। एसिया–प्यासिफिक क्षेत्रका कृषि उत्साही, युवा नेतृत्वकर्ता तथा विद्यार्थीहरूलाई एउटै मञ्चमा ल्याएर सम्मेलन आयोजना भएको छ ।
‘हिमालदेखि क्षितिजसम्मः महिला सशक्त कृषि विकासका लागि क्षेत्रीय मार्गहरू’ भन्ने विषयवस्तु समेटिएको र भावी कृषि उद्यमी, अनुसन्धानकर्ताहरू तथा युवा विज्ञहरूबीच सार्थक संवाद, क्षेत्रीय सहकार्य र ज्ञान आदान–प्रदानलाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको सम्मेलनमा नेपाल, बङ्गलादेश र इन्डोनेसियालगायत एशिया–प्रशान्त क्षेत्रका युवाहरूबीच कृषि विकासका अनुभव, ज्ञान र उत्कृष्ट अभ्यासहरू आदान प्रदान हुने कृषि र विज्ञानमा सम्बन्धित विद्यार्थीहरूको अन्तर्राष्ट्रिय संघ (आईएएएस) का उपाध्यक्ष कौशल कोइरालाले जानकारी दिए ।
धुलिखेलको काठमाण्डौ विश्वविद्यालयमा ३ दिनसम्म चल्ने कार्यक्रममा क्षेत्रीय रणनीतिक बैठक, विशेषज्ञ सत्र, महिला सशक्तिकरण र जलवायु उत्थानशीलतामा केन्द्रित प्यानल छलफल, प्रदर्शनी र नेटवर्किङका अवसरहरुका बारेमा छलफल हुनेछन् ।
सम्मेलनले भावी कृषि नेताहरूलाई सशक्त बनाउने लक्ष्य लिएको छ । साथै युवा नेतृत्व विकास गर्दै कृषि तथा ग्रामीण विकासमा भावी नेतृत्वका लागि प्रेरणा प्रदान गर्ने र कृषिमा लैङ्गिक समानता, आर्थिक अवसर तथा निर्णय प्रक्रियामा महिलाको पहुँच बढाउने रणनीतिहरूमाथि छलफल गरिने आयोजकले जनाएको छ ।
‘कार्यक्रमको मुख्य उद्देश्य कृषिमा दिगोपन र महिला(युवा नेतृत्वलाई व्यवहारिक प्रगतिमा रूपान्तरण गर्न सक्ने कार्यमुखी छलफलहरूलाई प्रेरित गर्नु तथा नेटवर्क निर्माण मात्र नभई नेपाल र समग्र एसिया–प्यासिफिक क्षेत्रको कृषि क्षेत्रलाई दिगो, समावेशी र आधुनिक दिशातर्फ अघि बढाउने प्रेरणा पनि दिनु हो’, आईएएएसका उपाध्यक्ष कोइरालाले भने, ‘सम्मेलन पछि नेपालले दीर्घकालीन रूपमा कृषि विकास र जलवायु अनुकूलनमा युवाको सक्रिय सहभागिता प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ।’
कार्यक्रमको उद्घाटन गर्दै केयूका स्कुल अफ साइन्सका डीन डा. बेदमणि दाहालले जलवायु परिवर्तन र बिग्रँदै गएको वातावरणसँगै नेपालमा कृषि अभ्यास मार्फत लाखौं मानिसहरूको खाद्य आवश्यकता पूरा गर्नु सधैं चुनौतीपूर्ण भइरहेको बताएका छन् ।
‘हामी नेपालको कृषिको बारेमा कुरा गर्छौं, हामी गर्वका साथ सबै प्रकारका बाली, फलफूल र तरकारीहरूलाई अनुकूल बनाउने विविध भौगोलिक, जलवायु र प्राकृतिक वातावरणको बारेमा बताउँछौं । यद्यपि, कृषि अभ्यास मार्फत लाखौं मानिसहरूको खाद्य आवश्यकता पूरा गर्नु सधैं चुनौतीपूर्ण हुन्छ । जलवायु परिवर्तन र बिग्रँदै गएको वातावरणसँगै चुनौती पनि बढ्दै गएको छ’, दाहालले भने ।
उनले यस्ता भसम्मेलनले कृषि र खाद्य प्रणालीको भविष्यलाई आकार दिने प्रतिभाशाली युवा दिमाग, उदीयमान नेताहरू, अनुसन्धानकर्ताहरू र अभ्यासकर्ताहरू भेट्टाएर वर्तमान अभ्यासहरूलाई निरन्तरता दिनुको सट्टा नवीन, विज्ञानमा आधारित र समावेशी समाधानहरू खोजेर भविष्यको कृषिलाई रूपान्तरण गर्ने बारे सोच्नुपर्नेमा जोड दिए ।
‘कार्यक्रममा सह संयोजक निश्चित खतिवडा, बाह्य सम्बन्धका उपाध्यक्ष दिवस काटेथ, राष्ट्रिय निर्देशक ईश्वर श्रेष्ठ, एशिया प्रशान्त क्षेत्रका क्षेत्रीय निर्देशक बिमल कोइराला, एशिया प्रशान्त क्षेत्रका बाह्य सम्बन्धका उपाध्यक्ष मिर्जा रेडवान लगायतले आफ्ना अनुभव सुनाएका थिए ।