मुख्य समाचार
चिकित्सा शिक्षा क्षेत्रमा भइरहेको राजनीतिक हस्तक्षेप र ऐन विपरीतका निर्णयविरुद्ध आपत्ति
चिकित्सा शिक्षा क्षेत्रमा भइरहेको राजनीतिक हस्तक्षेप र ऐन विपरीतका निर्णयविरुद्ध आपत्ति

। सरकारको निर्णयमाथि असन्तुष्टि जनाउँदै चिकित्सा सुधारका अभियान्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षा क्षेत्रमा भइरहेको राजनीतिक हस्तक्षेप र ऐन विपरीतका निर्णयविरुद्ध आपत्ति जनाएका छन् ।

डा. केसीले सोमबार जारी गरेको वक्तव्यमा विधिको शासन स्थापित गर्ने प्रतिबद्धतासहित आएको बालेन सरकारले चिकित्सा शिक्षा लगायतका क्षेत्रमा ‘स्वार्थपरक र गैरकानुनी हस्तक्षेप’ गरिरहेको आरोप लगाएका छन् ।

सरकारले बारम्बारको आग्रह र खबरदारी बेवास्ता गर्दै आम नागरिकको स्वास्थ्यमा दीर्घकालीन नकारात्मक असर पर्ने निर्णयहरू गरिरहेको डा. केसीले बताएका छन् ।

चिकित्सा शिक्षा आयोग लामो समयदेखि नेतृत्वविहीन रहेको अवस्थामा विवादित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) लाई नर्सिङसहितका स्वास्थ्यसम्बन्धी डिप्लोमा कार्यक्रम सञ्चालन गर्न दिने निर्णयलाई गैरजिम्मेवार र ऐनविपरीत भन्दै आपत्ति जनाएका छन् ।

डा. केसीले स्वास्थ्यसम्बन्धी कार्यक्रमहरूलाई गैर-स्वास्थ्य शैक्षिक निकायबाट अलग गरी चिकित्सा शिक्षा आयोगको पूर्ण मातहतमा सञ्चालन गर्नुपर्ने माग लामो समयदेखि उठाउँदै आएको स्मरण गराएका छन् ।

आयोग नेतृत्वविहीन हुँदा चलखेल बढ्ने र नियमित कामकारबाही प्रभावित हुने चेतावनी दिँदै डा. केसीले भनेका छन्, ‘ हालको निर्णय ऐन, नियम विपरीत र स्वार्थपरक छ । यसले बालेन सरकारको विधिको शासनको नारा हात्तीको देखाउने दाँत प्रमाणित भएको छ ।’

डा. केसीले विगतका सरकारहरूले समेत मन्त्रिपरिषद् गठन भएको छोटो अवधिमै यति खुला रूपमा नियम मिच्ने प्रयास नगरेको दाबी गरेका छन् ।

प्रधानमन्त्री, शिक्षा मन्त्री र स्वास्थ्य मन्त्री आयोगका कार्यकारी वा विषय विज्ञ नभएको उल्लेख गर्दै उनले सरकारको पछिल्लो कदम स्वार्थ प्रेरित भएको आरोप लगाएका छन् ।

डा. केसीले सरकारले उक्त निर्णय तत्काल फिर्ता नलिए सत्याग्रहसहितका सशक्त आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् ।

डा. केसीले अध्यादेशमार्फत करिब १६ सय सरकारी निकायका पदाधिकारी हटाइएका कारण विभिन्न संस्थान र आयोगहरू नेतृत्वविहीन बनेको उल्लेख गर्दै त्यस्ता निकायमा व्यक्तिगत र दलगत स्वार्थ हावी हुने जोखिम बढेको बताए ।

चिकित्सा शिक्षा ऐन र नियमावलीअनुसार योग्यता, दक्षता, निष्ठा तथा स्वार्थ नबाझिने आधारमा नयाँ पदाधिकारी नियुक्त गर्न र त्यतिन्जेल संस्थापक पूर्व पदाधिकारीहरूमध्येबाट अस्थायी नेतृत्वको व्यवस्था गर्न सरकारलाई पुनः आग्रह गरेका छन् ।

गुणस्तरीय, निःशुल्क तथा सुलभ शिक्षा र स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न संघर्ष जारी रहने डा. केसीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जनकपुर–जयनगर रेलमा किचिएर एक महिलाको मृत्यु भएको छ । सोमबार साँझ ५:३२ बजेको समयमा जयनगरबाट जनकपुर तर्फ आउँदै गरेको रेलमा धनुषा विदेह नगरपालिका–९ बैदेही स्टेसनभन्दा ६ सय मिटर पूर्वमा उक्त घटना भएको हो । सो क्रममा अन्दाजी ३० वर्षीय महिलाको टाउको किचिएर घटनास्थलमै मृत्यु भएको धनुषा प्रहरीका प्रवक्ता मधुसुधन न्यौपानेले जानकारी दिए । घटनाबारे थप ...
। प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सरस्वती लामाले कानुन व्यवसायीहरूको पनि सेवा शुल्क निर्धारण गर्न सरकारसँग माग गरेकी छिन् । सोमबार सिंहदरवारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले उक्त माग गरेकी हुन् । न्यायका लागि सेवा शुल्क अति महंगो भएकाले सरकारले कानुनव्यवसायीहरूको सेवा शुल्क निर्धारण हुनेगरी ...
। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबिच हुने विवाद समाधानका लागि उच्चस्तरीय समिति गठन गरेको छ । विशेषगरी संघीय सरकारले पठाउने प्रमुख प्रशासकीय अधिकृत र स्थानीय तहका जनप्रतिनिधिबिच नीतिगत विषयमा विवाद हुने गरेको छ । जसका कारण समयमा निर्णय नहुने, बजेट कार्यान्वयन नहुने तथा बेरुजु बढ्ने समस्या देखिँदै ...
। सर्वोच्च अदालतले डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध परेको रिट निवेदन औचित्यहीन भनी टिप्पणी गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता डा. प्रेमराज सिलवालले छुट्टाछुट्टै पेश गरेको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो । दरपीठविरुद्ध परेको निवेदनको सुनुवाइपछि न्यायाधीश मेघराज पोखरेलको इजलासले अदालत प्रशासनले गरेको दरपीठलाई स्वाभाविक भनेको हो ...
। नेपाल पत्रकार महासंघले पत्रकार किशोर श्रेष्ठमाथि भइरहेको व्यवहारप्रति निन्दा व्यक्त गरेको छ । सोमबार साँझ महासंघका महासचिव रामप्रसाद दाहालले एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार श्रेष्ठमाथि भइरहेको व्यवहार स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिकै प्रहार रहेको भनेका छन् । ‘गृह मन्त्रालयको जिम्मेवारी लिइरहेका प्रधानमन्त्रीको निर्देशनमा आफूलाई धरपकड गर्ने, धम्क्याउने तथा समाचारको स्रोत खोल्न दबाब दिनेजस्ता गतिविधि बढिरहेको ...