। लुम्बिनी प्रदेश राजधानी रहेको दाङको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७५ करोड ४ लाख ९६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाको दोस्रो गाउँसभाको नवौँ अधिवेशनमा उपाध्यक्ष कमलापति चौधरीले बजेट प्रस्तुत गर्दै संघीय सरकार, प्रदेश सरकार, राजस्व बाँडफाँट तथा आन्तरिक स्रोतबाट प्राप्त हुने आयका आधारमा बजेट विनियोजन गरिएको जानकारी दिइन् ।
उनका अनुसार कुल बजेटमध्ये पुँजीगततर्फ १९ करोड ६९ लाख ८६ हजार रुपैयाँ र चालुतर्फ ५५ करोड ३५ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ । साथै, वडा तहमा सञ्चालन हुने चालु तथा पुँजीगत कार्यक्रमका लागि ६ करोड ६९ लाख रुपैयाँ छुट्याइएको छ ।
बजेटको स्रोत व्यवस्थापनअन्तर्गत संघीय सरकारबाट वित्तीय समानीकरण, सशर्त, समपूरक तथा विशेष अनुदान गरी ५४ करोड ३२ लाख ५४ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरण, सशर्त, समपूरक, विशेष अनुदान तथा राजस्व बाँडफाँटमार्फत ६ करोड ४७ लाख २७ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ ।
गाउँपालिकाले आन्तरिक स्रोत, रोयल्टी बाँडफाँट, घरजग्गा रजिस्ट्रेशन शुल्क तथा चालु आर्थिक वर्षको मौज्दात रकमसमेतबाट २ करोड ५ लाख रुपैयाँ आन्तरिक आम्दानी जुट्ने अनुमान गरेको छ ।
उपाध्यक्ष चौधरीका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा अनुमान गरिएको ६५ करोड २७ लाख २ हजार रुपैयाँ आयको तुलनामा आगामी आर्थिक वर्षको अनुमानित आय ९ करोड ७७ लाख ९४ हजार रुपैयाँ अर्थात् १४.९८ प्रतिशतले बढी हो ।
राप्ती गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि ६५ करोड २७ लाख २ हजार रुपैयाँको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेट गत वर्षको तुलनामा करिब ९ करोड ७७ लाख ९४ हजार रुपैयाँले बढी रहेको छ ।
गाउँपालिका अध्यक्ष प्रकाश विष्टले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगारी प्रवर्द्धन, सामाजिक सुरक्षा तथा सुशासनलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम तर्जुमा गरेको जानकारी दिए ।