: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय अध्यक्ष नितिन नबिनबीच नेपाल-भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको छ।
उनीहरूबीच नेपालभारतबीचको ऐतिहासिक सम्बन्ध, साझा सभ्यतागत विरासत, सांस्कृतिक निकटता र जनस्तरको सम्बन्धबारे चर्चा भएको भाजपाले जनाएको छ। लोकतान्त्रिक संवादलाई सुदृढ बनाउने र भाजपा तथा रास्वपाबीचको अन्तरदलीय सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा पनि उनीहरूबीच कुराकानी भएको भाजपाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
भाजपाको ‘नो बीजेपी’ कार्यक्रमअन्तर्गत भारत भ्रमणमा रहेको रास्वपाको प्रतिनिधिमण्डलले मंगलबार नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा नवीनसँग भेट गरेको हो। भेटमा नवीनले भाजपाको स्थापना यात्रा, विचारधारा, संगठनात्मक संरचना तथा जनकेन्द्रित राजनीतिक अभ्यासबारे जानकारी गराएका थिए। उनले राष्ट्रिय तहदेखि बुथ तहसम्मको पार्टी संरचना र जनतासँग प्रत्यक्ष सम्बन्ध कायम गर्न कार्यकर्ताको भूमिकाबारे पनि प्रकाश पारेका थिए।
रास्वपा प्रतिनिधिमण्डलले भाजपाको सदस्यता प्रक्रिया, उम्मेदवार छनोट प्रणाली तथा तल्लो तहका कार्यकर्तासँग सम्पर्क र पहिचान गर्ने संयन्त्रबारे चासो राखेको विज्ञप्तिमा उल्लेख छ। जवाफमा नवीनले निरन्तर जनसम्पर्क, बुथस्तरीय सक्रियता र आम नागरिकको सहभागितामार्फत भाजपाको संगठनात्मक शक्ति निर्माण भएको बताएका थिए।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा विकास, सेवा, सुशासन र जनकल्याणलाई केन्द्रमा राखेर शासन सञ्चालन गरिएको पनि बताएका थिए। भेटका क्रममा दुवै पक्षबीच राजनीतिमा ‘जेनजी’को बढ्दो भूमिका, लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस तथा भावी नेतृत्व निर्माणका सम्भावनाबारे पनि छलफल भएको थियो।
भेटमा अरुण सिंह, संजय जैसवाल, बन्सुरी स्वराज र विजय चौथाइवाले सहभागी थिए। रास्वपा प्रतिनिधिमण्डलले भाजपा मुख्यालयस्थित मिडिया सेन्टर र केन्द्रीय पुस्तकालयको पनि अवलोकन गरेको थियो। भेटपछि आयोजित दिवाभोज कार्यक्रममा रेखा गुप्तासहित अन्य भाजपा नेताहरूको पनि सहभागिता रहेको विज्ञप्तिमा जनाइएको छ।