। मोरङ प्रहरीले विराटनगरका विवादास्पद छविका अभिषेक गिरीलाई पक्राउ गरेको छ ।
शनिबार बिहान विराटनगर-८, मधुमारास्थित घरबाट गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । विराटनगरमा गुण्डानाइकेको रुपमा परिचित गिरी पछिल्लाे समय भने नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् ।
शंकास्पद बस्तु (अवैध हतियार)लुकाएको आशंकामा शनिबार बिहान प्रहरी टोली गिरीको घरमा छापा मार्न पुगेको थियो । यद्यपि, हतियार भने नभेटिएको प्रहरी स्रोतले बतायो ।
शंकास्पद बस्तु नभेटिएपछि प्रहरीले जिल्ला कारागार मोरङका कैदीबन्दीको भत्ता र अन्य रकम दुरुपयोग गरेको आरोपमा पक्राउ गरेको हो ।
शरीर बन्धक तथा अपहरण मुद्दामा ९ वर्ष कारागारमा हुँदा गिरी लामो समय मोरङ कारागारको चौकीदार थिए । कारागारभित्र रहँदा कैदीबन्दीमाथि दमन गरेको र आर्थिक शोषण गरेको आरोप उनीमाथि लाग्दै आएको थियो ।
कैद भुक्तान गरी निस्किएपछि पनि उनले कारागारको आन्तरिक व्यवस्थापनमा बाहिरैबाट हस्तक्षेप गर्ने गरेको आरोप छ । कैदीबन्दीलाई सरकारले दिने दैनिक भत्ता असुल गरेको गुनासो आएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवालले बताए । ‘कारागारका कैदीबन्दीले पाउने सेवा–सुविधा र भत्ता बापतको रकम लगेको भन्ने गम्भीर आरोप छ,’ एसपी कटवालले भने’, थप अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो।’
अपहरण तथा शरिर बन्धक मुद्दामा कैद भुक्तानपछि गिरी दुई वर्षअघि कारागारबाट छुटेका थिए । कारागारबाट छुटेपछि उनी आफ्नै नेतृत्वमा गिरी फाउन्डेशन स्थापना गरेर सामाजिक कार्य गर्ने भन्दै सक्रिय भए । फागुन २१ प्रतिनिधिसभा निर्वाचनमा उनी नेपाली कांग्रेस महानमन्त्री गुरुराज घिमिरेको चुनावी कमाण्डर बनेका थिए ।
गिरीले भने आफूलाई राजनीतिक प्रतिसोध राखेर पक्राउ गरिएको बताएका छन् ।