। जिल्ला प्रहरी कार्यालय सिरहाले पाँच वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका एक प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको बरियारपट्टी गाउँपालिका–५ निवासी ५० वर्षीय वीरेन्द्रकुमार यादव रहेका छन्।
यादवविरुद्ध सोही गाउँपालिका-५ निवासी रामएकबाल सदायकी श्रीमती अनिता देवी सदायको हत्या गरेको आरोपमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको थियो । प्रहरीका अनुसार २०७६ असोज ३० गते अनिता देवी सदायको हत्या गरेको आरोपमा अनुसन्धान सुरु गरिएको थियो ।
अनिता देवी बेपत्ता भएकी थिइन् । खोजतलास तथा अनुसन्धानका क्रममा २०७६ कात्तिक २१ गते लक्ष्मीपुर पतारी गाउँपालिका–५ स्थित एक खेतमा उनको शव फेला परेको थियो ।
शव फेला परेपछि प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको थियो । सोही दिन आरोपित यादवको घरमा खानतलासी गर्दा उनी आफ्नै कोठामा विष सेवन गरी अचेत अवस्थामा लडिरहेको भेटिएका थिए । तर, पछि फरार भए ।
प्रहरीले उक्त कोठाबाट मृतकले प्रयोग गर्ने मोबाइल फोन, एक सुसाइड नोट तथा घटनासँग सम्बन्धित तामाको नाङ्गो तारलगायतका प्रमाण बरामद गरेको जनाएको छ ।
प्रहरीका अनुसार बरामद गरिएको सुसाइड नोटमा अनिता देवीको हत्या आफूले गरेको स्वीकार गर्दै घटनाप्रति पश्चाताप व्यक्त गरिएको तथा त्यसै कारण विष सेवन गरी आत्महत्या गर्ने प्रयास गरेको उल्लेख थियो ।
घटनापछि फरार रहेका यादवलाई प्रहरीले २०८३ असार २ गते आफ्नै घरबाट पक्राउ गरेको हो। पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाको नियन्त्रणमा राखी थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक नरेश लिम्बुले जानकारी दिएका छन् ।