मुख्य समाचार
सरकारले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विषयलाई प्राथमिकतामा राखेको
सरकारले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विषयलाई प्राथमिकतामा राखेको

। सरकारले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विषयलाई प्राथमिकतामा राखेको जनाएको छ ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले यस्तो जानकारी दिएकी हुन् । सबै दलसँग बसेर यो विषय अगाडि बढाउने र टीआरसीलाई निष्कर्षमा पुर्याइने उनले बताइन् ।

‘संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन सरकार पूर्ण प्रतिबद्ध छ,’ मन्त्री गौतमले सोमबार प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा भनिन् ।

मुलुकमा शान्ति प्रक्रिया सुरु भएको दुई दशक हुन लाग्यो । तर अझै संक्रमणकालीन न्याय टुंगोमा पुगेको छैन । बरु यो विषय शान्ति प्रक्रिया सुरु भए यताका हरेक सरकारले प्राथमिकता राखेको बताउँदै आएका छन ।
१ फागुन २०५२ देखि तत्कालीन नेकपा माओवादीले सशस्त्र युद्ध सुरु गरेको थियो । ५ मंसिर २०६३ सालमा नेपाल सरकार र तत्कालीन माओवादीबीच विस्तृत शान्ति सम्झौता भयो । त्यसपछि द्वन्द्व औपचारिक रूपमा अन्त्य भयो र संक्रमणकालीन न्यायको प्रक्रिया सुरु भयो ।

शान्ति सम्झौतामा मुख्यत: चार वटा विषय थिए ।

पहिलो : मानवअधिकार उल्लंघनका घटना र अपराधको छानविन गर्ने,

दोस्रो : बेपत्ता र मृत व्यक्तिहरूको विवरण ६० दिन भित्र सार्वजनिक गर्ने,

तेस्रो : माओवादी लडाकु र हतियारको व्यवस्थापन (शिविर व्यवस्थापन) गर्ने,

चौथो : संविधानसभाको निर्वाचन गर्ने र राज्यको समावेशी, लोकतान्त्रिक र अग्रगामी पुनर्संरचना गर्ने ।

यी काम संविधानसभाको निर्वाचन सम्पन्न भएको ६ महिना भित्र शान्ति प्रक्रियाका सबै काम सक्ने तत्कालीन प्रतिबद्धता थियो ।

२८ चैत २०६४ सालमा संविधानसभाको निर्वाचन भयो । उक्त निर्वाचनमा सहभागी सबै दलहरूले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने प्रतिबद्धता जनाएका थिए ।

निर्वाचनपछि तत्कालीन माओवादी सबैभन्दा ठूलो दल बन्यो । उक्त पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री बने । ९ महिनामै उनी नेतृत्वको सरकार ढल्यो । सत्ता खिचातानीका कारण संविधानसभाले संविधान दिन सकेन ।

त्यसबीचमा शान्ति सम्झौताअनुसार माओवादी लडाकु र हतियारको व्यवस्थापन भयो । तत्कालीन माओवादीका सेना र तत्कालीन शाही सेनामा समायोजन भए र नेपाली सेना बन्यो ।

तर, मानवअधिकार उल्लंघनका घटना र अपराधको छानबिन गर्ने तथा बेपत्ता र मृत व्यक्तिहरूको विवरण सार्वजनिक गर्ने लगायतका संक्रमणकालीन न्याय (टीआरसी) सँग सम्बन्धित विषय सम्झौताअनुसार कार्यान्वयनमा आउन सकेन ।

२०७० सालमा फेरि संविधानसभाको दोस्रो निर्वाचन भयो । त्यसबेला पनि दलहरूले संविधान बनाउने र संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने प्रतिबद्धता जनाए ।

दोस्रो संविधानसभाले समावेशी, लोकतान्त्रिक र राज्य पुनर्संरचना सहितको संविधान ३ असोज २०७२ सालमा जारी गर्‍यो । तर संक्रमणकालीन न्यायको विषयमा प्रगति भएन ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबमोजिम २०७४ र २०७९ सालमा तीन वटै तहको सरकारका लागि निर्वाचन भयो । दुवै निर्वाचनमा शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने विषय चुनावी प्रतिबद्धतामा आए । सत्ता फेरबदलमा यो विषय प्रमुखताका साथ उठे । व्यवहारमा अझै द्वन्द्वकालीन मुद्दाको विषय अन्योलमा छ ।

यो विषय रास्वपाको चुनावी वाचापत्रमा पनि आएको थियो ।

रास्वपाले आफ्नो वाचापत्रमा भनेको छ, ‘संक्रमणकालीन न्यायका बाँकी काम टुंग्याउन र ‘न्यायिक कोष ऐन, २०४६’ लाई समयानुकूल कार्यान्वयन गर्न तत्काल काम थाल्ने छौं ।’

यसअनुसार रास्वपा सरकारले काम अगाडि बढाएको बताएको हो ।

मन्त्री गौतमका अनुसार यसबीचमा के कति काम भए भनेर अभिलेखीकरण गर्ने कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। शिक्षा सचिव चुणामणि पौडेलले शिक्षा मन्त्रालयअन्तर्गत विद्यालय भवन निर्माणसँग सम्बन्धित पुराना बेरुजु फर्स्यौट गर्न ठूलो समस्या देखिएको बताएका छन् । सार्वजनिक लेखा समिति बैठकमा बोल्दै उनले साविक जिल्ला शिक्षा कार्यालयमार्फत विद्यालय भवन निर्माणका लागि गएको बजेटको फर्स्यौट हुन नसकेको अधिकांश बेरुजु अहिले पनि बाँकी रहेको बताएका हुन् । उनका अनुसार, भवन निर्माण सम्पन्न भइसके पनि आवश्यक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सरकारले कानुन निर्माणमा नागरिकलाई सहभागी गराउनका लागि ल्याइएको डिजिटल प्लेटफर्मबारे संसदीय समितिमा जानकारी गराएकी छिन् । सोमबार बसेको कानुन, न्याय तथा संसदीय समितिको बैठकमा यसबारे जानकारी गराउँदै उनले प्रयोग विधिबारे पनि जानकारी गराइन् । उनका अनुसार, जुनसुकै कानुनबारे जानकारी गराउन र आवश्यक लागेका संशोधनहरूबारे अब वेबसाइटबाटै काम गर्न सकिनेगरी ...
। सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारको निर्णयविरुद्ध धनगढीमाई नगरपालिका–९ स्थित जिरोमाइल चौकमा स्थानीयवासी, व्यापारी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले चक्काजाम गरेका छन् । छोटी भन्सार खारेजीको निर्णय फिर्ता गर्नुपर्ने माग राखेर उनीहरूले आज चक्का जाम गर्दै प्रदर्शन गरेका हुन् । नेपाल सरकारले २१ वैशाख २०८३ मा राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय ...
। परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको हवाई क्षेत्रलाई युरोपेली संघ (ईयू) को उडान सुरक्षा सूची (कालोसूची) बाट हटाउने प्रक्रियामा सहयोग गर्न ईयूका सदस्य राष्ट्रहरूसँग आग्रह गरेका छन्। सोमबार परराष्ट्र मन्त्रालयमा ईयूका राजदूतहरूको संयुक्त प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खनालले हवाई सुरक्षाको क्षेत्रमा नेपालले गरेको उल्लेखनीय प्रगति र भइरहेका सुधारलाई ध्यानमा राख्दै उक्त सूचीबाट हटाउन आग्रह गरेका हुन्। भेटका अवसरमा मन्त्री ...
। सभामुख डोल प्रसाद (डीपी) अर्यालले विगतका सरकारहरूले काम नगरेकोले अझै आधारभूत आवश्यकताबारे बहस गर्नुपर्ने अवस्था रहेको बताएका छन् । नागार्जुन नगरपालिकाद्वारा आयोजित वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी छलफल कार्यक्रममा सहभागी भएका सभामुख अर्यालले यस्तो बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले पूर्वाधार विकास, विशेषगरी सडक र खानेपानीजस्ता आधारभूत विषयमा राजनीति गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । विगतका ...