: सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको सीमा मिचेको छ भनेर नभनेको स्पष्ट पारेका छन्। मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै प्रवक्ता पोखरेलले प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको भन्ने विषय सुन्दा आफू अचम्ममा परेको बताएको उल्लेख गरे। प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्तिलाई अनावश्यक रूपमा विवादित बनाउन खोजिएको उनको भनाइ छ।
उनले भने,‘प्रधानमन्त्रीज्यूले त्यस्तो भन्नु भएकै छैन। प्रधानमन्त्रीज्यूले यस्तो कुरा आयो,म अचम्ममा परेँ भन्नुभएको विषयलाई विवादमा ल्याउन खोजियो। प्रधानमन्त्रीज्यूले के भन्नुभएको थियो, एकपटक रेकर्ड सुन्न सकिन्छ।'
प्रधानमन्त्री संसद्प्रति उत्तरदायी रहेको उल्लेख गर्दै उनले आवश्यक परे प्रधानमन्त्री संसद्मा उपस्थित भएर जवाफ दिन सक्ने बताए।
संसद्मा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले आफू प्रधानमन्त्री भएपछि नेपालले भारतको जमिन मिचेको भन्ने कुरा सुन्न पाएको अभिव्यक्ति दिएका थिए। सोही विषयलाई लिएर विपक्षी दलहरूले संसद्मा अवरोध गर्दै आएका छन्।
उनीहरूले नेपालले भारतको जमिन मिचेको प्रमाण सार्वजनिक गर्नुपर्ने अडान राखेका छन्।