मुख्य समाचार
उत्तर कोरिया भ्रमण गर्दै सी जिनपिङ
उत्तर कोरिया भ्रमण गर्दै सी जिनपिङ

चिनियाँ राष्ट्रपति सी जिनपिङले यसअघि उत्तर कोरिया भ्रमण गर्दा त्यहाँका शासक किम जोङ उन संकटमा थिए । अमेरिकी प्रतिबन्धका कारण किम निकै दबाबमा थिए ।

अमेरिकासँगको आणविक वार्ता असफल हुँदा उत्तर कोरियाले त्यस्तो दबाब झेल्नुपरेको थियो ।

अहिले त्यसको करिब सात वर्ष बितिसकेको छ । चिनियाँ राष्ट्रपति सी सोमबार फेरि उत्तर कोरिया जाँदैछन् । अहिले उनले पहिले कमजोर देखिएका किमलाई थप शक्तिशाली पाउनेछन् ।

अहिलेका किम रुससँगको नयाँ गठबन्धनका कारण बलियो भएका छन् । रुससँगको यो सम्बन्धले उत्तर कोरियाली अर्थतन्त्रलाई ठूलो मद्दत गरेको छ । रुससँगको सहयात्राले उत्तर कोरियाली अर्थतन्त्र एक्लोपनबाट बाहिर निस्किएको छ ।

यसपटक सी र किमबीच दुई दिने शिखर वार्ता हुँदैछ । सीले यस वार्तालाई पश्चिमा देशहरूविरुद्ध बलियो एकता देखाउने माध्यम बनाउन चाहेका छन् । उनी आफ्ना सहयोगीहरू एकजुट छन् भन्ने सन्देश दिन चाहन्छन् ।

तर, विश्लेषकहरूको भनाइ फरक छ । उत्तर कोरिया पछिल्लो समय रुसतर्फ बढी ढल्किएको छ । चीन आफ्नो यो छिमेकी देशमाथि आफ्नै प्रभाव कायम राख्न उत्सुक छ । त्यही कारण पनि सी यसपटक उत्तर कोरिया जान लागेका हुन् ।

अर्कातर्फ उत्तर कोरियाली राष्ट्रपति किम चिनियाँ कूटनीतिमा कम प्राथमिकतामा पर्न चाहँदैनन् । उनी चीनको जुनियर साझेदार मात्र बनेर बस्ने पक्षमा पनि छैनन् । उनले बेइजिङबाट थप आर्थिक सुविधा लिन चाहेका छन् । यसका लागि उनले रुससँगको आफ्नो पछिल्लो निकटतालाई बार्गेनिङको रूपमा प्रयोग गर्ने सम्भावना छ ।

उत्तर कोरियाका दुई वटा ठूला छिमेकी देश रुस र चीन छन् । किमले यी दुवै देशलाई सन्तुलनमा राख्न सक्छन् । यस्तो अवस्थामा किमले आफ्नो आणविक हतियार कार्यक्रमलाई अझ बढाउनेछन् । यसले उक्त क्षेत्रमा थप अस्थिरता निम्त्याउन सक्छ ।

त्यो क्षेत्रमा अमेरिकाका सहयोगी देशहरू छन् । उनीहरू चीनको बढ्दो सैन्य क्षमताका कारण पहिलेदेखि नै त्रसित छन् । अमेरिका अहिले इरानसँगको युद्धमा व्यस्त छ । यस युद्धका कारण अमेरिकाका संशाधन सकिँदै गएका छन् । त्यसैले वासिङ्टनले आफ्ना रक्षा सम्झौता पालना गर्न सक्ला कि नसक्ला भन्ने चिन्ता उनीहरूमा थपिएको छ ।

किमसँग एकता चाहेका सी

सी किमसग एकता प्रदर्शन गर्न चाहन्छन्, तर त्यसका लागि उनले किमलाई फकाउन पनि पर्नेछ ।

सीले किमसँगको आफ्नो दुर्लभ पहुँचलाई विश्वलाई एउटा कुरा सम्झाउन प्रयोग गर्ने सम्भावना छ । उत्तर कोरिया अझै पनि चीनमाथि नै निर्भर छ र बेइजिङलाई किनारा लगाउन सकिँदैन भन्ने सन्देश उनी दिन चाहन्छन् ।

यो सन्देश चीनलाई अमेरिकासरहको महाशक्तिका रूपमा प्रस्तुत गर्ने सीको प्रयाससँग जोडिन्छ । वासिङ्टनले संसारमा अराजकता फैलाइरहेको छ, भन्ने देखाउन चीन लागिपरेको छ ।

अमेरिकाले इरानसँग युद्ध गरेर वा आफ्ना सहयोगी र विरोधी दुवैमाथि ट्यारिफ शुल्क लगाएर अराजकता सिर्जना गरेको चीनको बुझाइ छ ।

यसको विपरीत बेइजिङ भने विश्वमा स्थायित्व कायम गर्ने शक्ति हो भन्ने छाप पार्न सीको प्रयास छ । सीले हालै बेइजिङमा राष्ट्रपति ट्रम्प र त्यसपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गरेका शिखर वार्ताहरूले पनि यसै कुरालाई बल पुर्‍याएका थिए ।

‘राष्ट्रपति ट्रम्पको आफ्ना लोकतान्त्रिक साझेदारहरूसँग जस्तो सम्बन्ध छ, त्योभन्दा आफ्नो अधिनायकवादी समूहका सदस्यहरूसँग आफ्नो राम्रो सम्बन्ध रहेको देखाउन सीले प्रयास गरिरहेका छन्,’ जो बाइडेनको राष्ट्रपतिकालमा उप–विदेशमन्त्री रहेका तथा एसिया ग्रुपका अध्यक्ष कर्ट क्याम्पबेलले भन्छन् ।

उत्तर कोरियाले सन् २०२४ मा रुससँग शीतयुद्धकालीन पारस्परिक रक्षा सम्झौतालाई ब्युँताएको थियो । यसबाट उसले चीनमाथिको आफ्नो निर्भरतालाई कम गरेको छ ।

रुसले उत्तर कोरियालाई निकै आवश्यक परेको तेल, खाद्यान्न र हतियार प्रविधि उपलब्ध गराएको छ । त्यसको बदलामा उत्तर कोरियाले युक्रेन युद्धका लागि रुसलाई आफ्ना सैनिक र गोलाबारुद दिएको छ ।

यसले चीनका लागि टाउको दुखाइ पैदा गरिदिएको छ । चीन उत्तर कोरियामाथि आफ्नो प्रभाव कायम राख्न चाहन्छ । उसले उत्तर कोरियाको अस्थिर व्यवहारलाई नियन्त्रण गर्न र आफ्नो सीमानामा स्थिरता सुनिश्चित गर्न यस्तो चाहेको हो ।

‘चिनियाँहरू उत्तर कोरिया र रुसको सम्बन्ध निकै नजिकिँदै गएको विषयमा चिन्तित छन् भन्ने कुरामा कुनै शङ्का छैन,’ उत्तर–पूर्वी एसियाका इतिहासकार जोन डेलुरी भन्छन्, ‘यो भ्रमणले त्यसलाई केही हदसम्म रोक्न मद्दत गर्छ र यो सीका लागि आफूलाई पुन: समीकरणमा फर्काउने एउटा माध्यम हो ।’

निरन्तर सफलताको मार्गमा किम

केही वर्षअघिसम्म किमको अवस्था निकै कमजोर देखिएको थियो । सन् २०१९ मा अमेरिकाले उत्तर कोरियासँगको आणविक वार्ता बीचमै छाडिदिएको थियो । जसले अमेरिकी प्रतिबन्ध हट्ने किमको आशामा तुषारापात भएको थियो ।

त्यसपछि किमले कोभिड–१९ को महामारीका कारण देशको सिमाना पूर्ण रूपमा बन्द गरिदिए । सिमाना बन्द भएसँगै उत्तर कोरियाले आफ्नो देशलाई विश्वबाट एक्लो भयो । जसले उत्तर कोरियाका लागि सामान र विदेशी मुद्राको मुख्य स्रोत रहेको चीनसँगको व्यापारलाई ठप्प पारेको थियो ।

महामारीको असर कम भएपछि भने किमको भाग्य चम्किन थाल्यो । उनले युक्रेन युद्धमा रुसले भोगिरहेको अप्ठेरो परिस्थितिको फाइदा उठाए । उनले मस्कोसँगको सम्बन्धलाई बलियो बनाए ।

त्यसअघि चीनतर्फ बढी ढल्किएको उत्तर कोरियाको विदेश नीतिलाई उनले रुसतर्फ ढल्काएर मस्कोलाई हतियार र सैनिकहरू उपलब्ध गराए । त्यसको बदलामा रुसले उत्तर कोरियालाई अर्बौँ डलर बराबरको तेल, खाद्यान्न, हतियार प्रविधि र अन्य सहायता दियो ।

अहिले सीले किमसँग भेट गरेर उत्तर कोरियाको मुख्य सहयोगी चीन हो भन्ने कुरा सम्झाउन कोसिस गर्नेछन् । त्यसको प्रारम्भिक सिलसिलास्वरुप चीनले गत मार्चमा बेइजिङ र प्योङयाङबीचको रेल सेवा र उडान पुन: सुरु गरिदिएको छ ।

ट्रम्प, अमेरिका र आणविक हतियार

सी र किमबीचको भेटवार्तामा अमेरिका, राष्ट्रपति ट्रम्प र आणविक हतियारको विषयमा हुने छलफल भने अत्यधिक चासोको विषय हुनेछ । सीले किमलाई अमेरिकासँग संवाद गर्न दबाब दिन्छन् कि दिँदैनन् भन्ने विश्वव्यापी कौतुहलता छ ।

ह्वाइट हाउसमा फर्किएदेखि नै अमेरिकी राष्ट्रपति ट्रम्पले किमसँग अर्को शिखर वार्ता गर्ने आफ्नो चाहनालाई बारम्बार प्रकट गरेका छन् ।

ट्रम्पले सीमार्फत किमलाई कुनै सन्देश पठाउनसक्ने सम्भावना पनि रहेको बताइन्छ । तर, किम भने आणविक कार्यक्रमबारे वासिङ्टनसँगको कुनै पनि संवाद गर्न अस्वीकार गरिरहेका छन् ।

किमले सुरक्षाका लागि मस्को र बेइजिङमाथिको निर्भरता कम गर्न आणविक कार्यक्रमलाई महत्व दिँदै आएका छन् । सँगै ण्उनले यसलाई अमेरिकी आक्रमणविरुद्धको एउटा बलियो ढाल पनि मानेका छन् ।

ट्रम्प प्रशासनले इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्ने बहानामा त्यहाँ आक्रमण गरेपछि किमको यो सोचाइ अझ बलियो बनेको छ ।

अहिले किमले चीन र रुसलाई आफ्नो आणविक कार्यक्रमको ढाल बनाउने कोसिस गरिरहेका छन् । यसअघि दुवै देशले उत्तर कोरियाको आणविक कार्यक्रम रोक्ने अमेरिकी प्रयासलाई साथ दिँदै आएका थिए । दुवै देशले सन् २०१६ र २०१७ मा संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले उत्तर कोरियामाथि कडा प्रतिबन्ध लगाउने प्रस्ताव गर्दा अमेरिकासँगै पक्षमा मतदान गरेका थिए ।

अहिले रुसले उत्तर कोरियासँग रक्षा सम्झौतामा हस्ताक्षर गरेपछि रुसले त्यसमा मौन स्वीकृति दिएको देखिएको छ ।्

उत्तर कोरियासँग अहिले नै करिब ५० वटा आणविक हतियार (वारहेड्स) रहेको अनुमान गरिएको छ । तर, उसँग अझै पनि ती हतियार प्रहार गर्न अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल बनाउन प्रविधि छैन ।

चीनले आधिकारिक रूपमा उत्तर कोरियालाई आणविक हतियारसम्पन्न देश मान्न अस्वीकार गर्दै आएको छ । उत्तर कोरिया आणविक हतियारले सुसज्जित हुँदा दक्षिण कोरिया जस्ता अमेरिकी सहयोगी देशहरूले पनि आफ्नै आणविक हतियार बनाउन खोज्ने चिन्ता चीनलाई छ ।

तर विश्लेषकहरूका अनुसार, चीनको यो अडानमा हालैका दिनहरूमा केही परिवर्तन आएको छ । गत सेप्टेम्बरमा बेइजिङमा सी र किमबीच भेटवार्ता भएको थियो ।

त्यतिबेला दुवै सरकारका आधिकारिक विज्ञप्तिहरूमा कोरियाली प्रायद्वीपबाट आणविक हतियार हटाउने बारे कुनै उल्लेख थिएन ।

गत महिना ह्वाइट हाउसले ट्रम्प र सी दुवैले ‘उत्तर कोरियालाई आणविक हतियारमुक्त बनाउने आफ्नो साझा लक्ष्य रहेको’ घोषणा गरेका थिए । तर चिनियाँ सरकारले भने यस विषयमा अलि फरक र शान्त प्रतिक्रिया दिएको थियो । चीनले उनीहरूबीच कोरियाली प्रायद्वीपको विषयमा केवल ‘विचार आदानप्रदान’ भएको मात्र बताएको थियो ।

–न्युयोर्क टाइम्सको भावानुवाद

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दक्षिण एसियाका दुई परमाणु शक्ति भारत र पाकिस्तानको विदेश सम्बन्धबारे आफ्नो समीक्षा सुनाएका छन् । जसमा उनले भारतको साझेदारी अमेरिकासँग जतिसुकै बढेपनि मस्कोसँग लामो समयदेखि चल्दैआएको सम्बन्ध कमजोर हुन नसक्ने दाबी गरेका छन् । भारत शीतयुद्धकालदेखि नै सोभियत संघको व्यावसायिक तथा रणनीतिक साझेदार रहँदैआएको थियो । स्वतन्त्र भएदेखि भारतले रुससँग सैन्य ...
। अमेरिकी संसद्को तल्लो सदनले रुसमाथिको प्रतिबन्धलाई अझ कडा पार्ने र युक्रेनलाई थप सैन्य सहायता उपलब्ध गराउने सम्बन्धी एउटा विधेयक पारित गरेको छ। बिहीबार भएको मतदानमा यो विधेयकको पक्षमा २२६ र विपक्षमा १९५ मत परेको थियो। हाउस फरेन अफेयर्स कमिटीका वरिष्ठ डेमोक्र्याट सदस्य ग्रेगरी मिक्सले यो विधेयक दर्ता गराएका हुन्। विधेयकमा रुस र युक्रेनबीचको युद्धको अवस्थाबारे नियमित ...
। इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ। इरानी समाचार एजेन्सी तस्निमका अनुसार, विदेशमन्त्री अब्बास अराघचीले इरानको अडान पूर्ण रूपमा स्पष्ट रहेको बताएका छन्। देशमाथि कुनै पनि प्रकारको हमला वा दबाब दिइएमा तेहरानले आफ्नो सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षाका लागि आवश्यक कदम चाल्नेछ। उता, ट्रम्प प्रशासनले ...
। लद्दाखका वातावरण अभियन्ता तथा शिक्षाविद् सोनम वाङ्चुकले कक्रोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजीत दीपकेको दिल्ली विमानस्थलमै पक्राउ पर्न सक्ने आशंका व्यक्त गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै वाङ्चुकले समर्थकहरूलाई शान्त र संयमित रहन आग्रह गरेका हुन्। उनले ‘राम्रोको आशा गरौँ, तर खराब परिस्थितिका लागि पनि तयार रहौं’ भन्दै आन्दोलनलाई भारतको इतिहासकै सबैभन्दा शान्तिपूर्ण ...
। युक्रेनी सेनाले रूसको सिमानामा पर्ने कुर्क्स क्षेत्रमा गरेको आक्रमणमा परि ५०७ जना सर्वसाधारणको मृत्यु भएको छ। कुर्क्स क्षेत्रका गभर्नर अलेक्जेंडर खिन्स्टाइनले रूसी समाचार एजेन्सी टाससँग कुरा गर्दै यस दुःखद् घटनाको पुष्टि गरेका हुन्। सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चका क्रममा पत्रकारहरूसँग बोल्दै गभर्नर खिन्स्टाइनले यो घटनालाई आफ्नो क्षेत्रको सबैभन्दा गम्भीर र दुःखद परिणाम बताएका छन्। उनका अनुसार पछिल्लो ...