। बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई बस चढाउन नमान्ने एक जना बस चालकलाई कास्की प्रहरीले कारबाही गरेको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. ३२ लेखनाथमा एकजना बौद्धिक अपाङ्गता भएका व्यक्तिले सार्वजनिक सवारी साधन रोक्न खोज्दा नरोकी हिँडेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । ती व्यक्तिले पनि सम्बन्धित निकायको ध्यानाकर्षण होस् भन्ने व्यहोराको भिडियो पोष्ट गरेका थिए ।
त्यसपछि कास्की प्रहरीले सो बसको खोजी थालेको थियो । जिल्ला प्रहरी कार्यालयले खोजतलास तथा आवश्यक कारवाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीलाई अनुरोध गरेको थियो । त्यसपछि ग २ ख २२५५ नम्बरको सार्वजनिक बस भएको पत्ता लागेपछि त्यसलाई नियन्त्रणमा लिइएको थियो ।
बस चालकलाई आवश्यक ट्राफिक जरिवाना गरी अब आइन्दा फरक क्षमता भएका, बौद्धिक अपाङ्गता भएका तथा वृद्धवृद्धाहरुलाई विशेष प्राथमिकता दिने सहमति जनाई छाडिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वीरेन्द्र कुमार पासवानले जानकारी दिए ।