। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको सुशासन र आर्थिक संरचना सुधारका लागि ठूलो परिवर्तन गर्ने लक्ष्यका साथ आफूहरू अगाडि बढेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा उनले विगतमा जस्तो नीतिगत तहमा हुने ‘पोलिसी कब्जा’ र माइक्रो सिण्डिकेटहरूको अन्त्य गर्नेगरी सरकार अघि बढेको बताएका हुन् ।
पुराना अभ्यासबाट फाइदा लिइरहेकाहरू अहिले अत्तालिएर भ्रम फैलाउन लागेको उनको टिप्पणी छ ।
डा. वाग्लेले अबको अर्थतन्त्र ‘लेभल प्लेइङ्ग फिल्ड’ र प्रतिष्पर्धामा आधारित हुने बताउँदै त्यो छटपटी धेरै नटिक्ने पनि बताए ।
राजनीतिक संयन्त्र, आर्थिक संरचना र नियामक निकायहरू कुनै व्यक्ति विशेष वा भ्रष्ट राजनीतिज्ञको कब्जामा रहने दिन सकिएको पनि उनको भनाइ छ ।
यस्तो छ उनको भनाइ
बजेटमा सुशासन बिग हिट नै भनेका छौँ । त्यसैले यसमा म्याइक्रो सिण्डिकेटहरू तोड्ने हो । पोलिसी कब्जाको जुन पुरानो अभ्यास थियो, त्योबाट हामी अब धेरै नै अगाडि आइसकेका छौँ । योबाट अत्तालिएकाहरूले अहिले केही भ्रमहरू छर्ने काम पनि गरिरहेका छन् । त्यो अन्तिम छटपटी हो जस्तो मलाई लाग्दछ । त्यसैले हामी अब लेभल प्लेइङ्ग फिल्ड, कम्पिटिसन गर्छ । रेगुलेटरी निकायहरूमा स्वच्छ, क्लिन, सक्षम मान्छेहरू आउँछन् । अब हाम्रो राजनीतिक संयन्त्र, हाम्रो आर्थिक संरचनाहरू, नियामकीय निकायहरू कुनै व्यक्ति विशेषको कब्जामा जाने, राजनीतिक, भ्रष्ट राजनीतिज्ञहरूको चाहिँ अवाञ्छित प्रभावमा चल्ने दिनहरू चाहीँ अब सकिए ।
त्यसैले यसले पनि नेपालमा त्यो इन्टरप्राइज फ्रेन्ड्ली, गरी खान सक्ने विचार भएका, प्रतिभा भएका मानिसहरू चाहिँ अब कुनै त्यो लाइसेन्स राजको पछि दौडेर आफ्नो सिर्जनशील क्षमतालाई खेर फाल्ने दिनहरू चाहिँ हामी त्यसलाई पछाडि पार्न खोज्दै छौँ । त्यसैले एउटा डाइनामिक प्राइभेट सेक्टर, जसले आफ्नो पुँजी, आफ्नो प्रतिभाको जगमा नै ऊ फैलिन सकोस्, पखेटा फिजाएर उड्न सकोस् । नेपाल सानो बजार भए पनि अन्तर्राष्ट्रिय रूपमा पनि जान सकोस् भनेर त्यो दर्शन, त्यो फिलोसोफीका साथ हामी अगाडि आएका छौँ । अर्को सुशासनमै माइक्रो डेलिभरी, जुन चाहिँ डिजिटल सर्भिस (नागरिक एपको कुराहरू आएका छन्।
त्यहाँ सयौँ सरकारी सेवाहरू आबद्ध गर्दियो भने घरमै बसिबसी पनि सेवा लिन पाइयोस् । सरकारी अड्डा अदालत धाउन नपरोस्। कर्मचारीहरूलाई वा अरू विचौलिया, बीचका मानिसहरूलाई पैसा खुवाउन नपरोस्। त्यसैले यो सोचका साथ हामी अगाडि बढिरहेका छौँ र धेरै कुरामा यहाँहरूले देखिनै सक्नुभयो, अहिले पनि धेरै ठाउँमा सेवा लिन जाँदाखेरि त्यो सहजता, त्यो सुलभता, एक किसिमको चाहीँ भ्रष्टाचार गर्न हुन्न भन्ने मानसिकता बिस्तारै आउँदै छ । यसलाई हामी इन्स्टिच्युसनलाइज नै गर्न चाहन्छौँ, यो कल्चरलाई, सुशासनको कल्चरलाई ।