। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरी रहेको बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति थापाले शिक्षा क्षेत्रमा विद्यमान राजनीतिकरण र दलीयकरण शिक्षा क्षेत्रको सुधार नहुनुको प्रमुख कारण भएको बताए ।
विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक नियुक्तिसम्म दलगत आधारमा हुने प्रवृत्तिले मुलुकको शिक्षा प्रणाली धराशायी भएको उनको भनाइ छ ।
‘हामीले गाउँतिर गएर फलानो विद्यालयको अवस्था कस्तो छ ? भनेर सोध्यो भने त्यो विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष, शिक्षक हाम्रै मान्छे हो भन्ने गरेको सुन्छु । शिक्षक, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हाम्रै मान्छे हो भन्ने तरिकाबाट हामी बाहिर निस्कनुपर्यो । त्यो राजनीति होइन, त्यो दलीयकरण हो,’ थापाले भने ।
यद्यपि शिक्षा आफैंमा राजनीतिक मुद्दा भएकाले समुन्नत नेपाल निर्माणका लागि शिक्षा क्षेत्रले खेल्नसक्ने भुमिकाबारे गम्भीर बहस आवश्यक रहेको पनि उनले बताए ।
‘शिक्षामा दलीयकरणले सबैभन्दा ठुलो समस्या लिएर आयो । दलीयकरणबाट शिक्षालाई बाहिर निकाल्नुपर्यो । तर शिक्षा राजनीतिक ईस्यू हो । हामीले समुन्नत नेपालको सपना देखेका छौं,’ उनले भने, ‘शिक्षा क्षेत्रले मुलुकलाई समुन्नत बनाउनको लागि कहाँनिर योगदान दिनसक्छ ? त्यो लक्ष्य र उद्देश्यको छलफल यहाँ गर्नुपर्छ ।’
उनले मुलुकको समृद्धि र विकासका शिक्षा क्षेत्रले खेल्नसक्ने भूमिका र योगदानबारे राजनीतिक वृत्तमा पर्याप्त बहस हुनु आवश्यक रहेको पनि थापाले बताए ।