: झापाको अर्जुनधारामा एउटा बोलेरो पिकअपमा लोड भएको साल जातका तयारी काठजन्य सामग्रीसहित सशस्त्र प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेस शनिश्चरेका सशस्त्र प्रहरी नायब निरीक्षक अमरबहादुर भुजेलको कमान्डमा खटिएको गस्ती टोलीले अर्जुनधारा नगरपालिका–३ नेपालडाँडा क्षेत्रमा मंगलबार बिहान ७ बजे इलामबाट झापातर्फ आउँदै गरेको मे १ ज ११७८ नम्बरको बोलेरो पिकअपलाई शंकाको आधारमा चेकजाँच गरेको थियो ।
जाँचका क्रममा स्थानान्तरण इजाजत पत्रबिना ओसारपसार गरिएको अन्दाजी २ लाख ३२ हजार २३८ रुपैयाँ बराबरको साल जातको तयारी चिरान काठ ९६ थान सालको झ्यालको चौकट, ६ थान ढोकाको चौकट, २४ थान झ्यालका पल्ला, १४ थान कुर्सी र १ थान टी–टेबल० फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झापाका डीएसपी तथा सूचना अधिकारी सुमन पोखरेलले जानकारी दिए ।
साथै पिकअप चालक इलामको देउमाई नगरपालिका–८ जितपुरका २४ वर्षीय साजन मगर र सहचालक देउमाई–९ जितपुरका ४० वर्षीय सरोज कट्टेललाई समेत नियन्त्रणमा लिएको डीएसपी पोखरेलले बताए । बरामद काठजन्य सामग्री, १० लाखको सवारीसाधन गरी कुल मूल्य १२ लाख ३२ हजार २३८ रुपैयाँ मूल्यांकन तोकेर चालक र सहचालकलाई आवश्यक कारबाहीका लागि मंगलबार बिहान ११ः१० बजे कनकाई सब–डिभिजन वन कार्यालय, सुरुङ्गामा बुझाइसकेको उनको भनाई छ ।