। नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पहिलो पटक प्रसारण पूर्वाधार निर्माण सम्पन्न गरेको छ । करिब सात वर्षसम्म अलपत्र परेको मर्स्याङ्दी करिडोर अन्तर्गत २२० केभी मार्कीचोक–भरतपुर प्रसारण लाइनको २८ किलोमिटर खण्ड निजी क्षेत्रले डेढ वर्षभित्रै सम्पन्न गरी सञ्चालनमा ल्याएको हो ।
अब निजी क्षेत्रले जलविद्युत् उत्पादनमा मात्र होइन, प्रसारण लाइन निर्माण तथा भविष्यमा विद्युत् व्यापारसमेत गर्न सक्ने क्षमता रहेको सन्देश दिएको छ ।
यो आयोजना सुरुमा चिनियाँ कम्पनी पिङ्गाओ ग्रुपले २०७४ साल कात्तिकमा निर्माणको जिम्मा पाएको थियो । तर सात वर्षभन्दा बढी अवधिमा ८४ वटा टावरमध्ये ३५ वटाको मात्रै फाउन्डेसन र १० वटा टावरको इरेक्सन सम्पन्न भएपछि निर्माण कार्य लगभग ठप्प बनेको थियो । नेपाल विद्युत् प्राधिकरणले २०८१ मंसिर ५ गते निर्माणको जिम्मेवारी निजी क्षेत्रलाई हस्तान्तरण गरेको थियो ।
त्यसको चार दिनपछि मर्स्याङ्दी करिडोरका सात निजी जलविद्युत् आयोजनाले संयुक्त रूपमा करिब ४ करोड ९७ लाख रुपैयाँ लगानी गर्ने निर्णय गर्दै भीभा कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कन्सर्न र भूगोल इन्फ्रास्ट्रक्चर कम्पनीलाई निर्माणको जिम्मा दिएका थिए ।
निर्माण समन्वयका लागि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का तत्कालीन उपाध्यक्ष तथा हाल वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोन लामाको नेतृत्वमा समिति गठन गरिएको थियो । समितिमा पिपुल्स हाइड्रोका आयोजना निर्देशक अर्जुन गौतम र आशुतोष इनर्जीका अध्यक्ष मोहनविक्रम कार्की सदस्य थिए ।
निजी क्षेत्रले जिम्मेवारी लिएपछि निर्माण कार्यले तीव्र गति लिएको थियो । हाल ८४ वटै टावरको फाउन्डेसन सम्पन्न भएको छ भने ७८ वटा टावरको इरेक्सन सकिएको छ । २८ किलोमिटर लामो प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ ।
यस प्रसारण लाइनमा ५४ मेगावाटको सुपर दोर्दी, १२ मेगावाटको दोर्दी खोला–१, २७ मेगावाटको दोर्दी खोला, ३० मेगावाटको न्यादी, ८.६० मेगावाटको चेपे खोला तथा ९.०५ मेगावाटको सुपर चेपेखोला जलविद्युत् आयोजनाले लगानी गरेका छन् । यी सबै आयोजना निजी क्षेत्रबाट प्रवद्र्धित हुन् ।
इप्पानका वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोन लामाले सात वर्षसम्म सम्पन्न हुन नसकेको आयोजना निजी क्षेत्रले डेढ वर्षमै पूरा गरेर ऊर्जा पूर्वाधार विकासमा नयाँ इतिहास रचेको बताए ।
उनले निजी क्षेत्र उत्पादनमा मात्र सीमित नरही प्रसारण पूर्वाधार निर्माणमा समेत सक्षम रहेको प्रमाणित भएको उल्लेख गरे ।
सरकारले अनुमति दिए निजी क्षेत्रले प्रसारण लाइन निर्माण र सञ्चालनको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न सक्ने उनले बताए । प्रसारण लाइन अभावका कारण उत्पादित विद्युत् खेर जाने अवस्थालाई अन्त्य गर्न यो आयोजना महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ ।
नेपाल विद्युत् प्राधिकरणले पनि मार्कीचोक–भरतपुर खण्डको निर्माण सम्पन्न भएको पुष्टि गर्दै राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्ने अन्तिम तयारी पूरा भएको जनाएको छ।
युरोपियन लगानी बैंकको ऋण सहयोग तथा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको यो प्रसारण लाइन तनहुँको आँबुखैरनीस्थित न्यू मस्र्याङ्दी सबस्टेसनदेखि चितवनको भरतपुरस्थित न्यू भरतपुर सबस्टेसनसम्म करिब २८ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइन हो । हाल एक सर्किटबाट विद्युत् प्रवाह गरी परीक्षण सुरु गरिएको छ । परीक्षण सफल भएपछि लाइन नियमित सञ्चालनमा आउने प्राधिकरणले जनाएको छ ।
यो प्रसारण लाइनमार्फत मस्र्याङ्दी, दोर्दी, त्रिशूली नदी तथा सहायक खोलामा निर्माण भएका तथा निर्माणाधीन निजी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय ग्रिडमा जोडिनेछ । यसले प्रसारण पूर्वाधार अभावका कारण खेर जाने जोखिममा रहेको विद्युतको उपयोग र व्यापारको बाटो खुल्ने विश्वास गरिएको छ ।