। प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले गरेको विरोधलाई सत्तापक्ष रास्वपाका सांसद जगदीश खरेलले ‘तमासा‘ संज्ञा दिएका छन् ।
संसद्मा प्रधानमन्त्रीको जवाफदेहिता र उपस्थिति माग गर्दै निरन्तर विरोध गरिरहेका विपक्षी दलहरूलाई उनले आरोप लगाएपछि बैठक केहीबेर स्थगित भएको छ । विपक्षीको विरोधकाबीच पनि संसद्को कारबाही अघि बढीरहेको थियो ।
कार्यसूची अनुसार पर्यटन विधेयकमाको सैद्धान्तिक छलफलमा भाग लिन रोस्टममा पुगेका सांसद खरेलले सुरूमै विपक्षीहरूलाई आरोप लगाउन थालेपछि फ्लोरमा उनीविरुद्ध विरोध गरिरहेका सांसदहरु झन् आक्रोशित भएका थिए । कांग्रेस सांसद नरेन्द्रकुमार केरूङ खरेलले यस्तो बोल्दा रोस्ट्रमतिर अघि बढ्न खोजेका थिए ।
त्यसक्रममा कांग्रेस प्रमुख सचेत वासना थापाले थुम्थुम्याएर पछाडि हटाएकी थिइन् । यसअघि सभामुखले नै संसद्मा अर्यादित शब्द प्रयोग नगर्न भन्दै पटक पटक रुलिङ गरेका थिए । रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली देखि एमाले संसदीय दलका नेता रामबहादुर थापा समेतको बोली यसअघि संसदीय रेकर्डबाट हटाइएको थियो ।
‘मलाइ आज गहिरोसँग महसुस भयो । आठ वटा अध्यादेश सरकारले किन ल्याउनुपर्यो भनेर महसुस भइरहेको छ मलाई’ उनले भने, ‘संसद् यसैगरी चलेर विगत वर्षदेखि हामीले, २०७२ सालमा संविधान बनेदेखि जति ऐन बनाउनुपर्ने थियो त्यति किन बन्न सकेन भनेर यो तमासाले देखाइरहेको छ ।’
विपक्षीहरूतर्फ चोर औंला देखाउँदै उनले विपक्षी दलका सांसदहरूको तमासाको संज्ञा दिएका हुन् ।
उनले थपे, ‘संसदीय तामासा हामीले जुन देखाइरहेका छौं । सँधै सकारात्मक मात्रै हुँदैन ।’
जनताका कानुन बनाउने सन्दर्भमा विपक्षी दलका सांसदहरू पनि उत्तिकै जिम्मेवार हुनुपर्ने भनेर आग्रह गरे । ‘प्रधानमन्त्री उपस्थित हुने वा नहुने कुराले कानुन बनाउने प्रक्रियामा अवरोध गर्न मिल्छ ?’ उनले प्रश्न गरे ।
सांसद खरेलको उत्तेजित अभिव्यक्तिपछि विपक्षी दलका सांसदहरू थप उग्र बने । त्यसपछि सभामुख अर्यालले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।