: विपदमा परेका नागरिकको उद्धारका लागि कोशीमा ९९ स्वयंसेवक तयार गरिएको छ। सशस्त्र प्रहरी बलको बराह बाहिनी मुख्यालय सुनसरीको आयोजना तथा कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा सञ्चालन गरिएको समुदाय स्तरमा विपद् प्रतिकार्यमा खटिने ९९ जना स्वयंसेवक तयार गरिएको हो।
असार ९ गतेदेखि झापा, मोरङ, सुनसरी र धनकुटा जिल्लाका स्थानीय तहमा कार्यरत नगर प्रहरी तथा स्थानीय नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको तालिमबाट ९९ जना स्वयंसेवक दस्ता तयार गरिएको हो।
बाहिनिका सूचना अधिकारी तथा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक महेश केसीका अनुसार चार जिल्लाका पाँच स्थानमा सञ्चालन गरिएको तालिममा ९९ जना नगर प्रहरी तथा स्थानीय नागरिक सहभागी भएका थिए। सोमबार मोरङको रंगेली, झापाको भद्रपुर, सुनसरीको इनरुवा, मोरङको कंकालिनी तथा धनकुटाको छिन्ताङमा एकसाथ तालिमको समापन गरिएको थियो।
तालिमका क्रममा स्वयंसेवकहरुलाई विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराइएको थियो। आगलागी नियन्त्रण, जल उद्धार, प्राथमिक उपचार, सिपिआर, रोप रेस्क्यु तथा भत्किएका संरचनामा खोज तथा उद्धारलगायतका विषयमा सहभागीलाई व्यावहारिक प्रशिक्षण प्रदान गरिएको सूचना अधिकारी केसीले बताए।