। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले पार्टीलाई वैधानिकतातर्फ लैजाने महत्त्वपूर्ण बाटो महाधिवेशन रहेको बताएका छन् । शनिबार चितवनको भरतपुरस्थित दियालो फुडल्यान्डमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘एउटा पार्टीलाई वैधानिकतामा लैजाने सबैभन्दा ऐतिहासिक बाटो भनेको महाधिवेशन हो,’ लामिछानेले भने, ‘महाधिवेशन यसभन्दा अलि अगाडि नै गर्नुपर्ने थियो । गर्ने कोसिस पनि भएको थियो ।’
तर, पार्टी जीवनमा भएका विभिन्न घटनाक्रमले हुन नसकेको उनले बताए ।
‘अहिले थोरै अनुकुलता, धेरै होइन, थोरै अनुकुलता देखेपछि हामीले आफूलाई महाधिवेशनमा लैजाने निर्णय गरेका छौं,’ उनले भने ।
पार्टी निर्माणको चार वर्षे जीवनमा आम नागरिकको परीक्षणले परिपक्व बन्दै गएको उनले दाबी गरे । ‘हामी आम नागरिकको सार्वजनिक परीक्षणमा जहिल्यै छौं । आम नागरिकले सधैँ हामीलाई खबरदारी गरिरहे । नागरिकको खबरदारी नै हाम्रो मार्गदर्शन रह्यो’, लामिछानेले भने ।
आफूले जानेको गर्दै र सिक्दै यहाँसम्म आइपुगेको उनले बताए ।