। कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले बजेट कार्यान्वयनमा कुनै समस्या नआउने बताएका छन् ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री लिङ्थेपले यस्तो बताएका हुन् । उनले सुशासन र सेवाप्रवाहलाई प्राथमिकतामा राखेर ल्याइएको बजेट कार्यान्वयनमा कुनै समस्या नआउने दाबी गरे ।
निकट भविष्यमा प्रदेश सरकार परिवर्तन हुनसक्ने भएपनि बजेटको कार्यान्वयनलाई कुनै असर नपर्ने मन्त्री लिङ्थेपको दाबी थियो । ‘बजेट यथार्थमा आधारित र कार्यान्वयनलाई थप जिम्मेवार र जवाफदेही बनाउन कार्यसम्पादन सम्झौता गरिनेछ,’ उनले भने, ‘त्यसैले कार्यान्वयनमा कुनै समस्या नआउने विश्वास छ ।’
यस्तै उनले आगामी आर्थिक वर्षमा प्रदेशको आर्थिक वृद्धिदर ५ प्रतिशत पुग्ने पनि अनुमान गरे । उनले भने, ‘अनुकुल मौसम, नीतिगत स्थिरता, कृषि र उद्योग, पूर्वाधार र पर्यटन क्षेत्रमा गरिने लगानीबाट आर्थिक वृद्धिदर ५ प्रतिशत पुग्ने आशा राखेको छु ।’
कोशी प्रदेश सरकारले सोमबार आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैया बराबरको बजेट ल्याएको थियो ।