। चितवन राष्ट्रिय निकुञ्जमा भोलि असार १७ गतेदेखि जिप सफारी बन्द हुने भएको छ । बर्खा सुरु भएको तथा चितवन राष्ट्रिय निकुञ्जमा पाइने अधिकांश वन्यजन्तु तथा चराचुरुङ्गीहरुको प्रजनन्का लागि वर्षायाम उपयुक्त समय भएकोले जिप सफारी बन्द गर्ने निर्णय गरिएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसराले जनाएको छ ।
असार १७ गतेदेखि असोजको पहिलो हप्तासम्म जिप सफारी बन्द गर्ने निकुञ्जको तयारी छ । बर्खाको समयमा निकुञ्ज भित्रका कच्ची वनपथहरु बिग्रने, जंगलमा भएका स-साना खोला खोल्सीमा भलबाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने जस्ता कारणले गर्दा पर्यटकहरुलाई असहजतासमेत हुने भएकोले जिप सफारी बन्द गर्न लागिएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए ।
निकुञ्जमा जिप सफारी बन्द भए पनि निकुञ्ज आसपासका क्षेत्रका मध्यवर्ती क्षेत्र तथा सामुदायिक बनहरुमा भने जिप सफारी हुने गर्दछ ।
चितवन राष्ट्रिय निकुञ्जको मुख्य राजश्व उठाउने जिप सफारी बन्द हुँदा पर्यटकहरु मध्यवर्ती क्षेत्रमा घुम्ने गर्दछन् । निकुञ्जले हरेक बर्ष मध्य असारदेखि असोज पहिलो सातासम्म जिप सफारी बन्द गर्दै आएको छ ।