: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-१० बस्ने नवलपरासी पश्चिम सुस्ता गाउँपालिका-१ घर भएका २३ वर्षीय सन्देश चौधरी, नवलपरासी पश्चिम देवचुली नगरपालिका-५ घर भएका ५३ वर्षीय भगवत प्रसाद थारू, ललितपुर, ललितपुर महानगरपालिका-२६ बस्ने चितवन भरतपुर महानगरपालिका-४ घर भएका ४० वर्षीया सरस्वती बारघरे र काठमाडौं महानगरपालिका-२९ बस्ने ३७ वर्षीय विकास दाहाल रहेका छन्।
पक्राउ मध्ये सन्देशले मकाउ पठाइदिन्छु भन्दै ५ लाख रुपैयाँ, भगवतले पोल्याण्ड पठाइदिन्छु भन्दै २३ लाख रुपैयाँ, सरस्वतीले क्यानडा पठाइदिन्छु भन्दै १६ लाख रुपैयाँ र विकासले क्यानडा पठाइदिन्छु भन्दै ३ लाख ९२ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएपछि पीडितहरूले उजुरी दिएका थिए।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सन्देशलाई काठमाडौं महानगरपालिका-३ बाट र भगवतलाई काठमाडौं महानगरपालिका-४ बाट बुधबार तथा सरस्वतीलाई ललितपुर महानगरपालिका-२६ बाट र विकासलाई काठमाडौं महानगरपालिका-६ बाट बिहीबार पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।