मुख्य समाचार
कांग्रेसको देउवा पक्षले सुदूरपश्चिममा भने आधिकारिक प्रदेश समिति सभापतिकै नेतृत्वमा भेला
कांग्रेसको देउवा पक्षले सुदूरपश्चिममा भने आधिकारिक प्रदेश समिति सभापतिकै नेतृत्वमा भेला

। संस्थापन पक्षका गतिविधिमाथि प्रश्न उठाउँदै देशव्यापी भेला गर्दै हिँडिरहेको कांग्रेसको देउवा पक्षले सुदूरपश्चिममा भने आधिकारिक प्रदेश समिति सभापतिकै नेतृत्वमा भेला गरेको छ ।

पार्टीको प्रदेश समितिले आयोजना गरेको भेलामा विशेष महाधिवेशन पक्षधर नेताहरूको उपस्थिति भने देखिएन ।

अर्थात् निवर्तमान सभापति शेरबहादुर देउवा पक्षधर नेताको उपस्थितिमा भेला भयो । भेलामा कोशीका पूर्वमुख्यमन्त्री केदार कार्की, मोहन बस्नेत लगायत बाहेक सबैजसो सुदूरपश्चिम भूगोल भएका नेताहरुको सहभागिता थियो ।

देउवा नेतृत्वको तत्कालीन कार्य समितिका केन्द्रीय स्तरका अन्य नेता भने सहभागी भएनन् । विशेष महाधिवेशनपछि धनगढीमा देउवा पक्षले पहिलोपटक आयोजना गरिएको भेलामा बोल्ने अधिकांश नेताहरूले सभापति गगनकुमार थापाको आलोचनामै समय खर्चिए ।

कैलाली–५ का क्षेत्रीय सभापति भीम पडालले पार्टी सभापति थापालाई मानेर अघि बढनुको विकल्प नभएको उल्लेख गर्दै शेरबहादुर देउवाको योगदानको उच्च सम्मान गर्नुपर्ने बताएका थिए ।

पडालले यस्तो कुरा बोलेपछि केहीबेर विवादको स्थिति बन्न पुगेको थियो । थापाको आलोचना नगर्ने नेतामा पडाल एक्ला देखिए ।

बृहतर एकता र पुर्नजागरण नारा दिइएको भेलाबाट देउवा पक्षीय नेताले सभापति थापालाई मुख्य तीन सन्देश दिएका छन् ।

पहिलो, विशेष महाधिवेशनले पार्टीलाई इतिहासमै कमजोर बनायो ।

दोस्रो, जबरजस्ती गर्न खोजिएको सदस्यता अद्यावधिकको कार्य स्वीकार्य छैन ।

तेस्रो, नियमित महाधिवेशनबाट देउवा पक्षको उचित सम्मान नभए विग्रह हुन्छ ।



नेताहरूले सभापति गगनकुमार थापाको व्यक्तिगत मोहका कारण प्रतिनिधि सभाको निर्वाचनमा पार्टी इतिहासमै कमजोर स्थितीमा पुगेको दाबी गरेका छन् ।

पार्टीको चुनावी पराजयको कारण थापाको विशेष महाधिवेशन भएको उनीहरुको मत छ ।

‘बदलियौँ कांग्रेस, बदल्छौँ देश भन्दै चुनावमा जाने । शेरबहादुर देउवाको अनुहार राम्रो छैन् भनेर थुन्ने तर चुनाव हारेपछि फलानो नेताले भोट मागेन भनेर कुर्लिने,’ कोशीका मुख्यमन्त्री केदार कार्कीले भने, ‘मत दिएन भनेर अहिले सरकार थर्काउन छाडेर गाउँ पसेर इमानदार कार्यकर्ता थर्काउँदै हिँड्ने । खेताला प्रयोग गरि नेतालाई गाली गर्ने काम सह्य हुँदैन ।’

नेता एनपी साउदले पनि जेनजी आन्दोलनपछि समस्याको समाधान विशेष महाधिवेशन नभएर नियमित महाधिवेशन भएको कुरा पटकपटक आग्रह गरिएको तर सभापति थापाहरुले नै स्वीकार नगरेपछि अहिलेको अवस्था आएको दाबी गरे ।

थापाकै कारण चुनावमा पराजित हुनुपरेको प्रष्ट नबोलेपनि उनले त्यो संकेत गरेका छन् ।

‘हामीले चुनावको पूर्वसन्ध्यामा महाधिवेशन भए भोलि त्यसले क्षति व्यर्होनुपर्ने भनेको थियौँ । चुनावका बेला धैर्य राख्नुपर्छ भनेर आग्रह गरेका थियौँ तर हाम्रा साथीहरुले मान्नुभए,’ उनले भने, ‘विशेष महाधिवेशनलाई निर्वाचन आयोगले नै मान्यता दिएपछि रुख चुनाव चिन्ह अघि बढेका थियौँ । निर्वाचन कस्तो भयो तपाईंहरुलाई थाहै छ ।’

देउवा पक्षीय नेताहरुले थापाको हतारो र अपरिपक्क निर्णयका कारण भएको विशेष महाधिवेशन नै पार्टी हारको मुख्य कारण भएको दाबी गरेका छन् ।

प्रदेश सभापति बलायरले कांग्रेस इतिहासमै पहिलोपटक निर्वाचनमा ध्वस्त भएको दाबी गर्दै भने, ‘सबैभन्दा क्रान्तिकारी, युवा, देशभक्त सभापति तीन वटै निर्वाचन खरानी भयो भने के हुने हो ? उहाँ(थापा) को के हुन्छ त्यो थाहा छैन तर देशको के हुन्छ त्यो चिन्ता भएकाले बेलैमा सचेत भएका छौं।’ तर पार्टी एकताको पक्षमा आफूहरू रहेको उनको भनाई थियो ।

क्रियाशील सदस्यता अद्यावधिक गर्ने पार्टीको निर्णय पनि स्वीकार नगर्ने पक्षमा देउवा पक्षीय नेताहरू देखिएका छन् । भेलालाई सम्बोधन गर्दै प्रदेश सभापति बलायरले थापा महामन्त्री भएका बेला क्रियाशील सदस्यता नवीकरण गर्न निर्देशन दिएपछि नवीकरण गरेर विवरण पठाइएको बताए ।



तर, अहिले उनैले छानेको कांग्रेस बनाएर सदस्यतामा मनोमानी गर्न फेरि नवीकरण गर्न भनिरहेको दाबी गरे । आफ्नो भनेको नमान्नेलाई फुत्त फाल्ने तयारी भएको तर्फ इंगित गर्दै उनले सदस्यता फालेर देखाउन चुनौती समेत दिएका छन् ।

‘हिजो सदस्यता नवीकरण गरेर रकम खातामा हालेर पठाइयो । अब छानेको कांग्रेस राख्नका लागि आफ्नो मापदण्ड र भनेको नमान्नेलाई फुत्त फालिदिन्छु भनेर होला,’ बलायरले भने, ‘सक्छौँ भने फालेर देखाउ । कुनै पनि ठाउँमा कांग्रेसको मूलमन्त्र जोडेको कांग्रेस हामीसँग छ ।’

भेलामा सहभागी जिल्ला सभापतिहरूले पनि पुनः सदस्यता अद्यावधिक गर्ने कुरा स्वीकार नगर्ने प्रष्ट सन्देश दिएका छन् । नेता एनपी साउदले त वडा सभापतिलाई सदस्यता अद्यावधिकको अधिकार दिएर पार्टीका कार्यकर्ता र नेतालाई अपमान गरिएको बताएका थिए ।

भेलाले पार्टीको सदस्यता अद्यावधिकको कुनै औचित्य नै नभएको निष्कर्ष निकालेको छ । आइतबारको भेलामा बोलेका नेताहरूले जोड दिएको अर्को कुरा पार्टी एकता र सम्मानजनक व्यवस्थापन थियो । त्यसका लागि पार्टी नेतृत्वले निष्पक्ष रुपमा नियमित महाधिवेशन गर्नुपर्ने माग गरिएको छ । अन्यथा व्यवहार गरिएमा थप कदम चालिने चेतावनी दिइएको छ ।

सुदूरपश्चिम र राष्ट्रकै निम्ति ठूलो योगदान पुगाएका निवर्तमान सभापति शेरबहादुर देउवालाई उचित सम्मान गर्नुपर्ने पूर्वगृहमन्त्री रमेश लेखकले बताए । उनले नियमित महाधिवेशनबाट अहिलेको समस्या हल गर्न सकिने उल्लेख गरे ।

पार्टीमा विग्रह ल्याउन नभएर थप एकताबद्ध गर्न धनगढी भेला गरिएको भन्दै लेखकले भदौ २३ र २४ को जेनजी आन्दोलनपछि कांग्रेस दुई धारणामा विभक्त भएको बताए ।

‘विशेष महाधिवेशन र नियमित महाधिवेशनका बारेमा पार्टी दुई धारणामा विभक्त भयो । विशेष महाधिवेशन भएपछि हामी धेरै साथीहरू एकैपटक केन्द्रीय समितिमा भूमिकाविहीन भयौँ,’ उनले भने, ‘आजको दिनमा पार्टी एकता महत्त्वपूर्ण विषय बनेको छ । त्यसका लागि पार्टीको १५ औँ महाधिवेशन निष्पक्ष, स्वतन्त्र र पारदर्शी ढंगले सम्पन्न हुने कुरा सुनिश्चितता गर्न सबैभन्दा महत्वपूर्ण काम हो ।’

१५ औँ महाधिवेशनलाई निष्पक्ष रुपमा सम्पन्न गरेर सिंगो कांग्रेसलाई एकताबद्ध गर्नुपर्ने उनी बताउँछन् । पार्टीको बृहतर एकताका लागि सभापतिको प्रमुख दायित्व भएको लेखकको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: परराष्ट्रमन्त्री शिशिर खनाल नेपालले प्राकृतिक, सांस्कृतिक र सभ्यतागत पहिचानलाई विश्वसामु अझ प्रभावकारी रूपमा प्रस्तुत गर्न आवश्यक रहेको बताएका छन्। आइतबार परराष्ट्र सेवा दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री खनालले नेपालको लागि प्रत्यक्ष विदेशी लगानी, पर्यटन, प्रविधि स्थानान्तरण र बजार पहुँच विस्तार गर्न अन्तर्राष्ट्रिय साझेदारीलाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने बताएका हुन् । उनले नेपालको ...
। तरूण दलको अध्यक्षमा मनिष कोइराला नियुक्त भएका छन् । सभापति गगन कुमार थापाले कोइरालालाई पार्टी आबद्ध भ्रातृ संघ तरुण दलको अध्यक्ष नियुक्त गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । उनलाई २१ वैशाखमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अनुसार, सभापति थापाले नियुक्त गरेको दुलालले जारी विज्ञप्तिमा जनाइएको छ । पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ ...
: नेकपा एमालेले पार्टीको कमजोरी र निर्वाचनको समीक्षा लगायतका विषयमा अध्ययन गर्न समिति गठन गरेको छ। एमालेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा बादल संयोजकत्वमा अध्ययन गर्न समिति गठन गरेको उपमहासचिव भट्टले जानकारी दिए। उनका अनुसार समितिमा विश्वप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ, शंकर पोखरेल, लेखराज भट्ट, छविराज विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकाल सदस्य रहेको उनका अनुसार सबै ...
। राष्ट्रिय सहकारी बैंक सञ्चालकमा बागमती प्रदेशबाट डा. परितोष पौड्याल निर्वाचित भएका छन् । पौड्यालले रामशरण शर्मा घिमिरेलाई पराजित गर्दै बैंक सञ्चालक निर्वाचित भएका हुन् । शनिबार सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी उम्मेदवारले भन्दा २ सय ७५ मत धेरै ल्याई पौड्याल विजयी भएका हुन् । निर्वाचनमा पौड्यालले कुल १ हजार ८ सय २७ मत प्राप्त गर्दा शर्माले १ हजार ...
: धादिङमा करेन्ट लागेर गम्भीर घाइते भएकी एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार नीलकण्ठ नगरपालिका–४, रायटारमा आइतबार दिउँसो करिब १ः३० बजे सो दुर्घटना भएको हो। नीलकण्ठ नगरपालिका–८, रामकोट घर भई हाल रायटार बस्दै आएका सुजन श्रेष्ठकी ६ वर्षीया छोरी साया श्रेष्ठ आफ्नै घरको तेस्रो तलामा खेल्ने क्रममा हाईटेन्सन लाइनको तारबाट ...