: नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकलाई सहज र द्रुत गतिमा अगाडि बढाउन सातवटै प्रदेशमा विशेष जिम्मेवारी तोकेको छ।
पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक तथा महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले संगठनात्मक संरचनालाई सक्रिय बनाउँदै प्रदेशगत रूपमा केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई जिम्मेवारी दिने निर्णय गरेको हो।
बैठकले कोशी प्रदेशमा डा. डिला संग्रौला, बागमतीमा बहादुर सिंह लामा, सुदूरपश्चिममा उदय शमशेर राणा, गण्डकीमा मुक्ताकुमारी यादव, कर्णालीमा जानकी सिंह, मधेशमा देवराज चालिसे तथा लुम्बिनीमा अमरसिंह पुनलाई जिम्मेवारी तोकेको जनाएको छ।
त्यस्तै १५औं महाधिवेशनका लागि नयाँ क्रियाशील सदस्यता वितरण तथा यसअघि विभिन्न कारणले नवीकरण हुन नसकेका सदस्यहरूको नवीकरण गरी केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने काम जेठ २१ गतेभित्र सम्पन्न गर्ने निर्णय गरिएको छ।
बैठकले १४औं महाधिवेशनका क्रममा गठन भएको क्रियाशील सदस्यता छानबिन समितिबाट आधिकारिकता पाएका सदस्यतालाई पुरानो सदस्यता मानी नवीकरण प्रक्रियामा समावेश गर्न जिल्ला सभापतिहरूलाई परिपत्र गर्ने निर्णय पनि गरेको छ।
विभिन्न दलबाट कांग्रेसमा समायोजन भएका व्यक्तिहरूको सदस्यता सम्बन्धी समस्या समाधानका लागि बारा, सिराहा, धनुषा, सप्तरी, सोलुखुम्बु, सर्लाही, सुर्खेत, महोत्तरी, कपिलवस्तु, सुनसरी, रौतहट, पर्सा र काठमाडौं जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै जनसम्पर्क समितिहरूको हकमा अधिवेशन सम्पन्न भएका सात देशका समितिलाई क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियाका लागि अनुमति दिने तथा समस्या नरहेका १५ देशका जनसम्पर्क समितिलाई अधिवेशनको समयतालिका केन्द्रीय कार्यालयमा पेश गर्न निर्देशन दिने निर्णय गरिएको छ। सदस्यता सम्बन्धी समस्या भएका आठ देशका जनसम्पर्क समितिको विषयमा अध्ययन गरी आवश्यक समन्वय गर्ने पनि बैठकले जनाएको छ।
बैठकले सदस्यता व्यवस्थापन केन्द्रीय समितिको सचिवमा केन्द्रीय कार्यालयका सह-सचिव प्रेम विश्वकर्मालाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ।