। जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोडका घटनामा संलग्न भएको आरोप लागेका नेकपाका युवा नेता ताजिम अन्सारी कारागार चलान भएका छन् ।
आगजनीमा संलग्न भएको भिडियो सार्वजनिक भएपछि उनी पक्राउ परेका थिए । पक्राउ परेको केही दिनमा उनी हाजिरजमानीमा छुटेका थिए । लगतै उनीसहितलाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता भयो ।
शुक्रबार अदालतमा हाजिर भएका अन्सारीलाई जिल्ला अदालत मोरङका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।
आदेशपछि अन्सारीलाई जिल्ला कारागार मोरङ चलान गरिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
अन्सारीमाथि नापी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयमा आगजनी एवं तोडफोड गरेको दुईवटा छुट्टाछुट्टै मुद्दा दर्ता गरिएको थियो । नापी कार्यालयसँग सम्बन्धित मुद्दामा अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो थियो ।
सरकारी वकिल कार्यालयको मुद्दामा ३ लाख रुपैयाँ धरौटी माग गरेको थियो । एउटा मुद्दामा थुनामा पठाउने आदेश भएपछि उनले धरौटी रकम बुझाएनन् ।