— यस वर्षको वसन्तकालीन सगरमाथा आरोहण सिजनमा गाइडसहित शुक्रबारसम्म ७८३ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । आरोहण गतिविधि वैशाख ३१ गतेदेखि सुरु भएको थियो । वसन्तकालीन आरोहण जेठ १५ सम्म सञ्चालन हुनेछ ।
पर्वतारोहण सञ्चालक संघका महासचिव ऋषि भण्डारीका अनुसार यस अवधिमा सबैभन्दा धेरै आरोहण बुधबार भएको थियो ।
उक्त दिन मात्रै आरोहण दलका सदस्य र तिनका गाइडसहित २ सय ७४ जनाले सफलतापूर्वक सगरमाथाको शिखर चुमेका थिए ।
त्यसपछि बिहीबार १ सय ८७ जना र शुक्रबार १ सय जनाले शिखर पुगेको संघले जनाएको छ ।
यस वर्षको आरोहण सिजनले विभिन्न नयाँ कीर्तिमानसमेत बनाएको छ । पर्यटन विभागले सगरमाथाका लागि मात्रै ४९५ जनालाई आरोहण अनुमति जारी गरेको थियो । विभागले आरोहणमा जाने आरोहण दलका सदस्यसँग जाने सहयोगी शेर्पालाई सलामी दस्तुर नलिई अनुमति जारी गर्छ । यसपटक जारी आरोहण अनुमति हालसम्मकै उच्च हो । सगरमाथामा पहिलो सफल आरोहण सन् १९५३ मा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले गरेका थिए ।
विभागले २०२६ मार्च १ देखि वसन्तकालीन आरोहण अनुमति खुला गरेको थियो । मे २१ सम्म ३० वटा हिमालका लागि कुल १ हजार १ सय ५७ जना आरोहीलाई अनुमति जारी गरिएको विभागले जनाएको छ । यसबाट सरकारले १ अर्ब २४ करोड रुपैयाँभन्दा बढी रोयल्टी राजस्व संकलन गरेको छ । जसमध्ये सगरमाथाबाट मात्रै १ अर्ब ७ करोड रुपैयाँ राजस्व प्राप्त भएको विभागको तथ्यांकमा उल्लेख छ ।
Circle The ArticalReachable logo
ads/ekantipur1440x233-2-2252026115456.jpg
यसपटक सगरमाथा आरोहणका क्रममा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । तीमध्ये ५ जनाको सगरमाथामा तथा २ जनाको मकालु हिमालमा मृत्यु भएको हो । मृत्यु हुनेमा ३ नेपाली र ४ विदेशी नागरिक रहेका छन् । विदेशीमध्ये २ भारतीय, १ चेक रिपब्लिकका नागरिक र १ अमेरिकी रहेका छन् ।
783 people including guides climbed Mount Everest by Jestha 20
११ औं पटक सगरमाथा आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान तोडेकी लाक्पा शेर्पालाई जेठ ९, २०८३ मा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिवार र साथीहरूले स्वागत गरेका छन् । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर
यसैबीच, सगरमाथामा सर्वाधिक ३२औं पटक आरोहण गरेर नयाँ कीर्तिमान बनाएका कामीरिता शेर्पा शुक्रबार काठमाडौं फर्किसकेका छन् । त्यस्तै, महिलातर्फ सर्वाधिक ११औं पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पा शनिबार काठमाडौं आइपुगेकी छन् । उनलाई नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर ग्याल्जे शेर्पासहित पदाधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
त्यसैगरी, यस वर्ष छैटौं पटक सगरमाथा आरोहण गरेकी फोटो पत्रकार तथा आरोही पूर्णिमा श्रेष्ठ पनि शनिबार काठमाडौं फर्किएकी छन् ।
उनलाई नेपाल पर्वतारोहण संघ तथा उनी आबद्ध सातोरी एड्भेन्चर्सका सञ्चालक एवं पर्वतारोहण सञ्चालक संघका महासचिव ऋषि भण्डारीले आन्तरिक विमानस्थलमा स्वागत गरेका थिए ।
यस वर्ष सगरमाथाको दक्षिणी मोहोडाबाट भएको आरोहणले नयाँ इतिहाससमेत बनाएको छ । सन् २०१९ को मे २२ मा नेपाली मोहोडाबाट २ सय २३ जनाले शिखर चुमेको पुरानो रेकर्ड यस वर्ष तोडिएको हो । त्यसबेला तिब्बती मोहोडाबाट १ सय ३१ जना आरोही शिखर पुगेका थिए ।