मुख्य समाचार
गृहमन्त्री सुधन गुरुङ र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले संसद्मा प्रश्नहरूको सामना
गृहमन्त्री सुधन गुरुङ र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले संसद्मा प्रश्नहरूको सामना

। गृहमन्त्री सुधन गुरुङ र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले संसद्मा प्रश्नहरूको सामना गरेका छन् । शुक्रबार राष्ट्रिय सभामा मन्त्रीहरूसँग भएको प्रश्नोत्तर कार्यक्रममा दुई मन्त्रीले सांसद्का प्रश्नको सामना गरेका हुन् ।

सुरुमा गृहमन्त्री सुधन गुरुङ रोस्ट्रम पुगे । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले नेपाली कम्युनिस्ट पार्टीका सांसद भुवनबहादुर सुनारलाई प्रश्न सोध्न समय दिए ।

सांसद सुनारले अन्तरजातीय विवाहकै कारण हत्या, आगजनी, उठिबास, कुटपिट जस्ता जघन्य आपराधिक घटनाले समाज आक्रान्त भइरहेको उल्लेख गर्दै सिन्धुलीको हिरासतमा रहेका युवक श्रीकृष्ण विश्वकर्माको हत्या भएको विषय उठाए ।

७ वैशाख २०८३ साँझ इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीस्थित हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा विकको उद्धार भएको थियो । उद्धार गरेर सिन्धुली अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । विकको मृत्यु शंकास्पद रहेको भनेर त्यसबेला छानबिनको माग भएको थियो ।

जनताको जिउधनको रक्षा गर्ने ठाउँबाटै नागरिक मारिनु तथा झुटो बयान गराउनुले सामाजिक न्याय र सुशासनको धज्जी उडाएको भन्दै सांसद सुनारले प्रश्न गरे, ‘श्रीकृष्णको आत्माले न्याय पाउने, परिवारले क्षतिपूर्ति पाउने कार्य भएको छ कि छैन ?’

जवाफमा गृहमन्त्री गुरुङले यस घटनाका सम्बन्धमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भएको जानकारी दिए ।

‘निज श्रीकृष्ण विकको पोस्टमार्टम रिपोर्टमा ‘ओपिनियन रिगार्डिङ कज अफ डेथ इज द फाइन्डिङ आर कन्सिस्टेन्ट विथ द डेथ विथ द्याट अफ डेट ड्यू टु सोसाइडल ह्याङ्गिङ’ उल्लेख भएको छ,’ गृहमन्त्रीले प्रतिवेदनको अंश नै पढेर सुनाए ।

साथै, हिरासतमा रहँदा प्रहरीले कुनै किसिमको शारीरिक एवं मानसिक यातना दिएको पुष्टि नभएको भनेर प्रतिवेदनमा उल्लेख भएको पनि मन्त्री गुरुङले बताए ।

गृहमन्त्री गुरुङका अनुसार छानबिन समितिबाट प्राप्त अन्य सुझाव तथा सिफारिस नेपाल प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा कार्यान्वयनका लागि पठाइसकिएको छ ।

गृहमन्त्री गुरुङलाई पूरक प्रश्न सोध्न सभाध्यक्ष दाहालले फेरि समय दिए ।

भुवनबहादुर सुनार : मन्त्रीज्यू, हिरासतभित्र न कुर्सी छ न टेबुल छ । सात फिट अग्लो सानो झ्यालमा दुवै हात कसरी पुग्छ र बाँध्छ ? गलेको कपडाले कसरी ह्याङ्गिङ सुसाइड हुन्छ ? यो त अपराध ढाकछोप गर्नेभन्दा अरू केही होइन भन्ने छ, मन्त्रीज्यू यसमा के भन्नुहुन्छ ?

गृहमन्त्री सुधन गुरुङ : यसको लागि हामीले इन्भेस्टिगेसन गर्नको लागि पनि डीआईजी लेभलबाट छानबिन समिति गठन गरेको थियौं । डीआईजी लेभलको प्रतिवेदनको आधारमा नै हामीले यो पुष्टि गरेर अहिले यो प्रतिवेदनको आधारमा मैले हजुरलाई उत्तर दिइरहेको छु । माननीयज्यूले भनेको कुरामा हाम्रो मन्त्रालयको ध्यानाकर्षण भएको छ । यसलाई अझै पनि हामी एकदम सिरियसली हेरेर मानननीयज्यूलाई फेरि खबर गर्छौं ।

गृहमन्त्री गुरुङलाई सांसद सुनारको दलित समुदायसँग क्षमयाचना गरेको विषयमा पनि प्रश्न गरे ।

भुवनबहादुर सुनार : सरकारले दलित समुदायसँग क्षमयाचना गर्ने लगायतको विषयमा समेत स्पष्ट पारिदिनु हुन माग गर्दछु ।

गृहमन्त्री सुधन गुरुङ : महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र जस्तै सामाजिक, धार्मिक रूपमा संवेदनशील तथा जातीय भेदभावसँग सम्बन्धित मुद्दाहरूको प्रभावकारी सम्बोधन गरी पीडितमैत्री एवं विश्वासयोग्य बनाउन नेपाल प्रहरीभित्र दलित सेल कार्यान्वयनमा ल्याइएको छ ।

गृहमन्त्री गुरुङपछि प्रश्नको सामना गर्न रोस्ट्रममा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल पुगिन् । रावललाई पनि नेपाली कम्युनिस्ट पार्टीका सांसद भुवनबहादुर सुनारले नै प्रश्न सोधे ।

भुवनबहादुर सुनार : पुस्तौं पुस्तादेखि जोतभोग गर्दै आएका किसानको हकहितमा जग्गा जसको जोत उसको पोत कायम गरी मोहियानी हक कायम हुनुपर्छ ।

प्रतिभा रावल : किसानको हकहित संरक्षण गर्न भूमिसम्बन्धी ऐन २०२१ को दफा २५ ले २०२१ साल ८ को महिना १ सम्म मोही जनिएको व्यक्ति मोही कायम हुने व्यवस्था गरेको साथै उक्त ऐनको दफा २६ घ बमोजिम आधा जग्गा मोहीको हुने कानुनी व्यवस्था रहेको जानकारी गराउँदछु ।

भुवनबहादुर सुनार : नापी कार्यालयमा मोही कायम भएको र चोथा अस्थायी निस्सा पाएका किसानको हितमा संविधानको धारा ५१ ङ को कृषि र भूमि सुधारसम्बन्धी नीतिको बुँदा नम्बर १, २, ३ अनुसार कायम हुने गरी किसानलाई जग्गाको मालिक बनाउने सम्बन्धमा कस्तो अख्तियार खडा भएको छ ? सदनमार्फत किसानलाई सुसूचित गराइदिने यो केस छ । स्पष्ट पार्न माग गर्दछु ।

प्रतिभा रावल : नेपालको संविधानको धारा ५१ को खण्ड ङको सम्बन्धमा जमिनमा रहेको द्वैत स्वामित्व अन्त्य गर्न भूमिसम्बन्धी ऐन २०२१ तथा नियमहरू २०२१ ले निर्धारण गरेबमोजिम जग्गा धनी वा मोही कसैले पनि बाँडफाँटका लागि निवेदन नदिएमा दुवै जनाको नाममा संयुक्त जग्गा धनी कायम गरी मोहीको लगतको कट्टा गर्ने र निजहरूले माग गरेका बखत उक्त संयुक्त नाममा रहेका जग्गा आधा–आधा बाँडफाँट गरिदिने व्यवस्था रहेको छ ।

मन्त्री रावललाई पूरक प्रश्न सोध्न सभाध्यक्ष दाहालले सांसद सुनारलाई फेरि समय दिए ।

भुवनबहादुर सुनार : अझै मोही कायम हुन नसकेको विर्ता उन्मूलन भइसक्दा पनि सो विर्तामा बसोबास गरिरहेकाहरूलाई मालिकले उठिबास लगाउने गर्दा रसुवा, नुवाकोट, गोरखा, प्युठानलगायत क्षेत्रका किसान बेलाबेलामा माइतीघर मण्डलामा आन्दोलन गर्न आउने गरेका छन् । तसर्थ, सरकारले वैज्ञानिक भूमि व्यवस्था कायम गरी किसानको हक कायम गर्ने कदम शीघ्र चाल्न किन ढिलो गरिरहेको छ ?

प्रतिभा रावल : माननीयज्यूले भनेको कुरामा मन्त्रालयको ध्यानाकर्षण भएको छ र यससम्बन्धी मन्त्रालयले काम पनि थालनी गरिसकेको बेहोरा म जानकारी गराउन चाहन्छु । साथै, माननीय सदस्यले जुनजुन ठाउँ इंगित गरेर यहाँ प्रश्न सोध्नुभएको छ, पक्कै पनि त्यसको विषयमा केही दिनमा हामी रिपोर्टसहित जानकारी पनि गराउने छौं ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बैतडीमा बस दुर्घटना भएको छ । धनगढीबाट बैतडी गइरहेको सुप प्र ०१ ००१ ख ३६४६ बस आज अप्रान्ह ५:४५ बजे जिल्लाको दशरथचन्द नहरपालिका–४ शाहिलेक नजिक दुर्घटना भएको हो । बस सडकबाट करिब २५ मिटर तल खसेको छ । घटनास्थलमा प्रहरी र स्थानीयले उद्धार गरिरहेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु न्यौपानेले पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा सभापति रवि लामिछानेकै नेतृत्व आवश्यक रहेको बताएकी छिन् । शुक्रबार संघीय संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद न्यौपानेले पार्टीको संगठन सुदृढीकरणका लागि यो पहिलो महाधिवेशन भएकाले लामिछानेको नेतृत्व अपरिहार्य रहेको जिकिर गरिन् । सांसद न्यौपानेले चितवनमा आयोजना हुने महाधिवेशनलाई देश–विदेशबाट चासोका साथ हेरिएको ...
। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी आर्थिक वर्षमा संसद्‌मा पठाउने विधेयकहरूबारे मन्त्रालयगत छलफल सकाएको छ । कानुनमन्त्री सोबतिा गौतमले विभिन्न मन्त्रालयका मन्त्री, सचिव एवं अन्य कर्मचारीहरूसँग दैनिक छलफल गरेकी थिइन् । संसद्मा पठाउने कानुनहरूबारे मन्त्रालयले कसरी काम गरिरहेको छ ? र कस्ता विधेयकको प्राथमिकीकरणमा राखिएको छ ? भन्नेबारे मन्त्री गौतमले छलफल गरेकी थिइन् । विधायन ऐनअनुसार ...
। राहदानी छपाइसम्बन्धी कार्यमा अनियमितता गरेको कसूरमा अनुसन्धानका लागि पक्राउ परेका तीर्थराज अर्यालसहित चारजनाविरुद्ध ४ दिन म्याद थपका लागि विशेष अदालतले अनुमति दिएको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले उनीहरूमाथि अनुसन्धानका लागि दोस्रो पटक ५ दिनको म्याद थपको अनुमति दिएको हो । प्रतिवादीहरूमा तीर्थराज अर्याल, सुनील कुमार केसी, तुलसीप्रसाद आचार्य र ...
। उच्च अदालत पाटनले पनि व्यवसायी दिपक भट्ट र सुलभ अग्रवालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ । न्यायाधीशद्वय ऋषि राजभण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासले बैंकिङ कसुर मुद्दामा अन्तिम आदेश जारी गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो । यसअघि विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा भट्ट र अग्रवाललाई थुनामा पठाउने आदेश दिइसकेको ...