: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहले चिया पिएको भिडियो त देखिएको तर, चिया किसान र उद्योगको समस्या समाधानका लागि चासो देखाएको नदेखिएको भन्दै ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद राईले छिमेकी देश भारतले नेपालको चिया निर्यातमा अवरोध सिर्जना गर्दा पूर्वी जिल्लाहरुका उद्योगहरु बन्द अवस्थामा रहेको बताए । उनले अहिले किसानहरु आफूले उत्पादन गरेको चिया नष्ट गर्नुपर्ने अवस्थामा रहेको बताउँदै सांसद राईले अहिले इलाममा मात्र ८३ वटा चिया उद्योग बन्द रहेको बताए ।
उनले यति संवेदनशिल विषयमा सरकारको ध्यान नगएको बताए । प्रधानमन्त्री दुई मन्त्रीलाई लिएर देश बनाउन व्यस्त रहेको भन्दै व्यङग्य गर्दै सांसद राईले प्रधानमन्त्री चिया पसलमा गएर चिया पिउने भ्याउने तर बार्षिक तीन करोड बढीको चिया निर्यात हुने र अर्थतन्त्रको मेरुदण्ड चिया किसान र उद्योगीको समस्यामा चासो दिन फूर्सद पाएको नदेखिएको बताए ।
चिया निर्यात रोकिँदा किसानको चिया खेर गएको, उद्योग आर्थिक मारमा परेको किसान र उद्योगले बैंकबाट लिएको ऋण तिर्न समस्या आएको सांसद राईले बताएका छन् । चियामा आश्रित किसानको रोजीरोटी र छोराछोरीको शिक्षामा समेत असर परेको सांसद राईले बताएका छन् । आफूले प्रधानमन्त्री, कृषिमन्त्रीलाई पटक–पटक भेटेर चिया निर्यातमा देखिएको समस्याकाबारेमा जानकारी गराएको भए पनि अहिलेसम्म समस्या समाधानका लागि पहल हुन नसकेको बताएका छन् ।