। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नेपाल सरकारले खाद्य स्वच्छतालाई सुदृढ बनाउन खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेको बताएकी छन्।
विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै मन्त्री मेहताले उक्त कुरा बताएकी हुन्। यस वर्षको विश्व खाद्य स्वच्छता दिवस ‘सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको समाधान’ भन्ने मूल नाराका साथ मनाइँदैछ।
आफ्नो शुभकामना सन्देशमा मन्त्री मेहताले खाद्यजन्य रोगहरू आजको विश्वका लागि गम्भीर जनस्वास्थ्य चुनौती बनेको उल्लेख गरेकी छन्।
विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनलाई उद्धृत गर्दै उनले भनिन्, ‘प्रत्येक वर्ष करिब ६० करोड मानिसहरू दूषित खानाका कारण बिरामी पर्ने र ४ लाख २० हजारले अकालमा ज्यान गुमाउनुपर्ने दुःखद वास्तविकता छ। त्यसैले, हामीले उपभोग गर्ने खाद्य पदार्थहरू भौतिक, रासायनिक र जैविक जोखिमबाट मुक्त हुन अनिवार्य छ।’
स्वच्छ खानपानको सुनिश्चिततामार्फत जनस्वास्थ्यमा सुधार ल्याउन नेपाल सरकार सदैव प्रतिबद्ध रहेको कुरामा उनले जोड दिएकी छन्। ऐन कार्यान्वयनका साथै सरकारले खाद्य परीक्षण प्रयोगशालाहरूको सबलीकरण, जोखिममा आधारित बजार अनुगमन र नीतिगत सुधारका कार्यहरूलाई समेत तीव्रता दिएको मन्त्री मेहताले जानकारी दिइन्।
खाद्य पदार्थको उत्पादनदेखि उपभोगसम्मको सम्पूर्ण शृङ्खलामा स्वच्छता कायम राख्नु सबैको साझा जिम्मेवारी भएको बताउँदै उनले असल कृषि अभ्यास, असल उत्पादन अभ्यास र उचित भण्डारण जस्ता विधिहरू अवलम्बन गर्नुपर्नेमा जोड दिएकी छन्। यस्ता अभ्यासहरूले बजारमा गुणस्तरीय खाद्य पदार्थको उपलब्धता सुनिश्चित गर्नुका साथै अस्वस्थकर खानपानबाट हुने मानवीय क्षति र आर्थिक भारलाई समेत कम गर्ने उनको विश्वास छ।
यस विशेष दिनले खाद्य शृङ्खलामा आबद्ध उत्पादक, व्यवसायी तथा उपभोक्ता लगायत सबै सरोकारवालाहरूलाई स्वच्छ खानपानको महत्त्व आत्मसात् गर्न र आ-आफ्नो भूमिकाप्रति थप जिम्मेवार बन्न प्रेरणा मिलोस् भन्दै मन्त्री मेहताले शुभकामना व्यक्त गरेकी छन्।