मुख्य समाचार
गत चैत १३ गते गठन भएको वालेन्द्र शाह नेतृत्वको रास्वपा सरकारले दुई महिना पूरा
गत चैत १३ गते गठन भएको वालेन्द्र शाह नेतृत्वको रास्वपा सरकारले दुई महिना पूरा

— गत चैत १३ गते गठन भएको वालेन्द्र शाह नेतृत्वको रास्वपा सरकारले दुई महिना पूरा गरेको छ ।

सरकार गठन भएकै दिन बसेको पहिलो मन्त्रीपरिषद् बैठकले शासकीय सुधारसम्बन्धी एक सय बुँदे कार्यसूची स्वीकृत गर्दै सरकारको प्राथमिकता सार्वजनिक गर्‍यो । सरकारको दाबी थियो, अबको शासनशैली परम्परागत ढर्राबाट फरक हुनेछ, सेवा प्रवाह छिटो हुनेछ, भ्रष्टाचार नियन्त्रण गरिनेछ र प्रशासनलाई परिणाममुखी बनाइनेछ ।

२४ घण्टादेखि १ हजार दिनसम्मको समयसीमा राखेर सार्वजनिक गरिएको कार्यसूचीमा सुशासन, प्रशासनिक पुनर्संरचना, डिजिटल सेवा प्रवाह, सार्वजनिक सम्पत्तिको संरक्षण, आर्थिक अनुशासन, शिक्षा-स्वास्थ्य सुधार र राजनीतिक संरचनामाथि हस्तक्षेपसम्मका विषय समेटिएका छन् ।

दुई महिना अवधिलाई नियाल्दा सरकारका अधिकांश निर्णय र गतिविधि यही सय बुँदे योजनाको वरिपरि केन्द्रित देखिएका छन् । यो अवधिमा सरकारले कार्यसूचीमा भएका कति काम पूरा गर्‍यो ? कति कार्यान्वयनमा छन् ? र, कस्ता काम सुरु नै भएका छैनन् ?

हेरौं, वालेन्द्र सरकारको रिपोर्ट कार्ड ।

एक सय बुँदे कार्यसूचीअनुसार सरकारले आजसम्म ५७ काम सकिसक्नुपर्ने थियो । तर, जम्मा १५ वटा काम मात्रै सम्पन्न भएका छन् । जहाँ तीनवटा काम निर्धारित समयसीमाभित्रै सकिएका हुन् भने १२ वटा काम तोकिएभन्दा केही ढिला गरी पूरा भएका छन् । आजका दिनसम्म आइपुग्दा सकिनुपर्ने ५७ काममध्ये ४२ वटा काम प्रक्रियामा छन् ।

सरकार गठनसँगै सिंहदरबारको काम गर्ने शैलीमा परिवर्तन ल्याउन प्रयास गरेको देखिएको छ । सबै मन्त्रालयलाई सय दिनभित्र देखिने काम गर्न निर्देशन दिइएसँगै मन्त्रालयहरु सक्रिय भएको, फाइलको काममा गति बढेको र सरकारी कार्यालयहरूमा तत्काल निर्णय लिन दबाब सिर्जना भएको नागरिकले अनुभूति गर्न थालेका छन् ।

सरकारको अर्को प्रमुख एजेन्डा भ्रष्टाचार नियन्त्रण र सम्पत्ति छानबिन रहेको छ । १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति बनाउने बुँदाअनुसार सरकारले उच्च पदस्थ कर्मचारी, पूर्वमन्त्री र राजनीतिक व्यक्तिहरूको सम्पत्तिमाथि अनुसन्धान प्रक्रिया सुरु गरेको छ ।

२०६२ सालदेखि हालसम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न सम्पत्ति छानबिन आयोग गठन भइसकेको छ । पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरिएको हो । गत चैत १३ गते १५ दिनभित्र समिति गठन गर्ने निर्णय गरेको थियो । सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी सय कार्यसूचीको ४३ औँ बुँदामा यसबारे उल्लेख गरिएको छ ।

कार्यसूचीको अर्को महत्वपूर्ण कार्य हो, सार्वजनिक जग्गा संरक्षण र सुकुमवासी व्यवस्थापन । कार्यसूचीको ९१ र ९२ नम्बर बुँदामा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको डिजिटल लगत संकलन, प्रमाणीकरण तथा सार्वजनिक जग्गा संरक्षण अभियान सुरू गर्ने उल्लेख छ । यसैअनुसार सरकारले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा अतिक्रमित संरचना हटाउने अभियान चलाएको छ ।

यस्तै, कार्यसूचीको १२ नम्बर बुँदामा सार्वजनिक प्रशासनलाई पूर्णत: राजनीतिक हस्तक्षेपबाट मुक्त गर्न दलिय ट्रेड युनियन खारेज गर्ने रहेको छ । यसअन्तर्गत सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी अध्यादेशको माध्यमबाट १५ सय ९४ राजनीतिक नियुक्ति खारेज गरेको छ । सँगै, रिक्त रहेका पदमा नियुक्ति प्रक्रिया पनि अगाडि बढाइरहेको छ ।

३ नम्बर बुँदाको कार्यसूचीअनुसार सबै दलका घोषणापत्रबाट कार्यान्वयन योग्य विषयको विश्लेषण गरी राष्ट्रिय प्रतिबद्धता तयार गर्ने काम पनि सरकारले सम्पन्न गरेको छ । तोकिएको समयभन्दा दुई दिन ढिला गरी १८ बुँदे घोषणापत्र वैशाख १ मा सरकारले जारी गरिसकेको छ ।

यस्तै, सट्टेबाजी एप र वेबसाइट २४ घण्टाभित्र बन्द गराउने विषय सरकारले आफ्नो सय बुँदे कार्यसूचीको बुँदा नम्बर ४२ मा उल्लेख गरेको थियो । यसअन्तर्गत हालसम्म ६४ हजारभन्दा बढी वेबसाइट र २५ एप बन्द भएका छन् ।

कार्यसूचीको बुँदा नम्बर ७३ मा उल्लेख गरिएको आरोग्य पर्यटन रणनीति पनि तोकिएको मितिभन्दा ढिलै भए पनि तयार भएको छ । वैशाख ११ मा बसेको मन्त्रीपरिषद्ले उक्त निर्णय स्वीकृत गरेको छ ।

नेपाल प्रहरीको अनुसन्धान ब्युरो सीआइबीलाई प्रविधियुक्त बनाउन कम्तीमा १ करोड रकम उपलब्ध बनाउने कार्यसूचीको बुँदा नम्बर ९४ मा उल्लेख गरिएकामा सरकारले उक्त रकम दिइसकेको छ ।

कार्यसूचीको ४ नम्बर बुँदामा पनि केही काम भएका छन् । देशको दीर्घकालीन राजनीतिक सुधारका लागि संविधान संशोधन गरिने भन्ने विषय उक्त बुँदामा उल्लेख गरिएको छ । संविधान संशोधन बहसपत्र निर्माणका लागि गठित कार्यदलले विभिन्न पक्षसँग छलफल जारी राखेको छ । सरकारले यसलाई दीर्घकालीन राजनीतिक सुधारको सुरूवातका रुपमा प्रस्तुत गरेको छ ।

यस्तै, सहकारीपीडितका विषयलाई पनि सरकारले प्राथमिकता दिएको छ । सोहीअनुरूप समस्याग्रस्त सहकारीका बचतकर्तालाई सरकारले पैसा फिर्ता दिन सुरु नै गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गत जेठ ४ गते ३ सय ७८ जना पीडितलाई १३ लाख ९९ हजार २ सय १६ रुपैयाँ फिर्ता गरेको छ ।

पहिलो चरणमा १० हजारसम्म बचत रहेका बचतकर्तालाई रकम फिर्ता गरेर समितिले बचत फिर्ता सुरू गरेको हो ।

यस्तै, कार्यसूचीमा सरकारले डिजिटल सेवा प्रवाहलाई आफ्नो प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरिरहेको छ । राहदानी, नागरिकता र लाइसेन्स सेवामा डिजिटल ट्र्याकिङ सुरू गर्ने, नागरिक सहायता केन्द्र स्थापना गर्ने, एकपटक विवरण दिएपछि पुनः नदोहोरिने प्रणाली लागू गर्ने र हेल्लो सरकारलाई प्रभावकारी बनाउने काम सुरू गरिएको छ ।

शासकीय सुधारको २७ नम्बर बुँदामा राहदानी घरदैलोमा पुर्‍याउने निर्णय कार्यान्वयनमा आइसकेको छ । लामो समयसम्म लाइसेन्स र राहदानीका लागि लाइन बस्नुपर्ने अवस्थालाई सुधार गर्ने प्रयासस्वरूप केही सेवामा गति देखिएको दाबी सरकारले गरेको छ ।

वर्षौंदेखि छापिन नसकेका लाइसेन्स छापिएर आएका छन् । अझ सहजताका लागि नागरिक एपमार्फत नागरिकले लाइसेन्स छापिए नछापिएको थाहा पाउन सक्ने विधि अपनाइएको छ । ३० दिनभित्रमा संघीय मन्त्रालयको संख्या १७ कायम गर्ने भनिएकामा सरकारले तोकिएको समयभन्दा ढिला भए पनि २२ मन्त्रालयबाट घटाएर १८ कायम गरेको छ ।

सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत् राखेको छ । त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पनि यथावत् छन् ।

सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साविकको शिक्षा मन्त्रालयबाट विज्ञान–प्रविधि झिकेर छुट्टै 'विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन गरेको छ । अन्य मन्त्रालयहरूको कार्यविभाजनमा पनि हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयहरूलाई एकीकृत गरिएको छ ।

जो कार्यान्वयनको चरणमा छन्

कार्यसूचीमध्ये १५ वटा कार्यसूचीको काम सम्पन्न भई ४३ प्रक्रियामा हुँदा अझै ४२ वटा कार्यसूचीमा भने काम हुन सकेको छैन ।

कार्यसूचीको चर्चित बुँदामध्ये एउटा भदौ २४ को घटनाको सत्यतथ्य छानबिनसँग सम्बन्धित थियो । सरकारले शासकीय सुधारको ७ नम्बर बुँदामा जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते भएको भएको घटनाको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति सातदिन भित्र बनाउने भनेको थियो, त्यो समिति अझै बन्न सकेको छैन ।

तर, भदौ २३ गतेको घटनामा भने सरकारले गौरीबहादुर कार्की नेतृत्वले तयार पारको प्रतिवेदन कार्यान्वयन प्रक्रिया सरकार गठन भएको भोलिपल्टदेखि नै सुरू गरिसकेको थियो । प्रतिवेदन कार्यान्वयनका क्रममा चैत १४ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक निवासबाटै पक्राउ परे ।

अहिले पनि उनीहरूमाथि अनुसन्धान जारी नै छ । यस्तै कार्यसूचीको बुँदा नम्बर ५ मा दलित तथा बहिष्कृत समुदायप्रति राज्यबाट औपचारिक क्षमायाचनासहित सुधार कार्यक्रम घोषणा गरिएकामा रास्वपा सभापति रवि लामिछानेले चैत २४ गते संसद्‌मा दलित समुदायसँग माफी मागेका थिए । तर, औपचारीक रूपमा राज्य पक्षबाट क्षमायाचना हुन बाँकी नै रहेको छ ।

जेन-जी आन्दोलनमा प्रभावित व्यवसायलाई सहुलियत र पुनःस्थापना प्याकेजमा अहिलेसम्म ठोस प्रगति हुन सकेको छैन ।

कार्यसूचीको ८७ बुँदामा रहेको स्नातक भर्नामा नागरिकता नचाहिने व्यवस्था तत्काल लागू गर्ने भनिएकोमा अझै कार्यान्वयन हुन सकेको छैन ।

सबै सरकारी सेवा पूर्णरूपमा डिजिटल र कागजरहित बनाउने लक्ष्य अझै प्रारम्भिक चरणमै छ । सरकारी डाटा एकीकृत गर्ने, पेपरलेस प्रणाली लागू गर्ने र सबै सेवा अनलाइनमार्फत उपलब्ध गराउने काम अझै पूरा हुन बाँकी छ ।

शिक्षा क्षेत्रमा पनि सरकारले सुधारका केही कार्यक्रम कार्यसूचीमा समावेश गरे पनि पूर्ण कार्यान्वयनमा आउन सकेको छैन । शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप ६० दिनभित्र हटाई ९० दिन भित्रमा स्टुडेन्ट काउन्सिल बनाउने प्रतिबद्धता कार्यसूचीको बुँदा ८६ मा राखिएको छ ।

सरकारले यसलाई शैक्षिक क्षेत्रलाई राजनीतिमुक्त बनाउने प्रयास भनेको छ । यसमा सरकारले केही काम भने गर्दै आएको छ । विद्यालय हाताभित्र भएका दलका झन्डा तथा संरचना भए खाली गर्न निर्देशन नै जारी गरेको छ । तर, विद्यार्थी संगठन र श्रमिक समूहहरूले यसलाई लोकतान्त्रिक अधिकारमाथिको हस्तक्षेप भन्दै विरोध गरिरहेका छन् ।

स्वास्थ्य क्षेत्रमा सरकारले सबै सरकारी अस्पतालमा १० प्रतिशत बेड निःशुल्क गर्ने निर्णय गरेको छ । यो निर्णयलाई जनमुखी कदमका रूपमा हेरिएको छ । तर, धेरै अस्पतालमा यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । कतिपय अस्पतालले बजेट र व्यवस्थापन चुनौती देखाएका छन् ।

महिलाको सुरक्षित यात्राका लागि सातै प्रदेशमा निःशुल्क ब्लु बस सेवा सञ्चालन गर्ने योजना अझै सुरु भएको छैन । सार्वजनिक यातायातमा हुने लैंगिक हिंसा रोक्न सवारीसाधनमा सीसीटीभी र राइड सेयरिङ एपमा एसओएस बटन अनिवार्य गर्ने निर्णय पनि कार्यान्वयन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा बजेट वृद्धि गर्ने बताएका छन् । पूर्वाधार तथा सम्पदाको विकास तथा निर्माणको काम लगभग सकिएकाले अब ललितपुर महानगरपालिकाले शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा लगानी बढाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने उनको भनाइ छ । बिहीबार ललितपुरमा आयोजित अंगदाता सम्मान कार्यक्रममा बोल्दै मेयर महर्जनले पछि ...
— निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनसम्बन्धी एकीकृत कानुन निर्माण प्रक्रिया पुनः अघि बढाएको छ । निर्वाचनसम्बन्धी रहेका अलग अलग सातवटा कानुनलाई एकीकृत गरेर एउटै कानुन बनाउने आयोगको प्रस्तावले लामो समयदेखि मूर्तरूप लिन सकेको छैन । आयोगले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार गरेर १८ असार २०८० मा सरकारलाई बुझाएको थियो । तर, सरकारले ...
— साउथ एसिया वाइल्डलाइफ इन्फोर्समेन्ट नेटवर्क (सवेन) का महासचिव डा. कृष्णप्रसाद आचार्यले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरेका छन् । भेटमा महासचिव डा. आचार्यले सवेनको आगामी महासभाका बारेमा जानकारी गराउँदै उक्त कार्यक्रमको आयोजनाका लागि नेपाल सरकारको सहजीकरण र समर्थनका लागि अनुरोध गरेका छन् । सवेन दक्षिण एसियाली देशहरूको एक अन्तरसरकारी संगठन हो, जसको सचिवालय काठमाडौंमा छ । संगठनमा ...
— नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई १० हजार रुपैयाँमा पठाउन नसक्ने भन्दै सरकारसमक्ष वैज्ञानिक रूपमा दुई महिनाको तलबबराबरको सेवा शुल्क निर्धारण गर्न माग राखेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागबाट खटिने अनुगमन टोलीबाट वैदेशिक रोजगार व्यवसायीमाथि धरपकड हुन थालेपछि उनीहरूले सेवा शुल्क निर्धारण गर्नुपर्ने माग अगाडि ...
— नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बिहीबार सात वटा विषयगत उपसमिति गठन गरेको छ । प्रतिष्ठानको बुधबार बसेको बैठकको निर्णय अनुसार विभिन्न नीति तथा सामाजिक विषयमाकेन्द्रित उपसमितिहरू गठन गर्दै संयोजक तोकेको हो । जस अनुसार अर्थ योजना तथा पार्टीको नीति, दृष्टि र योजनासम्बन्धी उपसमितिको संयोजकमा गोविन्दराज पोख्रेललाई तोकेको छ । उक्त उपसमितिले निजी ...