। पूर्वगृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्तिको छानबिनपछि सफाइ पाएर आफूले फेरि जिम्मेवारी पाउनेमा आशावादी देखिएका छन् ।
आइतबार रास्वपा गोरखाको अधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई फेरि त्यही (गृहमन्त्री)कै जिम्मेवारी दिइयो भने दुई महिनामा धेरै काम गरेर देखाउने बताएका हुन् ।
‘मलाई फेरि त्यो जिम्मेवारीमा इच्छाउनुहुन्छ, काबिल देख्नुहुन्छ भने म त्यो पदमा गइहालेँ भने पनि मलाई अलिकति समय दिनु,’ उनले भने, ‘दुई महिनाजति समय दिनु । त्यतिखेर फोटो खिच्ने र माला लगाउने, खादा लगाउने, बधाई दिने कार्यहरू नगरौँ । मन्त्रालय धाउने काम नगरौँ ।’
उनले आफू फेरि गृहमन्त्री बनिहाले दुई महिनाको समयमा धेरै कामको सुरुवात गर्ने पनि बताए ।
‘दुई महिना समय दिनुहोला म त्यतिखेर सबैकुराहरू स्टाब्लिस गरिदिन्छु । त्यसपछि पनि भएन भने बाबु तिम्ले बोलेको कुरा भएन है भन्नुहोला,’ उनले भने ।
उनले आफूले आफ्नो धरातल नबिर्सिएको र मतदाताको मतको सम्मान गरिरहने पनि बताए ।