मुख्य समाचार
'सीमा विवाद कुटनीतिक संयन्त्रबाटै सुल्झाइन्छ'
'सीमा विवाद कुटनीतिक संयन्त्रबाटै सुल्झाइन्छ'

: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमण पूरा गरी शुक्रबार साँझ स्वदेश फर्किएका छन्। झन्डै दुईतिहाइ नजिकको वर्तमान सरकार गठन भएपछि पहिलोपटक छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा गएका लामिछानेले आफ्नो भ्रमणबाट नेपाल–भारत सम्बन्ध ‘रिसेट’ गर्न मद्दत पुग्ने दाबी गरेका छन्।

भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा गएका सभापति लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भ्रमण पूर्ण रूपमा पारदर्शी र स्पष्ट गन्तव्यसहितको रहेको जिकिर गरे। कार्यवाहक राजदूतको उपस्थितिमै विभिन्न द्विपक्षीय संवादहरू भएको जानकारी दिँदै उनले यसअघिका अपारदर्शी र लुकीछिपी गरिने सम्बन्धभन्दा यो भ्रमण फरक रहेको बताए।

भ्रमणका क्रममा दुई देशबीचको संवेदनशील मानिएको सीमा विवादबारे सोधिएको प्रश्नमा सभापति लामिछानेले कूटनीतिक माध्यम र सम्बन्धित च्यानलहरूलाई सक्रिय बनाएर चरणबद्ध रूपमा उठाइने बताए। लोकप्रियताका लागि सार्वजनिक रूपमा हल्ला गर्ने प्रवृत्तिको आलोचना गर्दै उनले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए। ‘कुनै पनि विषय कूटनीतिको माध्यमबाट, डिप्लोमेटिक च्यानल एक्टिभ गराएर गरिने कुरा सबैभन्दा महत्वपूर्ण हुन्छ। तिनको आवाज हल्ला गरेजस्तो ढोल बजाएर हुँदैन। ढोल नबजाइ आफ्नो देशका बारेमा गर्ने कुराहरू गर्नुपर्ने ठाउँमा चरणबद्ध तरिकाले गर्नुपर्ने हुन्छ,’ लामिछानेले भने।



अभियन्ता, पत्रकार र राजनीतिक दलले उठाउने विषयको संवेदनशीलता फरक हुने उल्लेख गर्दै उनले राष्ट्रिय हितका विषयमा परिपक्व र जिम्मेवार ढंगले अघि बढ्नुपर्ने बताए। साथै, नयाँ सरकार बनेको धेरै समय नभएकाले सीमालगायत दीर्घकालीन विषयमा काम गर्ने पर्याप्त अवसर बाँकी नै रहेको उनको भनाइ थियो।

विमानस्थलमा सञ्चारकर्मीहरूले लामिछानेलाई ‘अब तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ? ’ भनी सोधेको प्रश्नमा उनले सीधा जवाफ दिन इन्कार गरे। प्रतिपक्षी दलहरूले गरेका टिप्पणीप्रति लक्षित गर्दै उनले भने, ‘म केही भन्न चाहन्नँ। निर्वाचन अगाडि हामीले लेखेको कागज एकपटक पढ्न आग्रह गर्न चाहन्छु।’

आफ्नो पार्टीलाई जनताले राजनीतिक स्थिरताका लागि मतदान गरेको र रास्वपा सोही वाचामा अडिग रहने स्पष्ट पार्दै उनले आफूहरू कुनै पनि हालतमा राजनीतिक अस्थिरताको पक्षमा नरहेको दाबी गरे। नयाँ सरकार गठन भएसँगै मित्र राष्ट्रसँग लगानी, सहकार्य र वर्षौंदेखिको सद्भावपूर्ण सम्बन्धका आधारमा मुलुकले कस्तो लाभ लिन सक्छ भन्नेबारे भ्रमणका क्रममा छलफल सुरु भएको उनले बताए।

‘परराष्ट्रकै जवाफ आधिकारिक’

प्रधानमन्त्री वालेन्द्र शाह दिएको अभिव्यक्ति र त्यसपछि उत्पन्न विवादबारे टिप्पणी गर्दै लामिछानेले परराष्ट्र नीति र छिमेकी सम्बन्ध कुनै पार्टी विशेषको नभई राष्ट्रको हुने स्पष्ट पारे। प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले जारी गरेको आधिकारिक स्पष्टीकरण र विज्ञप्ति नै सरकारको औपचारिक दृष्टिकोण भएको भन्दै उनले यस विषयमा आफ्नो छुट्टै धारणा आवश्यक नरहेको बताए।

विदेशमा रहेका नेपालीहरूको समस्या समाधानका लागि पनि दुई देशबीच रहेका विभिन्न द्विपक्षीय संयन्त्रहरूलाई थप सक्रिय बनाउनुपर्नेमा उनले जोड दिए। नेपाल र भारतबीच धार्मिक, सांस्कृतिक, आर्थिक तथा लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्ने पर्याप्त सम्भावना रहेको औंल्याउँदै लामिछानेले आफूले एक लेखमार्फत सहकार्यको खाका समेत प्रस्तुत गरिसकेको जानकारी दिए।

जेठ १८ गते भारत प्रस्थान गरेका लामिछानेले भ्रमणका क्रममा राजनीतिक भेटघाटलाई तीव्र पारेका थिए। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर, गृहमन्त्री अमित शाह र भाजपा अध्यक्ष नितिन नवीनसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गरेका थिए। यसका साथै उनले भारत भ्रमणकै क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरसँग पनि भेटेका थिए।

रवि नेतृत्वको उक्त भ्रमण टोलीमा रास्वपा सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, प्रदीप आचार्य र सभापति पत्नी निकिता पौडेल सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले कानुन निर्माण गर्दाखेरी राष्ट्र, राष्ट्रियता र जनजीविकाको सवालमा गम्भीर हुनुपर्ने बताएका छन् । कैलालीको टीकापुरमा आजदेखि शुरु भएको अन्तर व्यवस्थापिका सम्मेलनमा बोल्दै सभामुख अर्यालले सो कुरा बताएका हुन् । ‘जनताको जनजीविकासँग जोडिएका विषयहरुमा हामीले निर्माण गर्ने कानुनमा कतिको चासो दिइरहेका छौं, ती कानुन जनताको मागसँग सम्बन्धित छन् कि ...
: सर्वोच्च अदालतले नेपाल वायुसेवा निगममा मनोनीत गरिएका पाँच सञ्चालक समिति सदस्यको नियुक्ति प्रक्रिया तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत वैशाख ३१ गते निगमको सञ्चालक समितिमा पाँच सदस्य नियुक्त गर्ने निर्णय गरेको थियो। सञ्चालक समिति सदस्य चयन प्रक्रिया पारदर्शी नभएको ठहर गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको ...
: मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ धारा ढोला (खोल्सा) स्थित दक्षिणकाली सडक खण्डमा सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । शनिबार दिउँसो हेटौडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ७२०७ नम्बरको सुमो र बिपरित दिशातर्फबाट आउँदै गरेको बिएए ९७६८ नम्बरको बोलेरो गाडी एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा १४ जना घाइते भएका ...
: जिल्ला अधिवेशनमा कति प्रतिनिधि सहभागी हुने हो ? टुंगो नलाग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशन भईरहेको छ । जसका लागि धनगढीमाई नगरपालिकाको जिरोमाईलमा तयारी तीव्र पारेका छन् । १७ वटा पालिकामध्ये ३ वटामा पालिका अधिवेशन विवादका कारण सम्पन्न हुन सकेको छैन । १६४ वटा वडामध्ये १८ वटा वडामा अधिवेशन भएको छैन । जिल्ला ...
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले किसान–मजदुरका समस्या, जनजीविका, सुशासन, पारदर्शिता तथा विकास निर्माण लगायतका विषयमा ध्यानाकर्षण गराउँदै झापाका १५ वटै पालिकामा ज्ञापनपत्र बुझाएको छ। राप्रपा जिल्ला कार्य समिति झापाको पूर्वघोषित कार्यक्रममा अनुसार शुक्रबार दिउँसो जिल्लाभरका पालिकाहरूलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको हो। यसै क्रममा राप्रपा भद्रपुर नगर समितिले किसान, मजदुर, विपन्न वर्ग, सुशासन, विकास निर्माण, स्वास्थ्य, शिक्षा ...