। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकलाई सहज बनाएर द्रुत गतिमा अगाडि बढाउन संगठनात्मक संरचनालाई सक्रिय बनाउँदै अनुगमन गर्ने भएको छ ।
सभापति गगन थापाको उपस्थितिमा बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले संगठनात्मक संरचनालाई सक्रिय बनाउँदै अनुगमन गर्ने निर्णय गरेको हो ।
महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले अनुगमन गर्न समितिका तर्फबाट सात वटै प्रदेशमा केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई खटाउने निर्णय गरेको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
उनका अनुसार कोशी प्रदेशमा सहमहामन्त्री डा. डिला संग्रौला, मधेश प्रदेशमा प्रवक्ता देवराज चालिसे र बागमती प्रदेशमा सहमहामन्त्री बहादुरसिंह लामालाई खटाइएको छ ।
यस्तै सहमहामन्त्री मुक्ताकुमारी यादव गण्डकी, प्रदेश सभापति अमरसिंह पुनलाई लुम्बिनी, केन्द्रीय सदस्य जानकी सिंहलाई कर्णाली र सहमहामन्त्री उदय शमशेर राणालाई सुदूरपश्चिमको जिम्मा दिइएको छ ।
बैठकले १५ औं महाधिवेशनका लागि नयाँ क्रियाशील सदस्यता वितरण तथा विभिन्न कारणवश यसअघि नवीकरण हुन नसकेका क्रियाशील सदस्यहरूको सदस्यता नवीकरण गरेर केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने काम २१ जेठभित्र सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ ।
१४ औं महाधिवेशनको क्रममा गठन भएको क्रियाशील सदस्यता छानबिन समितिले १५ औं महाधिवेशनमा आधिकारिकता दिने गरी प्रदान गरिएका क्रियाशील सदस्यतालाई पुरानो सदस्यता मानेर नवीकरण प्रक्रियामा समावेश गर्न जिल्ला सभापतिहरूलाई परिपत्र गर्ने पनि निर्णय गरेको छ ।
बैठकले विभिन्न पार्टीबाट कांग्रेसमा समायोजन भएका व्यक्तिहरूका हकमा सदस्यता सम्बन्धी समस्या समाधान गर्न समितिका तर्फबाट जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि खटाउने पनि निर्णय गरेको दुलालले बताए ।
केन्द्रीय प्रतिनिधिहरू :
१. डा. गोपाल दहित – बारा
२. आङ्गेलु शेर्पा – सिराहा
३. अब्दुल सत्तार – धनुषा
४. राजीव ढुंगाना – सप्तरी
५. कुसुम थापा – सोलुखुम्बु
६. देवप्रसाद तिमिल्सिना – सर्लाही
७. तिलक रानाभाट – सुर्खेत
८. प्रमोदहरि गुरागाईँ – महोत्तरी
९. टेकराज पौडेल – कपिलवस्तु
१०. जगदीश नरसिंह के. सी. – सुनसरी
११. कमलकिशोर घिमिरे – रौतहट
१२. कृष्ण रिजाल – पर्सा
१३. इश्वर अधिकारी – काठमाडौं