— प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुग्ध विकास संस्थानबाट केही महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा रहेको विषयमा जाँचका लागि केही कागजात ल्याइएको सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठले कान्तिपुरलाई बताए । उनले डीडीसीबारे कुन उजुरीमाथि अनुसन्धान भइरहेको हो भन्नेबारे खुलाएनन् ।
सरकारले डीडीसी सुधारका लागि भन्दै हालै संस्थानलाई ९ बुँदे निर्देशन दिएको थियो । कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले कर्मचारीहरूले सित्तैमा उपभोग गर्दै आएको दूध र घिउको सुविधा तत्काल रोक्नसमेत निर्देशन दिएकी थिइन् ।
दूध संकलनदेखि दुग्ध पदार्थ बिक्री वितरण, बिलिङ प्रणाली, लेखा प्रणाली, सम्पत्ति तथा जिन्सी अवस्थालगायत संस्थानबाट प्रवाह हुने सम्पूर्ण प्रक्रियालाई नेपाल सरकारले स्वीकृत गरेको १०० बुँदे सुधारका बुँदाबमोजिम ३ महिनाभित्र विद्युतीय अभिलेखीकरणमा आबद्ध गर्नसमेत निर्देशन दिइएको थियो ।
प्रधानमन्त्री बालेन्द्र शाहले डीडीसीको चिज खाँदै गरेको तस्वीर सार्वजनिक गरेपछि संस्थानको चर्चा भएको थियो ।