मुख्य समाचार
भदौ २३ र २४ गतेको आन्दोलनलाई विध्वंसात्मक बनाउन प्रविधिको संगठित दुरुपयोग भएको
भदौ २३ र २४ गतेको आन्दोलनलाई विध्वंसात्मक बनाउन प्रविधिको संगठित दुरुपयोग भएको

— राष्ट्रिय मानव अधिकार आयोगको छानबिन प्रतिवेदनले २०८२ भदौ २३ र २४ गतेको आन्दोलनलाई विध्वंसात्मक बनाउन प्रविधिको संगठित दुरुपयोग भएको ठहर गरेको छ । प्रतिवेदनका अनुसार आन्दोलनकारीलाई मानसिक रूपमा हिंसाका लागि तयार पार्न र सुरक्षाकर्मीलाई अलमल्याउन प्रविधिलाई 'हतियार' का रूपमा प्रयोग गरिएको हो ।

प्रतिवेदनको तथ्य र विश्लेषण खण्डका अनुसार, प्रदर्शन हुनुभन्दा अगाडि नै संसद् भवन र सिंहदरबारजस्ता राज्यका महत्त्वपूर्ण संरचनाहरू जलाइएको वा ध्वस्त पारिएको, एआइ निर्मित फोटो र भिडियोहरू सामाजिक सञ्जालमा फैलाइएको थियो । यस्ता सामग्रीहरूले जनमानसमा भ्रम र उत्तेजना फैलाउन भूमिका खेलेको आयोगको निष्कर्ष छ । प्रतिवेदनअनुसार आन्दोलनलाई एउटा समूहले शान्तिपूर्ण बनाउन खोजे पनि अर्को समूहले अनलाइनमार्फत विध्वंसात्मक बनाउन पूर्वतयारी गरेको संकेत गरेको छ ।

'संसद् भवन, सिंहदरबारलगायत सार्वजनिक संरचना जलाइएको वा विध्वंस गरिएको एआई जेनेरेटेड फोटो/भिडियोहरू सो प्रदर्शन पूर्व नै सामाजिक सञ्जालमा साझा भएको तथ्य र परिस्थितिको विश्लेषण गर्दा २०८२ भाद्र २३ गतेको विरोध प्रदर्शनलाइ शान्तिपूर्ण रुपमा गर्ने भनी एउटा समूह र अनलाइनमा विध्वंशात्मक बनाउने भन्ने अर्को समूह गरी २ वटा समूहले तयारी गरिरहेको भन्ने सञ्चारमाध्यम र छलफल बयानको क्रममा खुल्न र पुष्टि हुन आएको देखिन्छ,' प्रतिवेदनमा भनिएको छ ।

आन्दोलनका क्रममा सबैभन्दा घातक दुरुपयोग नेपाल प्रहरीको नक्कली फेसबुक पेज बनाएर गरिएको प्रतिवेदनमा उल्लेख छ । उक्त नक्कली पेजमार्फत 'नेपाल प्रहरीले विद्यालयको पोसाकमा रहेका विद्यार्थीमाथि बल प्रयोग गर्न नसक्ने' भन्दै सबैलाई विद्यालयकै पोसाकमा आउन आह्वान गरिएको थियो । 'नेपाल प्रहरीको नक्कली फेसबुक पेजले प्रदर्शनकारीहरूमा भ्रमपूर्ण सामग्री प्रसारित गरी योजनाबद्ध रूपमा विद्यार्थीलाई प्रदर्शनमा सहभागी गराई 'मानव ढाल' बनाउन खोजेको देखिन्छ,' आयोगको ठहर छ ।

प्रतिवेदनको अनुसार प्रविधिको दुरुपयोग यतिमा मात्र सीमित थिएन । केही व्यक्तिहरूले विभिन्न विद्यालयका डिजिटल बोर्ड र वेबसाइटहरूसमेत ह्याक गरेका थिए । ह्याक गरिएका ती प्लेटफर्महरूमा 'नो मोर स्क्रिनस्, वि आर अन स्ट्रिस्टस्' र 'वि डन्ट वान्ट लाइक्स, वि वान्ट चेन्ज' जस्ता नाराहरू प्रदर्शन गरी विद्यार्थीहरूलाई सडकमा उत्रन प्रेरित गरिएको प्रतिवेदनमा उल्लेख छ ।

आयोगले 'वेक अप नेपाल' नामक टिकटक एकाउन्टमार्फत प्रदर्शन हुनुअगावै 'मलोटोभ ककटेल' (पेट्रोल बम) बनाएर आउन सार्वजनिक आह्वान गरिएको तथ्यसमेत फेला पारेको छ । यस्ता गतिविधिहरूले आन्दोलनलाई योजनाबद्ध रूपमा हिंसातर्फ धकेल्ने प्रयास गरेको आयोगको विश्लेषण छ ।

प्रविधिमार्फत यति धेरै 'क्लु' वा सुराकहरू बाहिरिइसक्दा पनि सरकार र सुरक्षा निकायले ती नक्कली खाताहरू पहिचान गर्न वा भ्रम चिर्न कुनै पहल नगरेकोमा आयोगले प्रश्न उठाएको छ । प्रतिवेदनले भनेको छ, 'सामाजिक सञ्जालमा यस्ता विषय साझा भइसक्दा पनि सुरक्षा निकायले ती खाता निष्क्रिय पार्ने वा भ्रम चिन्ने प्रयास गरेको कतै देखिँदैन, जसले सुरक्षा संयन्त्रको पूर्वतयारी कमजोर रहेको देखाउँछ ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगद्वारा बुधबार सार्वजनिक २३–२४ भदौको जेन-जी घटनासम्बन्धी अनुसन्धान प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । आयोगको प्रतिवेदनले सरकारले गठन गरिएको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अधुरो, अपूर्ण र अस्पष्ट रहेको आफ्नो दाबीलाई पुष्टि गरेको कांग्रेसले जनाएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेद्वारा जारी प्रेस विज्ञप्तिमा राष्ट्रिय मानव अधिकार आयोगले स्वयं ...
— २३ र २४ भदौको घटनामा मानव अधिकार उल्लंघन भएकोबारे छानबिन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक भएको छ । समितिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई नयाँ कानुन बनाएर कारबाही अघि बढाउन सिफारिस गरेको छ । वहालवाला आईजीपीद्वय दानबहादुर कार्की र सशस्त्र प्रहरी प्रमुख नारायणप्रसाद पौडेललाई समेत विभागीय कारबाहीको सिफारिस ...
— नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्यारालल ट्याक्सी-वे 'पी’सहित सहायक ट्याक्सी वे ‘एस’ र ‘एन’लाई बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । प्राधिकरणले जारी गरेको विज्ञप्तिअनुसार नयाँ ट्याक्सी-वे सञ्चालनमा आएपछि विमानहरूको ग्राउण्ड मुभमेन्ट थप प्रभावकारी हुने, सञ्चालन सुरक्षा अभिवृद्धि हुने, रनवे ओगट्ने समय घट्ने तथा विमानस्थलको समग्र सञ्चालन क्षमता वृद्धि हुने अपेक्षा गरिएको छ ...
— पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित बसपार्क अगाडिका अनधिकृत भौतिक संरचनाहरू भत्काउन सुरु गरेको छ । सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने अभियानअन्तर्गत महानगरपालिकाले बिहीबारदेखि संरचनाहरूमा डोजर चलाएको हो । उक्त क्षेत्रमा रहेका सहारा क्लब र सामुदायिक प्रहरी सेवा केन्द्रका भवनका साथै हिमाली सांस्कृतिक परिवारले भोगचलन गर्दै आएका संरचना समेत भत्काइएको छ । महानगर प्रमुख धनराज ...
— राष्ट्रिय मानव अधिकार आयोगले २३ र २४ भदौको जेन-जी घटनाको छानबिनसम्बन्धी प्रतिवेदनको संक्षिप्त अंश सार्वजनिक गरेको छ । आयोगले बुधार सरकारलाई सिफारिस पठाउँदै प्रतिवेदनको केही अंश सार्वजनिक गरेको हो । आयोगको प्रतिवेदनमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वसूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मानव अधिकार उल्लंघन गरेको उल्लेख छ । आयोगले ...