मुख्य समाचार
२२ लाख फिरौती मागेर चितवनबाट अपहरण, बालककै चलाखीले जोगियो ज्यान
२२ लाख फिरौती मागेर चितवनबाट अपहरण, बालककै चलाखीले जोगियो ज्यान

। चितवनबाट अपहरणमा परेका एक १६ वर्षीय बालकको सकुशल उद्धार भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २ असार बिहान १ बजे बालाजुको एक होटलबाट बालकको उद्धार गरेको हो ।

यो प्रकरणमा प्रहरीले पाँच जना भारतीयलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोषकुमार खड्काका अनुसार पक्राउ परेका भारतीयमाथि अनुसन्धान गर्दा फिरौती असुल्नकै लागि अपहरण भएको देखिन्छ ।




प्रहरीले अपहरण प्रकरणमा बिहार बेतियाका १८ वर्षीय सुजित कुमार, बेतियाका १८ वर्षकै गोलुकुमार सोनी, बिहारका बिक्की कुमार, मोहम्मद साहिद र अर्का गोलुकुमार गरी पाँच जनालाई पक्राउ गरेको हो ।

चितवनबाट बालक अपहरण गरेर काठमाडौं ल्याइएको हुनाले उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको अपराध अनुसन्धान कार्यालयले बताएको छ । पक्राउ परेका सबै जना र उद्धार गरिएका बालकलाई पनि चितवन पठाइएको छ ।




१ असार साँझ करिब साढे ६ बजेतिर चितवनको नारायणगढबाट ५/६ जनाको समूहले गुप्ता थरका एक नेपाली बालकलाई जबरजस्ती गाडीमा हालेर लगेको सूचना प्रहरीलाई प्राप्त भयो । त्यसपछि प्रहरीले अपरेसन गरेर उनीहरूलाई पक्राउ गरेको हो ।

नयाँ बसपार्कस्थित फेमिली होटलमा राखिएको अवस्थामा बालकको उद्धार गर्नुका साथै पाँच भारतीयलाई प्रहरीले पक्राउ गरेको हो । यो होटलको व्यवस्थापन भने काठमाडौंमै बस्दै आएका भारतीय नागरिक विक्की पटेलले गरेका थिए । उनी पनि अहिले पक्राउ परेका छन् ।

भारतीय गाडीको प्रयोग

अपहरणकारीले भारतीय गाडीको प्रयोग गरी अपहरण गरेको खुलेको छ । अपहरणको योजना बनाएपछि उनीहरू ३० जेठमा नेपाल प्रवेश गरेको देखिन्छ ।

६ दिनको भन्सार पास लिएर यो समूह बीआर२२ बीए६१३७ नम्बरको भारतीय नम्बर प्लेटको स्कोर्पियोमा वीरगञ्जबाट नेपाल प्रवेश गरेको पाइएको छ । वीरगञ्जबाट उनीहरू सोझै उक्त गाडीबाट चितवन पुगेका थिए ।

राति १० बजेतिर चितवन पुगेर सुजित कुमारको साथी सक्षम शर्माले उनीहरूलाई होटलको व्यवस्था गरिदिएका थिए । चितवनमा गुल्मेली होटल एन्ड लजको कोठा नम्बर २०३ दुई दिनका लागि बुकसमेत गरिएको थियो ।

यो स्कोर्पियो एमडी मुमताज आलमले चलाएर ल्याएको अपहरणकारीहरूले प्रहरीसमक्ष बताएका छन् । तर मुमताज भने फरार भएका छन् । चितवनमा बालक अपहरण गरेर यही स्कर्पियोमा हालेर काठमाडौं ल्याइएको थियो ।

मुमताजले कलंकीसम्म ल्याएर उनीहरूलाई छाडेर त्यहीँबाट फर्केका थिए । उनी उक्त गाडी लिएर भारत पुगिसेकेका अनुसन्धान अधिकारीको भनाइ छ ।

साथीबाटै अपहरण

अपहरणको आरोपमा अहिले पक्राउ परेका सुजित कुमार र अपहरित बालकले चितवनमा सँगै अध्ययन गरेको पाइएको प्रहरीले बताएको छ ।

करिब दुई वर्षसँगै अध्ययन गरेपछि सुजित कुमार भारत गएको र त्यहाँ हुँदा पनि उनीहरूबीच सामाजिक सञ्जालमार्फत सम्पर्क भइरहने प्रहरीको भनाइ छ । अपहरणको योजना बनाएर चितवन आएपछि १ असारमा सुजित कुमारले ती बालकलाई इन्स्टाग्राममार्फत सम्पर्क गर्दै भेट्न बोलाएका थिए ।



साथी सुजित कुमारले बोलाएकै ठाउँ सिद्धार्थ बोर्डिङ स्कुलको पछाडि साँझ साढे ६ बजेतिर ती बालक पुगेका थिए । त्यसपछि चार जना भएर भारतीय गाडीमा हालेर बालकलाई गुल्मेली होटल पुर्‍याइएको थियो ।

होटल लगेपछि २ घण्टासम्म फकाएर राखिएको थियो । त्यसपछि चक्कु देखाएर धम्की दिँदै भारतीय गाडीमा हालेर काठमाडौं ल्याइएको प्रहरीको भनाइ छ । ‘हो–हल्ला गरे मार्ने धम्की दिँदै, कुटपिट गर्दै काठमाडौं ल्याइयो । चक्कु देखाएर डर देखाइयो,’ बालकले प्रहरीसमक्ष भनेका छन् ।

नेपाली सिमकार्ड प्रयोग

अपहरणकारीहरूले नेपाल प्रवेश गरेपछि नेपाली सिमकार्ड लिएको पाइएको छ । गोलु कुमारको आधार कार्डबाट ९७१६५२०… नम्बरको सिमकार्ड झिकिएको थियो ।

सिमकार्ड झिकेर ह्वाट्स एप मात्रै चलाइएको थियो । त्यो सीमकार्डबाट फोन सम्पर्क गरेको भने नदेखिएको प्रहरीको भनाइ छ । बालक अपहरण गरेर काठमाडौं ल्याउँदै गर्दा मुग्लिन आइपुगेपछि त्यो सिमकार्ड फालिएको थियो ।

‘प्रहरीले थाहा नपाओस् भनेर निकै चलखीपूर्ण काम गरेको देखिन्छ । एक ह्वाट्स एप मात्रै चलाउनु र काम सकिएपछि सिमकार्ड फाल्नुले उनीहरू प्रविधिबारे पनि राम्रो जानकार रहेको देखिन्छ,’ एक अनुसन्धान अधिकारी भन्छन् ।

२२ लाख फिरौती माग

अहिलेसम्मको अनुसन्धानले फिरौती असुल्नका लागि अपहरण गरिएको प्रहरीले बताएको छ । मुख्य योजनाकार सुजित कुमार रहेको प्रहरीको भनाइ छ । अपहरण गर्नका लागि २९ जेठमै बेतियामा योजना बनाएर नेपाल प्रवेश गरेको र अपहरण गरेर काठमाडौं ल्याएपछि मात्रै फिरौती माग्न सुरु भएको हो ।

त्यसका लागि ह्वाट्स एपमार्फत बालकका बाबुसँग सम्पर्क गरेको देखिएको छ । २२ लाख फिरौती नदिए बच्चाको ज्यान नै जान सक्ने भन्दै उनीहरूले धम्की दिएका छन् ।

काठमाडौंको फेमिली होटलमा पुगेपछि २ असार राति १ बजेतिर बालकको बाबुसँग सम्पर्क गर्दै २४ घण्टाभित्र २२ लाख फिरौती नदिए मारिदिने धम्की दिएको खुलेको छ ।

त्यसपछि मात्रै बाबुले छोरा अपहरणमा परेको थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । अनि मात्रै प्रहरीले खोजी सुरु गरेको थियो । २ असार ११ बजेतिर फेरि अपहरणकारीले बाबुलाई फोन गर्दै जतिसक्दो छिटो रकम हाल्न भनेको प्रहरीले बताएको छ ।

अपहरित बालकको चलाखी

अपहरणकारीहरू भारतीय गाडीमा काठमाडौं आएकोसम्म जानकारी पाएको प्रहरीले त्यो भन्दा बढी क्लु फेला पारेको थिएन ।

अपहरणकारीको क्लु फेला नपरेको अवस्थामा बालकका बाबुले नै प्रहरीलाई क्लु दिएका थिए । भुईँमा खसेको एउटा चिर्कटोमा आफू अपहरणमा परेको र सहयोग गर्न भन्दै बाबुको नम्बरसमेत लेखिएको थियो । उक्त कागजको चिर्कटो एक व्यक्तिले फेला पारेर त्यहाँ उल्लेख भएको बाबुको नम्बरमा सम्पर्क गरेका थिए ।

यो जानकारी बाबुले प्रहरीलाई गरेपछि चिर्कटो फेला परेको वरपरका होटलमा तलासी गर्दा अपहरणकारी र अपहरणमा परेका बालक नयाँ बसपार्कको फेलमी होटलको कोठा नम्बर २०३ मा फेला परेका हुन् ।

उक्त कोठाबाट बालकलाई धम्क्याउन प्रयोग भएको दुई वटा चक्कुसमेत बरामद गरिएको प्रहरीले बताएको छ ।



त्यो चिर्कटो अपहरणमा परेका बालकले नै लेखेर फालेको बताएका छन् । ‘अपहरणकारीहरूले मुग्लिनमा मोबाइल चार्जर किनेका थिए । उक्त चार्जरको कभरमा टाँसेको कागज मैले उप्काएर आफ्नो खल्तीमा हालेका थिएँ । होटलमा पुगेपछि ट्वाइलेट लाग्यो भन्दै बाथरुम छिरेर कागजमा अपहरणको जानकारी गराउँदै बाबुको फोन नम्बर लेखेर बाहिर फालेको थिएँ,’ उद्धार गरिएका बालकले अनलाइनखबरसँग भने ।

चिर्कटोमा बालकले लेखेका थिए, ‘हेल्प, मेरो नाम… हो । मेरो बुवाको नाम… हो । म नारायणगढबाट हो । प्लिज कल पुलिस । मेरो बाबाको नम्बर… हो । किड्न्याप्ड ।’

चिर्कटो फेला परेपछि खोज्न सहज भएको र तत्कालै लोकेसन पत्ता लाग्दा छिटो उद्धार भएको एसएसपी खड्का बताउँछन् । यो होटलबाट दिउँसो ४ बजे प्रहरीले अपहरित बालकको उद्धार गरेको थियो ।

यो प्रकरणमा गाडी चालक मुमताज र चितवनमा भारतीयलाई कोठा खोजिदिने सक्षम शर्मा नाम गरेका व्यक्ति फरार छन् ।

परिचित व्यक्तिले गरेका अपहरणका घटनामा अधिकांश अपहरितको ज्यान लिने गरेको देखिन्छ । फिरौती असुलेर छाड्दा अपहरित व्यक्तिले सम्पूर्ण पोल खोल्ने हुँदा अपहरित व्यक्तिको ज्यानै जोखिममा हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । तर यो घटनामा फिरौती नबुझाउँदै बालकले चलाखी गरी फालेको कागजको टुक्राका कारण उनको तत्कालै उद्धार भएको एक अनुसन्धान अधिकारीले बताए ।

‘यसमा बालकको चलाखीले गर्दा ज्यान जोगिएको छ । नत्र परिचित व्यक्तिले अपहरण गरेर फिरौती लिएपछि आफ्नो पोल खुल्ने डरले हत्यासम्म गर्ने गरेको देखिन्छ,’ ती अनुसन्धान अधिकारी भन्छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। महिला, बालबालिका तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ को संशोधन प्रक्रिया सुरु भइसकेको बताएकी छिन् । बुधवार प्रतिनिधि सभा बैठकमा आफनो मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएकी हुन् । मन्त्री वादीले महिलाविरुद्ध हुने कुनै पनि किसिमको कार्यलाई कानून बमोजिम दण्डनीय बनाई ...
। आगलागीबाट घाइते भएर उपचाररत रहेका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ रैतेका एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार रैतेका ३९ वर्षीय थमबहादुर सार्कीले बुधबार मृत्यु भएको हो । उनले दिउँसो आफू सुत्ने कोठामा आफैं आगो लगाएको प्रहरीले जनाएको छ । उक्त आगोमा उनी गम्भीर रूपमा जलेका थिए । घटनामा सार्कीको अनुहारलगायत शरीरका विभिन्न भाग ...
। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानुनहरु निर्माण गर्न मन्त्रीहरुलाई अनुरोध गरेकी छन् । बुधबार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग आगामी दिनमा आवश्यक पर्ने कानून निर्माणका विषयमा छलफल गर्दै मन्त्री गौतमले प्राथमिकताक्रम निर्धारण गरी विधेयकहरु तयार गर्न आग्रह गरेकी हुन् ...
। यही असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु गरिने भएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले यसबारे जानकारी गराएकी हुन् । आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री रावलले सुकुमवासीलाई लालपुर्जा वितरण गर्ने तयारीमा रहेको जानकारी दिएकी हुन् । श्रम संस्कृति पार्टीका अध्यक्ष ...
। सत्तारुढ रास्वपा सांसद इन्दिरा राना मगरले संकटमा परेका जनताको समस्या तत्काल समाधान हुने गरी बजेटका व्यवस्था गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको ध्यानाकर्षण गराएकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले अर्थमन्त्री वाग्लेको ध्यानाकर्षण गराएकी हुन् । ‘अर्थमन्त्रीज्यूलाई म यो अनुरोध गर्दछु–झापाको मात्रै होइन, जुम्ला, हुम्ला त्यस्ता बिकट, जहाँ एकदमै जनता चुनौतिपूर्ण भएर बस्नु परेको छ ...