। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नयाँ सुरुवात र नयाँ दिशामा मुलुक लैजान रास्वपालाई सफलताको शुभकामना व्यक्त गरेका छन् ।
आजबाट सुरु भएको प्रथम महाधिवेशनमा शुभकामना सन्देश दिने क्रममा उनले यस्तो बताएका हुन् ।
‘यो महाधिवेशनले ऐतिहासिक निर्णय गर्ने नै छन् । मुलुकको परिवर्तनको लागि मुलुकमा रहेका विकृति र विसंगति अन्त्य गरेर नयाँ सुरुवात र नयाँ दिशामा मुलुक लैजान सफलता मिलोस् यही म शुभकामना दिन चाहन्छु,’ उनले भनेका छन् ।
रोजगारका लागि लाखौं लाख युवा विदेशिन बाध्य भएको अवस्थालाई अन्त्य गर्नका लागि आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्नुपने बेला भएको उनको भनाइ थियो ।
यसका लागि सबैभन्दा महत्वपूर्ण पक्ष भनेको सुशासन र सामाजिक न्याय रहेको उनले बताए ।
‘अब मुलुक पहिला भएका विकृति विसंगतिलाई छाडेर नयाँ दिशामा जाने र लैजाने अवसर प्राप्त भएको छ । यो महाधिवेशनले निश्चित पनि नयाँ युगको थालनीका लागि महत्वपूर्ण सावित हुनेछ भन्दै शुभकामना दिन चाहन्छु,’ उनले भनेका छन् ।
साथै, संविधान संशोधनको काममा पनि ध्यान दिन उनले आग्रह गरे ।
‘संविधान सभाबाट संविधानको घोषणा गरियो । त्यो संविधान त्रुटिपूर्ण, अधुरो र अपूरो रहेको छ । विरोधाभास रहेको छ । निश्चित रुपमा महत्वपूर्ण आयाम पनि यसमा छन् । संघीयता, गणतन्त्र, समावेशीता, धर्म निरपेक्षताजस्ता महत्वपूर्ण पक्ष रहे पनि धेरै कुरा अधुरा र अपूर्ण रहेका छन्,’ यादवले भने, ‘आजको आवश्यकता संविधानलाई संशोधन गरी, परिमार्जन गरी विकृति र विसंगतिलाई हटाएर संशोधन गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी यहाँहरूमाझ आइपरेको छ ।’