्यकर्तामा देखिएको समस्या पनि समाधान गर्नुपर्छ भन्ने छ,' ओलीको भनाइ उद्धृत गर्दै भट्टले भने।
बैठकमा शनिबार महासचिव, उपमहासचिव र सचिवहरूले धारणा राखेका थिए। बाँकी ५ जनाले भोलि आइतबार बोलेपछि बैठकको निर्णय आउने उनको भनाइ छ।