: साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सहायक प्रबन्धक (सातौं तह) मनोज कुमार झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सेवा प्रवेश गरी बढुवासमेत लिएको आरोपमा झाविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अनुसन्धानका क्रममा झाले सन् १९९८ मा भारतको बोधगयास्थित मगध विश्वविद्यालयबाट प्राप्त भएको भनी बीएस्सीसम्बन्धी मार्कसिट,माइग्रेसन प्रमाणपत्र,ट्रान्सफर सर्टिफिकेट तथा प्रोभिजनल सर्टिफिकेटलगायतका झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको खुलेको आरोप छ।
आयोगका अनुसार प्रमाणपत्रका आधारमा उनले वि.सं. २०६४ सालमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको प्रमुख सहायक (सहायक केमिस्ट) पदमा प्रारम्भिक नियुक्ति लिएका थिए। पछि सोही नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा सहायक प्रबन्धक (सातौं तह) पदमा बढुवा भइ ओहोदा, तलब, भत्ता तथा अन्य सुविधा समेत लिएको अनुसन्धानबाट पुष्टि भएको जनाइएको छ।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) अन्तर्गतको कसुर भएको भन्दै सोही दफाबमोजिम कैद र जरिवानाको माग गरेको अख्तियारले जनाएको छ।