। वैदेशिक रोजगारी ठगी सम्बन्धी कसुरमा ७ जना पक्राउ परेका छन् । प्रहरीले वैदेशिक रोजगार ठगी सम्बन्धी कसुरमा सोमबार एकैदिन ७ जनालाई पक्राउ गरेर वैदेशिक रोजगार विभागमा बुझाएको हो ।
वैदेशिक रोजगार ठगीसँग सम्बन्धित मुद्दाका आधारमा विभागको पत्राचारपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर बुझाएको हो । विभागको मुद्दा तथा अनुसन्धान शाखामा सोमबार मात्रै २६ वटा नयाँ जाहेरी दर्ता भएका छन् । सोही अवधिमा शाखाले २५ वटा पक्राउ पूर्जी जारी गरेको छ भने २६ वटा पक्राउ अनुमति दिइएको छ ।
३ वटा मुद्दामा मिलापत्र गरिएको, पक्राउ अनुमति, बैंकलाई लेखिएका पत्र र अभियोग पत्र लगायत गरी कुल ७९ वटा पत्रहरू चलानी भएको विभागले जनाएको छ ।
उद्धार तथा समन्वय शाखामा मात्रै ६ वटा नयाँ उजुरी दर्ता भएका छन् । शाखाले ६ जनाको उद्धार गरेको छ भने ४ वटा क्षतिपूर्तिका विषय टुंगो लगाएको छ । उद्धार र क्षतिपूर्ति दुवै जोडिएका ३ वटा उजुरीमा कार्य भएको छ भने जम्मा ८ वटा मुद्दा फर्स्याैट गरिएको छ । यसका साथै, द्विपक्षीय छलफल र फोन फलोअपका माध्यमबाट पनि पीडितका समस्या समाधान गर्ने प्रयास जारी राखिएको विभागले जनाएको छ ।
गुनासो व्यवस्थापन र कल सेन्टर सरकारी संयन्त्र ‘हेलो सरकार’ मार्फत प्राप्त ६९ वटा गुनासोमध्ये ३५ वटाको समाधान गरिएको छ भने बाँकी ३४ वटालाई सम्बन्धित शाखामा पठाइएको छ । त्यसैगरी, विभागको आफ्नै कल सेन्टरमा प्राप्त १७७ वटा गुनासोमध्ये १५८ वटाको तत्काल समाधान गरिएको र बाँकी १९ वटा गुनासोहरू हाल अध्ययनको प्रक्रियामा रहेको विभागले जनाएको छ ।