— वर्षा र बाढीका कारण ताप्लेजुङ र पाँचथरको सीमाना भएर वहने खोलाबाट उत्पादन हुने ५५ मेगावाट विद्युत् उत्पादन ठप्प भएको छ । काबेली र इन्द्रावतीखोलामा शुक्रबार राति आएको बाढीका कारण २५ मेगावाटको काबेली ‘बी–१’ सहित चार वटा आयोजनाको उत्पादन ठप्प भएको हो । यहाँ उत्पादित विद्युत् पाँचथरको अमरपुर सव स्टेशनमा जडान गरिएको छ ।
काबेली र इन्द्रावतीखोलामा आएको बाढीले आयोजनाको संरचनामा क्षति पुर्याएको जनाइएको छ । काबेली खोलाबाट उत्पादन गरिएका दुई र इन्द्रावतीखोलाबाट उत्पादित दुई आयोजनाको विद्युत् ठप्प रहेको अमरपुर सव स्टेशनले जनाएको छ ।
अरुण काबेली पावर लिमिटेडको काबेलीखोलाबाट उत्पादित २५ मेगावाट, १० मेगावाट क्षमताको काबेली ‘बी–१’ कै क्यासकेट जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् ठप्प छ । अरुण काबेली पावर लिमिटेडका कर्मचारी लेखराज न्यौपानेका अनुसार आयोजनाको इन्टेकलगायतका संरचनामा बाढीले क्षति पुर्याएको छ । काबेली बी–१ को बाँध तथा इन्टेकमा बाढीले बगाएर ल्याएको ढुङ्गामाटो, लेदो र काठ (मुढा) थुप्रिएका कारण आयोजना ठप्प भएको छ ।
रिडी हाइड्रोपावर लिमिटेडद्वारा उत्पादित ९.९ मेगावाट क्षमताको इँवाखोला र इँवा हाइड्रोपावर लिमिटेडले इन्द्रावतीखोलाबाट नै उत्पादन गरेको ९.७ मेगावाट क्षमताको उत्पादन ठप्प छ । इँवा हाइड्रोपावर लिमिटेडका कर्मचारी मौसम सेलिङका अनुसार खोलामा आएको बाढीले बाँधस्थल इन्टेक, पाइप लाइन, विद्युत्गृहलगायतका संरचनामा क्षति पुर्याएको छ ।