: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले क्यानडा क्रिकेट बोर्डलाई निलम्बन गरेको छ । आइसीसीले सोमबार भारतको अहमदाबादमा बसेको बैठकले उक्त निर्णय लिएको हो । क्यानडा क्रिकेट बोर्डले राष्ट्रिय बोर्डको सदस्यको दायित्व उल्लंघन गरेको भन्दै आइसीसीले बोर्डलाई निलम्बन गरेको हो ।
ग्लोबल कभर्निङ काउन्सिल अफ एन्टी करेप्सन युनिटले क्यानडा क्रिकेट बोर्डमाथि गरेको भ्रष्टाचारविरुद्धको जाँच पश्चात आइसीसीले क्यानडालाई निलम्बन गरेको हो । बोर्ड निलम्बनमा परे पनि खेलाडी र टोलीले भने प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् । प्रतियोगितामा टिमलाई सहभागी गराउनको लागि भने आइसीसीले विशेष निकाय बनाउँदै आर्थिक सहयोग गर्ने बताएको छ ।
एन्टी करेप्सन युनिटको अनुसार क्यानडालाई निलम्बन फुकुवा गर्न केहि शर्तहरु पूरा गर्नु पर्ने हुन्छ । त्यससँगै उनीहरूले आफ्नो प्रशासनिक समस्याहरु पनि सुल्झाउनुपर्ने बताइएको छ । यसअघि आइसीसीले गत वर्ष अमेरिकन क्रिकेट बोर्डलाई पनि निलम्बन गरेको थियो । तर अमेरिकन क्रिकेट टिमले हरेक प्रतियोगितामा सहभागिता जनाइरहेको छ ।