मुख्य समाचार
मधेशको पालिका र वडा अधिवेशनको क्रममा विवाद उत्पन्न
मधेशको पालिका र वडा अधिवेशनको क्रममा विवाद उत्पन्न

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेशको पालिका र वडा अधिवेशनको क्रममा विवाद उत्पन्न भएको छ । पालिका र वडा अधिवेशन गराउने क्रममा विधिविपरीत प्रतिनिधि र नेतृत्व चयन गरिएको भन्दै केन्द्रीय अनुशासन आयोगमा उजुरीहरू परेका छन् ।

तल्लो तहको अधिवेशनको क्रममा सबैभन्दा बढी उजुरी मधेशबाट प्राप्त भएको अनुशासन आयोगले जानकारी दिएको छ । पालिका र वडा तहमा नयाँ नेतृत्व चयन गर्दा विवाद भई उजुरी परेपछि ती स्थानको अधिवेशन रोक्न निर्वाचन समितिले निर्देशन दिएको छ ।

प्राप्त उजुरीहरूमाथि छानबिन र अन्तिम निर्णय हुन बाँकी रहेको जानकारी गराउँदै आयोगका प्रमुख भुवन केसीले निर्वाचन स्थगन गर्न निर्देशन दिएका हुन् ।

मधेशका ८ जिल्लामध्ये पाँच वटामा विवाद देखिएको निर्वाचन आयोगले जानकारी दियो । विवाद भएका सबै स्थानको अधिवेशन रोक्न निर्देशन दिइएको हो । सप्तरी र सिरहामा विवादित वडा र पालिका धेरै रहेको आयोगले बताएको छ । ती दुई जिल्लाका विवादित सबै पालिका र वडाको अधिवेशन अनिश्चितकालका लागि रोकिएको छ ।

महोत्तरीमा जलेश्वर, एकडारा, मतिहानी, मनरा शिस्वा, पिपरालगायत पालिकामा अधिवेशन हुन सकेको छैन । धनुषामा जनकपुर उपमहानगरपालिकासहित जनकनन्दिनी, गणेशमान चारनाथ लगायतका पालिकामा विवाद भएपछि अधिवेशन रोकिएको छ । गणेशमान चारनाथ नगरपालिकाको नगर अधिवेशनका क्रममा देखिएको विवाद समाधान नभएको भन्दै असन्तुष्ट कार्यकर्ताहरूले शुक्रबार जनकपुरधामस्थित जिल्ला पार्टी कार्यालयमा तालाबन्दी समेत गरेका छन् । पार्टी नेतृत्वले निर्वाचन आयोगको निर्देशन र आम कार्यकर्ताको भावना विपरीत विवादित समितिलाई आधिकारिकता दिन खोजेको असन्तुष्ट पक्षको आरोप छ । गणेशमान चारनाथ नगरपालिकामा दुई पक्षले छुट्टाछुट्टै नगर अधिवेशन गरेपछि विवादले उग्र रूप लिएको हो । नगर सभापति राकेश यादवले दुवै पक्षद्वारा गरिएका अधिवेशनहरू खारेज गरी नयाँ मिति तय गरेर निष्पक्ष रूपमा पुनः अधिवेशन गराउनुपर्ने माग राखे।

सर्लाहीको हरिपुर्वा नगरपालिकाको अधिवेशन स्थगित गरिएको छ । अधिवेशन रोक्न निर्देशन दिँदादिँदै पनि नयाँ नेतृत्व चयन गरिए मान्यता नदिने चेतावनी निर्वाचन आयोगले दिएको छ । निर्वाचन आयोगको निर्देशनविपरीत जनकपुर उपमहानगरपालिका अधिवेशन गरिएको छ ।

विधानविपरीत जनकपर उपमहानगरको अधिवेशन १९ जेठमा गरेपछि मधेशमा रास्वपाको आन्तरिक किचलो बढेको छ । वडा सभापतिहरूलाई मात्रै पालिका अधिवेशनको प्रतिनिधि बनाएर जनकपुर उपमहानगरमा निर्वाचित सभापति घोषणा गरिएको थियो ।

२५ मध्ये २१ वडाका सभापतिलाई बोलाएर अधिवेशन गरिएको असन्तुष्ट पक्षको दाबी छ । २१ वडाका सभापतिले गरेको मतदानको आधारमा ललन नायक सभापति चुनिएको घोषणा गरिएको थियो । सभापति पदमा नायकले १६ र अर्का प्रतिस्पर्धी जितेन्द्र महासेठले ५ मत ल्याएको घोषणा गरिएको थियो । सभापतिका आकांक्षी महासेठले उक्त अधिवेशनलाई अस्वीकार गरेका छन् ।

विधिसंगत अधिवेशन नभएको र उम्मेदवारका आकांक्षीको समेत सहमति नलिई भएको अधिवेशन स्वीकार्न नसकिने सभापतिका आकांक्षी महासेठले बताए । ‘अधिवेशनका लागि उम्मदेवारहरूको सहमति थिएन । वडा सभापतिहरूसँग छलफल गर्नु छ भनेर बोलाई अधिवेशन गरेको भनियो,’ महासेठले अनलाइनखबरसँग भने, ‘विधिभन्दा बाहिर गई अधिवेशन गरेर सभापति भएको स्वघोषणा गरिएको छ ।’

रास्वपा विधानअनुसार वडा सभापतिलाई मात्रै प्रतिनिधि बनाएर पालिका अधिवेशन गर्न मिल्दैन । पालिका अधिवेशनका प्रतिनिधिहरू सम्बन्धित पालिका समिति, सल्लाहकार परिषद्, विभाग, वडा समितिका सबै सदस्य हुनुपर्छ । साथै, समावेशिता र सदस्य संख्याको आधारमा प्रतिनिधि थप गर्नुपर्ने हुन्छ ।

जिल्ला, प्रदेश, केन्द्रीय समितिमा रहेका सम्बन्धित पालिकाका व्यक्ति पनि पालिका अधिवेशनका प्रतिनिधि हुने व्यवस्था छ । जिल्ला, प्रदेश, केन्द्रीय विभागमा जिल्लामा प्रतिनिधित्व गर्नेहरू पनि पालिकाको प्रतिनिधि रहने व्यवस्था छ ।

मधेशमा चुनावअघि रास्वपाको संगठन तुलनात्मक रूपमा कमजोर थियो । चुनावमा पहिलो दल बनेसँगै मधेशमा रास्वपाको संगठन विस्तारको क्रम बढेको थियो । चुनाव लगत्तै अधिवेशन गर्न लागेको रास्वपाको तहगत संरचना गठन गर्दा व्यक्तिहरू हावी हुन थालेको नेताहरूले बताएका छन् ।

पालिका र वडा अधिवेशनबाट आफू निकटका व्यक्तिलाई निर्वाचित गराउन मधेशबाट केन्द्रीय समितिमा रहेका र सांसदहरू सक्रिय रहेको एक नेताले जानकारी दिए । ‘वडा र पालिका सभापति आफू निकटको व्यक्ति बनाउन मधेशका धेरैजसो सांसदहरू लागेका छन् । केन्द्रमा पनि त्यस्ता गुनासा आएका छन्,’ ती नेताले भने, ‘आफ्नो मान्छे बनाउन खोज्दा र प्यानल निर्माण गर्दा मधेशमा विवाद बढेको हो ।’

एउटा जिल्लाको पालिका अधिवेशन नै अर्को जिल्लामा पुगेर गरिएको गुनासो पनि आएको छ । रास्वपाको मधेश संगठन विभाग प्रमुख कामिनी चौधरीले महोत्तरीको एउटा पालिकाको अधिवेशन जनकपुरमा भएको भन्दै पार्टीमा गुनासो आएको जानकारी दिइन् ।

मधेशमा गुटगत राजनीति सुरु भएको विश्लेषणसमेत नेता-कार्यकर्ताले गरेका छन् । वीरगञ्ज महानगरपालिकाको अधिवेशन हुँदा पर्साबाट निर्वाचित सांसदहरू फरकफरक व्यक्तिको पक्षमा भित्रभित्रै जिताउन-हराउन लागेको रास्वपा स्रोतले बतायो ।



वीरगञ्ज महानगरको सभापतिमा दीपराज पटेल निर्वाचित भएका छन् । नवनिर्वाचित सभापति पटेल पर्सा-२ का रास्वपा सांसद सुशीलकुमार कानु निकट मानिन्छन् । अन्य पदाधिकारीमा भने जिल्ला सभापति एवं पर्सा-१ का सांसद बुद्धिबहादुर पन्त (हरि) निकट रहेको बताइन्छ ।

उपसभापतिमा अशुतोष दुवै, सचिवमा गौतम श्रेष्ठ, सहसचिवमा मुन्ना साह तेली निर्वाचित भएका थिए । मधेश संगठन विभाग प्रमुख चौधरीले केही ठाउँमा सांसदहरू हावी हुने गरेको सुनिएको बताइन् । उनले भनिन्, ‘सांसदहरू मेरो मान्छे बनाउनु पर्‍यो भनेर खुलेर लाग्नु भएको छैन । भित्रभित्रै लागेको भए जानकारी भएन ।’

अधिवेशन विवादित हुने र गुनासो समेत बढ्न थालेपछि मधेशबाट केन्द्रीय समितिमा रहेका नेता एवं त्यहाँका सांसदहरूले मधेशको सन्दर्भमा नयाँ तरिकाले सोच्नुपर्ने बताउन थालेका छन् । सभापति रवि लामिछाने स्वदेश फर्केपछि अधिवेशनबारे निर्णय हुन सक्ने एक केन्द्रीय सदस्यले बताए ।

उनले भने, ‘विधि मिचेर आफूखुसी आफ्ना मान्छेलाई पद बाँडिएको छ । तिनीहरूकै आधारमा नेतृत्व चयन भएको प्रचार भएको छ । विधान मिचेर भएको अधिवेशन मान्न सकिँदैन ।’

बाराका संस्थापक सभापति चन्दन स्वर्णकारलाई पार्टीले बर्खास्त गरेपछि त्यहाँ पनि संगठन निर्माण र अधिवेशनमा समस्या रहेको नेताहरूले बताएका छन् ।

केन्द्रबाट नेता खटाएर जिल्ला र पालिका अधिवेशनको नयाँ मिति तय गरी बारामा संगठन निर्माणको काम भइरहेको छ । केन्द्रीय सदस्य एवं सांसद शिव यादवले कतिपय व्यक्तिले आफ्नो स्वार्थ पूर्ति गर्न लाग्दा अधिवेशनको प्रक्रियामा समस्या आएको बताए । विधानभन्दा बाहिर रहेर अधिवेशन गर्न लागिएका स्थानको उजुरी निर्वाचन आयोग र अनुशासन समितिमा पुगेकोसमेत केन्द्रीय सदस्य यादवले जानकारी गराए ।

‘पार्टीप्रति आर्कषण बढेर जस्तो मान्छे पनि आउँदा अलि समस्या भएको छ । तर हामी सम्हाल्छौं,’ यादवले अनलाइनखबरसँग भने । विधिसंगत अधिवेशन हुन नसकेका स्थानमा महाधिवेशनपछि नयाँ निर्वाचित समिति आउने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कृषि, वन तथा वातावरण मन्त्रालयले मुलुकमा बढ्दै गएको मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्न सर्वसाधारण तथा विज्ञबाट सुझाव मागेको छ । मन्त्रालयले आगामी १५ दिनभित्र आफ्ना सुझाव उपलब्ध गराउन अनुरोध गरेको हो । मन्त्रालयको ४ जेठको निर्णय अनुसार गठित ‘मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदल’ ले यससम्बन्धी काम अघि बढाएको छ । कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय, राष्ट्रिय ...
। सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयको सभा (सिनेट) बाट केन्द्रीय क्याम्पसको स्ववियू सभापतिलाई पदेन सदस्यबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । त्रिभुवन विश्वविद्यालयको सभामा केन्द्रिय क्याम्पसका सभापति पदेन रुपमा सभाको सदस्यको रुपमा उपस्थित हुने व्यवस्था थियो । सरकारले जारी गरेको अध्यादेशमा स्ववियू सभापति पदेन सदस्य हुने व्यवस्था हटाइएको थियो । उक्त व्यवस्थाविरुद्ध स्ववियू ...
। झापाको दमकमा युवतीको हत्या गरेर बोरामा हाली खोलामा फालेको घटनाका अभियुक्त पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले बिहीबार राति अभियुक्त पक्राउ परेको पुष्टि गरेको छ । झापको दमक नगरपालिका–१० स्थित रतुवामाई खोलाको पुलमुनि जेठ १६ गते सेतो बोरामा पोको पारी राखिएको अवस्थामा एक युवतीको शव फेला परेको थियो । सो शव दमक–८ बसन्त टोल ...
। काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट खैरो हेरोइनसहित १० जना पक्राउ परेका छन् । नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले लागुऔषध खैरो हेरोइनको कारोबारमा संलग्न रहेको आरोपमा ती १० जना पक्राउ परेको जनाएको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ का ३० वर्षीय आयुष श्रेष्ठ, बाराको सिम्रौनगढ नगरपालिका–८ का २३ वर्षीय निराजन कुमार, काठमाडौं महानगरपालिका–१९ का ३७ वर्षीय ...
। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुमवासीको बस्ती हटाएका सरकारप्रति आक्रोश व्यक्त गरेका छन् । पार्टीनिकट युवा तथा विद्यार्थी विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारले सुकुमवासीलाई विस्थापित गरिरहँदा आफूले बिजुली दिएको बताएका हुन् । ‘सुकुमवासी समस्या उहाँहरूले जुन किसिमले सम्बोधन गर्न खोज्नुभयो त्यो मानवीय र कानूनी दृष्टिकोणले त्यो ठीक होइन भनेर हामीले विरोध ...