मुख्य समाचार
बेलायतमै जातीय घृणाको निसानामा पूर्वगोर्खाहरू
बेलायतमै जातीय घृणाको निसानामा पूर्वगोर्खाहरू

। २०० वर्षदेखि बेलायतका लागि युद्ध लड्दै आएका गोर्खाहरूको इतिहास साहस, बलिदान र निष्ठाले भरिएको छ । पहिलो विश्वयुद्ध, दोस्रो विश्वयुद्ध, मलाया, फकल्यान्ड, इराकदेखि अफगानिस्तानसम्म गोर्खाहरूले बेलायतका लागि लडेको इतिहास छ ।

नेपाल र ब्रिटिस इस्ट इन्डिया कम्पनीबीचको युद्धका क्रममा अंग्रेजहरूले नेपाली सैनिकको असाधारण बहादुरी देखेपछि गोर्खा भर्ती सुरु भएको थियो । त्यसयता २०० वर्षभन्दा बढी समयदेखि नेपाली युवाहरू ब्रिटिस सेनामा भर्ती हुँदै आएका छन् ।




यस क्रममा सयौंले ज्यान गुमाए भने कतिपय अंगभंग भए । १३ पटक त गोर्खाहरूले बेलायतको सर्वोच्च सैनिक सम्मान ‘भिक्टोरिया क्रस’ नै जितेका छन् । पहिलो विश्वयुद्धमा कुलवीर थापाले फ्रान्सको लुस युद्धमोर्चामा भारी गोलाबारी बीचबाट घाइते सहयोद्धालाई बचाएका थिए । दोस्रो विश्वयुद्धमा लाछिमन गुरुङले दाहिने हात र एउटा आँखा गुमाएर पनि सत्रुलाई परास्त गरेका थिए ।

सन् २०१० मा दीपप्रसाद पुनले अफगानिस्तानको हेलमन्डमा दुई दर्जनभन्दा बढी तालिवान लडाकुविरुद्ध एक्लै लडेर आफ्नो पोस्ट जोगाएका थिए । त्यसका लागि उनले बेलायती सेनालाई प्रदान गरिने दोस्रो ठूलो अवार्ड ‘कन्स्पिक्युअस ग्यालन्ट्री क्रस’ पाए ।



तर, पछिल्लो समय यही समुदाय बेलायतमै जातीय घृणाको निसानामा पर्न थालेको छ । गत मंगलबार बेलायतको ह्याम्पसायरस्थित अल्डरसट पार्क म्युनिसिपल गार्डनमा दुई वृद्ध भूतपूर्व गोर्खा सैनिक र एक वृद्धामाथि जातीय घृणाप्रेरित आक्रमण भयो ।

आक्रमण र त्यसपछि गोर्खा समुदायको विरोधसँगै यस विषयले बुधबार बेलायती संसद्‌मा प्रवेश पाएको छ । अल्डरसटकी सांसद एलेक्स बेकरले संसदमा गोर्खाहरूमाथिको आक्रमणलाई ‘निकृष्ट’ भन्दै निन्दा गरेकी छिन् । उनले एकातिर ‘आर्म्ड फोर्सेज डे’ मनाएर सैनिकलाई सम्मान गरिरहँदा अर्कोतिर वृद्ध भूतपूर्व गोर्खाहरूलाई ‘घर फर्क’ भनिनु लज्जाजनक भएको बताइन् ।

बेकरले गोर्खाहरूले बेलायतका लागि दिएको योगदानको स्मरण गराउँदै लामो समयदेखि थाती रहेको गोर्खा पेन्सनको मुद्दा समाधान गर्न सरकारलाई आग्रह गरिन् ।

जवाफमा प्रधानमन्त्री किअर स्टार्मरले पूर्वगोर्खामाथिको आक्रमणलाई ‘अत्यन्तै लज्जाजनक’ भन्दै निन्दा गरेका छन् । ‘गोर्खाहरूले हाम्रो सुरक्षा बलमा असाधारण योगदान गरेका छन्,’ उनले संसद्‌मा भने, ‘हामी हाम्रा गोर्खाहरूको साथमा छौं ।’

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा एक पुरुषले नेपाली समुदायका सदस्यहरूसँग आक्रामक व्यवहार गरेका थिए । ती व्यक्तिले नेपाली वृद्धाहरूलाई ‘कहाँबाट आएको ?’ भनेर सोधेका थिए । त्यसपछि उनले ‘आफ्नो देश फर्क’ भन्दै दुर्व्यवहार गरेका थिए ।

आक्रमणमा पर्नेमा १६ वर्षसम्म गोर्खा सैनिकका रूपमा सेवा गरेका र फकल्यान्ड युद्धमा लडेका ७७ वर्षीय दावा जे शेर्पा र ब्रुनाई, मलेसिया, हङकङ र बेलायतमा सेवा गरेका ८२ वर्षीय खड्कबहादुर पुनसमेत छन् । स्थानीय नेपाली युवाहरूले चासो राखेपछि ती व्यक्ति अझ हिंस्रक बन्दै अन्य महिलाहरूलाई पनि आक्रमण गरेका थिए ।

तर, यो घटना केवल एउटा पार्कमा भएको झगडा मात्र होइन, यसले बेलायतमा बढ्दो आप्रवासनविरोधी भावना र जातीय ध्रुवीकरणलाई उजागर गरेको छ । आर्थिक संकट, महँगी, बेरोजगारी र ब्रेक्जिटपछिको राजनीतिबीच आप्रवासी समुदायमाथि दोष थोपर्ने प्रवृत्ति बढ्दै गएको छ ।

मुस्लिम, अफ्रिकी र दक्षिण एसियाली समुदायपछि अब नेपाली समुदाय पनि त्यसको मारमा पर्न थालेका छन् । बेलायतका लागि युद्ध लडेका गोर्खाहरूका लागि यो झन् पीडादायक छ ।

प्रधानमन्त्री स्टार्मरको अभिव्यक्ति र संसद्‌मा देखिएको समर्थनले गोर्खा समुदायप्रति ऐक्यबद्धताको सन्देश दिएको छ । तर भूतपूर्व गोर्खाहरूका लागि वास्तविक सम्मान केवल शब्दमा होइन, समान व्यवहार, सुरक्षा र न्यायमा देखिनुपर्ने बताउँछन् गोर्खा अभियन्ता कृष्णबहादुर राई ।

सन् १९९७ अघि अवकाश पाएका गोर्खाहरू अझै समान पेन्सन र अधिकारबाट बञ्चित छन् । यसबारे दशकौंदेखि वार्ता भए पनि समाधान निस्किएको छैन ।

यसबारे प्रधानमन्त्री स्टार्मरले बेलायत सरकारका मन्त्रीहरूले भूतपूर्व गोर्खा र नेपाल सरकारसँग बैठक बसेर रचनात्मक छलफल गरेको र यो प्रयास निरन्तर जारी रहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले घरबारविहीन बनाएर होल्डिङ सेन्टरमा राखिएका परिवारहरूलाई ५ दिनभित्र त्यहाँबाट निस्कन दिएको आदेशप्रति जवाफदेहिता निगरानी समितिले आपत्ति जनाएको छ । समितिले यो निर्णय तुरुन्त फिर्ता लिन र उनीहरूलाई बस्ने स्थायी व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । केही समयअघि सरकारले डोजर चलाएर हजारौँ परिवारलाई उनीहरू बसिरहेको ठाउँबाट जबरजस्ती हटाएको थियो । बस्ने अर्को ठाउँ र कमाइ ...
। कर्णाली करिडोरअन्तर्गत सान्नित्रिवेणी गाउँपालिका–१ शान्तिघाट–आम्तडा सडकमा भिरबाट खसेको ढुंगा लाग्दा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भिरबाट खसेको ढुंगा लागेर रास्कोट नगरपालिका–८ निवासी १८ वर्षीय बाबुराम टमटाको मृत्यु भएको हो । निजको घटनास्थलमा मृत्यु भएको हो । टमटा डोजर चलाइरहेका थिए ।
। सशस्त्र प्रहरी बलको हेडक्वार्टर हल्चोकस्थित एमटी (मोटर ट्रान्सपोर्ट, सवारी शाखा)मा भएको आगलागी दुर्घटनावश भएको प्रष्टीकरण हल्चोकले दिएको छ । बिहीबार सशस्त्र मुख्यालय हल्चोकमा भएको पत्रकार भेघाट कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीले आगलागी घटनालाई दुर्घटना भएको बताए । ‘जहाँसम्म तपाईंहरुले आगलागीको कुरा उठाउनुभयो त्यो घटना नभएर दुर्घटना रहेछ । विपद् अन्य व्यक्तिजस्तै हामीलाई ...
। संखुवासभाको चैनपुर नगरपालिका —३ पोखरीबाट जुवातास खेलेको आरोपमा ६ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले चैनपुर—३ स्थित पोखरीबाट जुवातास (कौडा) खेलाएको आरोपमा घरधनी सहित ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा घरधनी ४५ वर्षीय कर्णबहादुर तामाङ, ४० वर्षीय नवीनकुमार लिम्बू, २८ वर्षीय मानबहादुर लिम्बू, ४३ वर्षीय दुर्गाबहादुर लिम्बू, ४३ ...
। काठमाडौंको शोभाभगवतीमा एक पुरुषको शव फेला परेको छ । काठमाडौं महानगरपालिका–१५ शोभाभगवतीस्थित शोभाभगवती पार्कमा शव फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ४२ वर्षीय बिमल कार्की बुधबार मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।