मुख्य समाचार
दुर्लभ इतिहास बनाएको रास्वपालाई चार वर्षपछि संस्थागत गराए रविले
दुर्लभ इतिहास बनाएको रास्वपालाई चार वर्षपछि संस्थागत गराए रविले

। मुलुकको सबैभन्दा ठूलो राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट रवि लामिछाने शक्तिशाली सभापतिको रुपमा वैधता पाएका छन् ।

तीन दिनका निम्ति तय भएपनि केन्द्रीय नेतृत्व चयनको प्रक्रिया लम्बिदै जाँदा दोब्बर समय लिएको महाधिवेशनले मूल नेतृत्व भने निर्विरोध गर्‍यो ।




अब यो पार्टीमा रवि झन् शक्तिशाली र देशभरका प्रतिनिधिहरूको वैधताप्राप्त सभापतिको रुपमा उदाएका छन् ।

केन्द्रीय समितिमा एक तिहाइ सदस्य मनोनयन गर्न पाउँछन् । पार्टीको मूल काम गर्ने १९ सदस्यीय पदाधिकारीमा अब १२ जना मनोनीत पदाधिकारी हुनेछन् ।



रवि लामिछानेलाई सभापति र प्रधानमन्त्री बालेन्द्र शाहलाई वरिष्ठ नेता निश्चित गरेर महाधिवेशनमा बाँकी नेतृत्व चयन प्रक्रिया अगाडि बढाइएको थियो ।

अरू पद र प्रक्रियाप्रति असन्तुष्टि देखिए पनि रवि–बालेनको भूमिका र नेतृत्वप्रति प्रतिनिधिहरूले पनि सहमति जनाएको देखियो ।



पहिलोपटक प्रतिनिधि भएर आउनेहरूको यस्तो मनोविज्ञान बुझेरै संभवतः रास्वपाले सभापति र वरिष्ठ नेता सुनिश्चित गरेर बाँकी पद निर्वाचित गर्ने प्रक्रिया अगाडि बढाएको हुनुपर्छ ।

७ असारमा महाधिवेशन उद्घाटन भइरहँदा वक्ताहरूको अभिव्यक्तिमा सहभागीहरूले जनाएको प्रतिक्रियाले पनि रवि लामिछानेको नेतृत्वप्रति रहेको स्वीकृति बुझ्न सकिन्थ्यो ।

अन्य दलबाट शुभकामना मन्तव्य दिन आएका नेताहरुले सभापतिमा लामिछानेले नै निरन्तरता पाउने सूचना सार्वजनिक गर्दा सहभागीहरूले तालीले स्वागत गर्थे ।

सभापति लामिछानेको सम्बोधनले पनि उनी निर्विरोध हुँदैछन् भन्ने सहज अनुमान लगाउन सकिन्थ्यो ।

विगतका संघर्ष, योजना र सफलताहरुको फेहरिस्त प्रस्तुत गरिरहँदा सभापति लामिछानेले पटकपटक नेता–कार्यकर्तालाई निर्देशन दिएका थिए ।

नभन्दै, ९ असारमा नेतृत्व चयन प्रक्रिया अघि बढ्दा गर्दा रवि निर्विरोध सभापति निर्वाचित भए । र, करिब दुई तिहाइ बहुमत प्राप्त रास्वपाको प्रथम महाधिवेशबाट उनी थप शक्तिशाली सभापति भए ।

संघर्ष र सफलता
पार्टी स्थापनाको चौथो वर्ष नपुग्दै दुई तिहाइ नजिकको बहुमत ल्याएर रास्वपाले देशको नेतृत्व लिइरहँदा यसका संस्थापक सभापति रवि लामिछानेको संघर्षहरूले पनि नाटकीय मोडहरू पार गरे ।

महाधिवेशनका क्रममा स्वंय सभापति लामिछाने र अरु वक्ताले त्यो कष्टपूर्ण विगतका संघर्ष सम्झिएका थिए । ‘भैरहवामा निकै गर्मी थियो, अरुका लागि जेल एउटा ठूलो कम्पाउण्ड हुन्थ्यो ।

मेरो लागि एउटा गोलघर कोठा नै जेल बनाएर सरकारले सुविस्तासँग राखेको थियो,’ महाधिवेशन उद्घाटन सत्रमा लामिछानेले भने ।

सहकारी ठगी एवं संगठित अपराधको मुद्दामा उनी गत पुस पहिलो सातासम्म थुनामै थिए ।

जबकी ०७९ मंसिरको चुनावमा अप्रत्यासित मत ल्याएर रास्वपा चौथो शक्ति हुँदा यसका सभापति लामिछाने दुई पटक उपप्रधान एवं गृहमन्त्री भइसकेका थिए ।

तर राजनीतिमा आउनुअघि उनी आवद्ध एक टेलिभिजनमा विभिन्न सहकारीबाट गएको रकमको मुद्दामा रविलाई जेल जलान गरिएको थियो । जुन मुद्दालाई रवि र रास्वपा प्रतिशोध भन्छन् ।

प्रतिशोध साँध्ने सत्ताविरुद्ध जनताले विद्रोह गर्दा रास्वपा मुलुकको शक्तिशाली पार्टी बनेको लामिछानेको दावी छ ।

‘भैरहवा कारागारबाट लेखेको थिएँ– एकदिन तपाईंहरूको (पुराना दलका प्रमुखहरू) हातमा भएको तस्करले दिएको घडी खोस्नेछ, र त्यहाँ हत्कडी लगाउनेछ,’ लामिछाने भन्छन्, ‘आज परिस्थिति फेरिएको छ, बदलिएको परिस्थितिमा जनताले हामीलाई देशको सवैभन्दा शक्तिशाली पार्टी बनाएको छ ।’



टेलिभिजन प्रस्तोताका रुपमा लोकप्रिय बनेका रविको राजनीतिमा प्रवेश नै प्रहरी गिरफतारीबाट सुरु भएको थियो ।

‘२०७६ साउन २० गते शालिकराम पुडासैनी काण्डमा त्यतिबेलाको सरकारले रवि लामिछानेलाई चितवनको यही चउरको अगाडि पट्टी एघार दिन राख्यो, तब चितवन जाग्यो,’ रास्वपा भरतपुर महानगरकी सभापति सीता ज्ञवाली भन्छिन् ।

‘जनतासँग सिधा कुरा’ कार्यक्रमका प्रस्तोता लामिछानेलाई उनका सहकर्मी शालिकराम पुडासैनी आत्माहत्या दुत्साहन मुद्दामा त्यसबेला पक्राउ गरिएको थियो । पुडासैनीले नाराणगढको एक होटलमा आत्महत्या गरेकाले रविलाई चितवन प्रहरीको हिरासतमा राखिएको थियो ।

तर आफू निर्दोष रहेको रविको अपिलमा त्यतिखेर चितवनमा विशाल प्रदर्शन भयो । आफूप्रतिको त्यही समर्थन देखेर ७ असार ०७९ मा रास्वपा गठन गरेर रवि चितवनमै चुनाव लड्न गए । सर्वाधिक मत ल्याएर रविले चितवन–२ बाट जित्दा रास्वपा २१ सिटको पार्टी बन्यो ।

कुनैपनि दलले बहुमत नल्याएको हङ पार्लियमेन्टमा रास्वपा सरकारमा गयो । पार्टी गठनको ६ महिनामै रवि लामिछानेले ११ पुस ०७९ मा उपप्रधान एवं गृहमन्त्री भए । तर घटनाक्रमले उनको त्यो सफलता संघर्षको आरम्भ पनि रहेको पुष्टि भयो ।

१३ माघ ०७९ मा नागरिकता मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसलाबाट रविको मन्त्री, सांसद र सभापति पद गुम्यो । फेरि २०८० वैशाखमा उपनिर्वाचन भयो । चितवन–२ बाटै रविले मतान्तर बढाएर जिते । यसरी पाँच महिनाको फरकमा दुई पटक चुनाव जितेका रवि २३ फागुन ०८० मा फेरि सरकारमा गए ।

तर उनी गृहमन्त्री भएको चार महिनाभित्रै सरकार ढल्यो । कांग्रेसको समर्थनमा (०८१ असारमा) एमाले अध्यक्ष केपी ओली चौथोपटक प्रधानमन्त्री भए । यो सरकारले रविमाथि सहकारी ठगी र संगठित अपराधको मुद्दा चलायो । ८४ दिनसम्म अनुसन्धानका नाममा कास्की, बुटवल, चितवन, पर्सा र काठमाडौंका हिरासतहरुमा घुमाइरहेको थियो ।

रवि थुनामा हुँदा रास्वपाका अरु नेता–कार्यकर्ताले रिहाइको माग राखेर सडक प्रदर्शन गरे । उनीहरूका अनुसार, चालीस लाख हस्ताक्षर संकलन भयो । तत्कालीन सरकारले भने यो दबाबलाई सुनेको थिएन ।

तर गत २३–२४ भदौको जेनजी विद्रोहले देशको राजनीतिक कोर्स नै बदलियो । प्रतिनिधि सभा भंग गरियो, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार बन्यो । रवि पनि सशर्त रिहा भए ।

थुनामुक्त भए लगत्तै वैकल्पिक राजनीतिको वकालत गरिरहेका व्यक्ति र पार्टीहरुसँग एकता अभियान चलाए ।

विशेषगरी युवा पुस्तामा सर्वाधिक लोकप्रिय देखिएका काठमाडौंका मेयर बालेन्द्र शाहलाई प्रधानमन्त्री घोषणा गरे ।

विवेकशील साझा पार्टी, उज्यालो नेपाल पार्टीका एक हिस्सा, थारुहट, हाम्रो पार्टी नेपालसँग एकता गरे । एकप्रकारले पुराना शक्तिविरुद्ध कित्ताकाँटको प्रतिस्पर्धा भयो ।

२१ फागुनमा सम्पन्न चुनावबाट कांग्रेस, एमाले, नेकपा जस्ता विरासत बोकेका दलहरू नराम्रोसँग पराजित भए ।

रवि नेतृत्वको रास्वपाले भने २७५ सदस्यीय प्रतिनिधि सभामा १८२ सिट जित्यो । यसअघि कुनैपनि चुनावमा कुनैपनि दलले यो तहको सफलता प्राप्त गर्न सकेको थिएन ।

संसदीय इतिहासमा कहिल्यै नआएको नतिजाबाट स्वयं रवि लामिछाने पनि चकित बनेको तथ्य लुक्दैन ।

चितवनमा आयोजित प्रथम महाधिवेशनकै क्रममा पनि लामिछानेले पटकपटक भनेका छन्, ‘प्रथम महाधिवेशन अघि नै करीब दुई तिहाइ बहुमतको सरकार बनाएको दुर्लभ इतिहास यसअघि कहिल्यै भएको थिएन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। धनगढीमा तीन दिनदेखि बेपत्ता बालक जंगलमा मृत अवस्थामा भेटिएका छन् । बुधबार साँझदेखि बेपत्ता धनगढी उपमहानगरपालिका–१७ को उत्तरखैरेनी मुक्त कमैया शिविर बस्ने १० वर्षीया तनुज चौधरी शुक्रबार दिउँसो स्थानीय जंगलमा मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालयकाअनुसार प्रहरी र स्थानीयले खोज्न क्रममा बालक जंगलमा मृत भेटिएका हुन् । उनले चढ्दै आएको साइकल समेत शव नजिकै फेला परेको ...
। रास्वपा सभापति रवि लामिछानेले शपथ ग्रहण गरेका छन् । उनलाई केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष भुवन केसीले शपथ ग्रहण गराएका हुन् । चितवनमा ७ असारदेखि आज (१२ असार) सम्म भएको महाधिवेशनबाट लामिछाने निर्विरोध निर्वाचित भएका थिए ।
। रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टी अब झनै परिपक्व भएर अघि बढ्ने बताएका छन् । चितवनमा भएको महाधिवेशनबाट निर्विरोध निर्वाचित भएका सभापति लामिछानेले शपथ ग्रहणपछिको सम्बोधनको क्रममा यस्तो बताएका हुन् । ‘प्रतिबद्धताका साथ हामी भन्न चाहन्छौं, पहिलो ऐतिहासिक महाधिवेशनबाट राजनीतिक रुपमा वैधानिकता प्राप्त गरेको देशकै सबैभन्दा ठूलो झण्डै दुई तिहाइको सरकार सरकार सञ्चालन गरिरहेको रास्वपा परिपक्व ...
। सरकारको एक सय दिने शासकीय सुधार कार्ययोजनाअन्तर्गत उद्योग मन्त्रालयलाई तोकिएका कार्यहरू समयअगावै सम्पन्न गरिएको दाबी गरिएको छ। उद्योगमन्त्री गौरिकुमारी यादवले आफ्नो मन्त्रालयअन्तर्गतका ३२ वटा कार्य सम्पन्न गरी त्यसको विस्तृत प्रतिवेदन प्रधानमन्त्री बालेन शाहलाई बुझाएको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मन्त्री यादवले सम्पन्न कामहरूको विवरण समेटिएको फाइल प्रधानमन्त्री शाहलाई हस्तान्तरण गरेकी हुन्। सरकारले सार्वजनिक ...
। रास्वपा सभापति रवि लामिछानेले पार्टीका कुनै पनि सदस्यले गरेको क्रियाकलाप, दिएको अभिव्यक्ति, उपस्थितिले देशमा कोही पनि भयभित र त्रसित हुन नहुने बताएका छन् । पार्टीको महाधिवेशनबाट निर्विरोध निर्वाचित भएका लामिछानेले शपथपछि गरेको सम्बोधनको क्रममा आएका प्रशनहरूको रचनात्मक रुपमा सामना गर्नुपर्ने बताए । ‘हाम्रा राजनीतिक क्रियाकलाप, राजनीतिक अभिव्यक्ति, राजनीतिक उपस्थितिले देशका प्रबुद्ध, देशप्रेमी, नागरिक समाज, सञ्चार जगत, ...