— नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्यारालल ट्याक्सी-वे 'पी’सहित सहायक ट्याक्सी वे ‘एस’ र ‘एन’लाई बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।
प्राधिकरणले जारी गरेको विज्ञप्तिअनुसार नयाँ ट्याक्सी-वे सञ्चालनमा आएपछि विमानहरूको ग्राउण्ड मुभमेन्ट थप प्रभावकारी हुने, सञ्चालन सुरक्षा अभिवृद्धि हुने, रनवे ओगट्ने समय घट्ने तथा विमानस्थलको समग्र सञ्चालन क्षमता वृद्धि हुने अपेक्षा गरिएको छ ।
नवनिर्मित ट्याक्सी-वे प्रणालीको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द निरौला र प्राधिकरणका महानिर्देशक मुकेश डंगोललगायतले गरेका थिए ।
यो आयोजना प्राधिकरणअन्तर्गतको एयर ट्रान्सपोर्ट क्यापासिटी इन्हान्समेन्ट प्रोजेक्टमार्फत कार्यान्वयन गरिएको हो । यस्तै नेपाल सरकार मन्त्रिपरिषद्को जेठ ११ गतेको निर्णयअनुसार प्राधिकरणको महानिर्देशकमा नियुक्त मुकेश डंगोलले बुधबार पदभार ग्रहण गरेका थिए ।