: विराटनगरमा तीन नेताबीच गोप्य राजनीतिक संवाद भएको छ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका सह-संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाबीच शुक्रबार बिहान विराटनगरमा भेटवार्ता भएको हो ।
विराटनगरस्थित कोइराला निवासमा भएको भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्था,पछिल्ला राजनीतिक घटनाक्रम, संसद्को भूमिका तथा राष्ट्रिय सरोकारका विविध विषयमा गम्भीर छलफल भएको जनाइएको छ ।
पछिल्ला केही सातायता देशको राजनीतिक परिस्थितिलाई लिएर प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच निरन्तर संवाद र परामर्श भइरहेका बेला विराटनगरमा सम्पन्न यो भेटलाई राजनीतिक हिसाबले अर्थपूर्ण रूपमा हेरिएको छ ।
विशेषगरी बदलिँदो राजनीतिक समीकरण,संसद्को प्रभावकारी सञ्चालन तथा राष्ट्रिय मुद्दामा दलहरूबीच सहकार्यको आवश्यकताका विषयमा नेताहरूले धारणा आदानप्रदान गरेको अनुमान गरिएको छ । यद्यपि, भेटका क्रममा कुन–कुन विषयमा के निष्कर्षसहित छलफल भयो भन्ने विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । सहभागी नेताहरूले पनि कुनै प्रतिक्रिया दिएका छैनन् ।
राजनीतिक वृत्तमा भने वर्तमान सरकारको कार्यसम्पादन,संसद्को प्रभावकारिता,राष्ट्रिय सहमति आवश्यक पर्ने विषय तथा मुलुकको समग्र राजनीतिक दिशाका बारेमा तीन नेताबीच खुला रूपमा विचारविमर्श भएको हुन सक्ने चर्चा छ ।
औपचारिक विवरण सार्वजनिक नभए पनि देशको राजनीतिक परिवेश संवेदनशील बन्दै गइरहेका बेला फरक राजनीतिक धारका प्रभावशाली नेताहरूबीच विराटनगरमा भएको भेटलाई आगामी राजनीतिक घटनाक्रमसँग जोडेर चासोका साथ हेरिएको छ ।